|

धरान : मङ्सिर १४ गते हुने धरानको उपनिर्वाचनमा मेयरसहित एक वडाध्यक्षको निर्वाचन हुँदैछ। राष्ट्रिय रूपमा चलेको ‘समृद्ध नेपाल सुखी नेपाली’ जस्तै ‘समृद्ध धरान’ को नारामा यति बेला राजनीतिक दलहरू चुनावी मैदानमा छन्।

खासमा धरानमा स्थानीय सरकारको प्रमुख पदको निर्वाचन मुख्य विषय बनेको छ। सत्तारुढ नेकपा र कांग्रेसको प्रमुख प्रतिस्पर्धा धरानमा देखिन्छ। प्रतिस्पर्धाकै लागि धरानमा नेकपा र काँग्रेसले दुवैले केन्द्रीय नेताहरू ल्याएर चुनावी सभा पनि गराए।

स्थानीय तहको निर्वाचनको चुनावी सभा स्वभावतः स्थानीय समस्या समाधानको चर्चा हुनु पर्ने हो। तर धरानको चुनावी सभालाई माथिल्लो नेतृत्वले आरोप प्रत्यारोप गर्ने मञ्चमा जस्तो मात्र देखियो।

‘समृद्ध धरान’को नारा लिएर चुनावी प्रचारप्रसारमा जुटेका दलहरूले जनताका खास समस्या समाधानको बहस चुनावी सभामा गर्न सकेनन्। केन्द्रीय नेतृत्वको भाषणमा स्थानीय विषयभन्दा धेरै राष्ट्रिय मुद्दामा आरोप प्रत्यारोप मात्र गरेका थिए।

प्रमुख पति पक्षी दल कांग्रेसले स्थानीय तहको उपनिर्वाचनमा समेत कालापानी लगायतका क्षेत्रको विवाद समाधान गर्न नसकेको विषयमा वर्तमान सरकारलाई प्रहार गर्यो‍। 

नेकपा सरकार बनेपछि भ्रष्टाचार बढेको, सुशासन कायम हुन नसकेको, हत्या तथा हिंसाका काण्डैकाण्डका घटना भएको, महँगी र मूल्यवृद्धि बढेको लगायतको आरोप स्थानीय चुनावी सभामा कांग्रेसले लगाउँदै आएको छ।

मङ्गलवारको चुनावी सभामा कांग्रेस सभापति शेरबहादुर देउवाले भने ‘अहिले देशको नक्सा मिचिँदा पनि सरकार चुप लागेर बस्नु भनेको ओली सरकार नाङ्गिनु हो,लिपुलेक र कालापानीको विवाद पहिलाकै रहे पनि वर्तमान सरकारकै पालामा भारतले नक्सा निकालेर ज्यादती गर्दा पनि सरकार चुप रहनु भनेको जनतामाथिको मात्र नभई देशप्रति नै प्रहार हुनु हो।’ 

प्रमुख प्रतिस्पर्धी दलका नेतृत्वले धरानको विकास निर्माणको भविष्यसँग जोडिएको विषयमा बोल्न आफ्नो समय दिएनन्। धरानमा देखिएको खानेपानी समस्या, व्यवस्थित बसपार्क, धरान एयरपोर्ट लगायतका दीर्घकालीन विकासको सवालमा चुनावी सभामा बहस नै हुन पाएन।

धरानको प्रमुख निर्वाचन एजेन्डाको रूपमा बनेको सुकुम्वासी समस्या समाधानको विषयमा पनि केन्द्रीय नेताहरूले बोलेनन्। केन्द्रको कानुन आएपछि मात्र समाधान हुने सुकुम्वासी समस्या समाधान गर्न स्थानीय नेताहरू ठोकुवा गर्दै आएका छन्।

१२ हजार २ सय सुकुम्वासी छन्। सुकुम्वासीलाई लालपुर्जा दिने विषय हरेक निर्वाचनको एजेन्डा भए पनि केन्द्रीय नेताहरू भने लाई धनीपुर्जा वितरण गर्न अझै सकेको छैन। 

‘सुकुम्वासी समस्या समाधान गर्ने विषय चुनावी एजेन्डा मात्र हो,’ सुकुम्वासी रहेका कुमार कार्की भन्छन्,  ‘सुकुम्बासीलाई भोट बैङ्कको रूपमा मात्र प्रयोग गरियो भने यसले गम्भीर दुर्घटना निम्त्याउन सक्छ। पार्टीहरूले बेलैमा सोच्ने बेला आएको छ।’ 

सत्तारुढ दलका केन्द्रीय नेताहरु पनि विकास र धरानको समस्या समाधानको विषयमा छलफल गर्ने रुचाएनन्। प्रतिपक्षीले लगाएको आरोपको खण्डन गर्दै उनीहरु पनि आरोप लगाउन यस्त देखिए। 

लामो समय भाषण गरेका नेकपा पार्टी अध्यक्ष प्रचण्डले बुधवारको चुनावी सभामा कांग्रेसलाई काउन्टर दिँदै भने ’अर्काको भन्दा आफ्नो चासो लिनु, नत्र म्युजियममा राख्ने खालको कांग्रेस होला।’

कम्युनिस्ट पार्टीहरू एक हुन नदिन कांग्रेसले ठूलो प्रपञ्च रहेको आरोप लगाएका प्रचण्डले लामो समय कांग्रसको आरोप खण्डन गर्दै बिताएका थिए।

धरानमा देखिएका सामान्य समस्याबारेमा बेखबर जस्तै बनेका दलहरू समृद्ध धरानको नारा लगाउँदै चुनावी मैदानमा छन्। नेकपा पूर्ववत् साख जोगाउने पक्षमा छ भने कांग्रेस भने यति बेला नियमिततामा क्रमभंगता खोजिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.