|

काठमाडौं : काठमाडौं महानगरपालिका ‘सहयोगापेक्षी सडकमानवमुक्त महानगर’ घोषणा हुने भएको छ। महानगरपालिकाले २५औं महानगर दिवसको अवसर पारेर घोषणा गर्न लागिएको महानगरले जनाएको छ।

काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काठमाडौंको संयुक्त प्रयासबाट सहयोगापेक्षी सडकमानवमुक्त महानगर घोषणा गर्न लागिएको हो।

महानगरपालिकाको ३ मंसिरमा बसेको ३८औं नगर कार्यपालिकाको बैठकबाट यससम्बन्धी निर्णय गरेको जनाएको छ। महानगर र आश्रमको सहकार्यमा विगत दुई वर्षदेखि सडकमा रहेका बेवारिसे, मनोरोगी तथा असहायको उद्धार गरी पालनपोषण, औषधोपचार तथा परिवारमा पुनर्मिलन गराउने कार्य हुँदै आएको छ।

महानगरले अबको केही हप्तामा  सहयोगापेक्षी मानवमुक्त महानगर घोषणा गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए। शुक्रबार राजधानीमा भएको छलफल कार्यक्रममा महानगरको अगुवाइमा सहयोगापेक्षी महानगर हुने उनले बताए।

 यस कार्यक्रममा सम्पूर्ण सामाजिक संघ संस्थालाई सहयोग गर्न उनले आग्रह गरे। महानगरको सडकमा कोही आउनु नपरोस् र भोकै कोही नमरून् भन्ने अभियानको साथ यो कार्यक्रम सञ्चालन गर्न लागिएको उनले जानकारी दिए।

बालाजुस्थित बाइस धारा पार्कको भवनमा लगेर राखिने उनले बताए। खान,लगाउन र बस्न महानगरले दिन्छ,' उनले भने,' भवनभित्र बस्दा चिसो हुन्छ। अझ सडकमा बस्नेलाई धेरै चिसो हुन्छ।' बाध्यतामा अब कसैलाई बाटोमा सुत्न नपर्ने उनले प्रष्ट पारे।

महानगरका हरेक वडाअध्यक्षको समन्वयमा त्यस्ता व्यक्तिहरूको उद्बार गरिने उनको भनाइ थियो। वडामा त्यस्तो घरबारविहीन मानिस देखिएमा मानव आश्रम सेवा वा नेपाल प्रहरीलाई खबर गर्न सकिने उनले बताए।

सडकपेटी र सार्वजनिक स्थानबाट सहयोगापेक्षी मानिस नदेखिने मानव सेवा आश्रम समितिका अध्यक्ष रामजी अधिकारीले बताए। नेपाल जस्तो लोककल्याणकारी राज्य भएको मुलुकले यस्तो मानवीय कर्म गर्नुपर्ने उनले प्रष्ट पारे।

अबको केही दिनदेखि काठमाडौंमा कुनै पनि मानिस जाडोमा बाहिर देख्‍न नपाइने उनको भनाइ थियो। महानगरपालिकाभित्र यस्ता सहयोगापेक्षी मानिस रहनु भनेको स्थानीय सरकारका प्रतिनिधिहरुको मू्ल्यांकन राम्रो नहुने उनले प्रष्ट पारे।

'विगतको तुलनामा सडकमा सहयोगापेक्षी मानिस धेरै कम छन्,'उनले भने। सामाजिक काममा राज्यको उपस्थित देखिनु भनेको सबैभन्दा अहम कार्य रहेको उनले बताए।

महानगरले घोषणा गर्नु भन्दा अगाडि नेपाल प्रहरीले सहयोगापेक्षीलाई हटाउन सहयोग गरिरहेको महानगरीय प्रहरी प्रभाग रानीपोखरीका प्रमुख शैलेश थापाले बताए। प्रहरीले जुनसुकै समयमा सहयोग गरेर मानव आश्रममा लगेर छाडिदिने उनले प्रष्ट पारे। मावन सन्तुष्टिको लागि नेपाल प्रहरीले काम गरिरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.