|

भद्रपुर : झापाको जलथल जङ्गलमा एउटा हात्ती मृत अवस्थामा भेटिएको छ।

कचनकवल गाउँपालिका ३ साबिक पथरिया ७ स्थित अभिमुक्तेश्वर सामुदायिक वनमा जंगली हात्ती मृत अवस्थामा भेटिएको हो। सो सामुदायिक वन चार कोसे जलथल जंगलभित्र पर्छ।

१२ फिट लम्बाई ८ फिट २ इन्च उचाइ भएको हात्ती कुहिएर गन्हाएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ।

शनिबार बेलुका दाउरा टिप्न गएका स्थानीयले जंगलमा मृत अवस्थामा हात्ती देखेपछि सामुदायिक वन समितिका पदाधिकारीलाई जानकारी गराएको समितिका अध्यक्ष गिरीराज नेपालले जानकारी दिए।

जंगलमा भेटिएको हात्ती आफैँ मरेको वा मारिएको विषयमा अहिले केही भन्न नमिल्ने र यस विषयमा अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए।

‘हात्तीको दारा छैन, त्यसैले यो पोथी हात्ती हुन सक्छ,’ उनले भने, ‘हात्ती मरेको विषयमा आजै समितिबाट जानकारी आएको हो, हात्तीको छाला र हड्डी परीक्षणका लागि विधि परीक्षण प्रयोगशाला पठाउने छौँ।’

परीक्षण रिपोर्ट आएपछि मात्र केही भन्न मिल्ने उनको भनाई छ । ‘हात्तीको हड्डी भएको टाउको भाग वन कार्यालय ल्याएको र मृतक हात्तीलाई त्यही पुरिदिएका छौ', उनले भने। 

जंगलमा मृत अवस्थामा भेटिएको हात्ती २० देखि २५ दिनअघि मरेको हुन सक्ने पशु विकास अधिकृत विशाल पोखरेलले जानकारी दिए।

मृतक हात्ती भोले वा पोथी खुलेको छैन। हात्तीको उमेर अन्दाजी ३५ वर्षमाथि हुन सक्ने उनको भनाइ छ। जलथल जंगलमा आठ महिनाअघि पनि एउटा छावा जंगली हात्तीको मृत्यु भएको थियो।

साबिक जलथल गाविस १ हाल हल्दिवारी ३ स्थित रनकाली सामुदायिक वनभित्र छावा जंगली हात्तीको करेन्ट लागेर मृत्यु भएको थियो। २०६७ सालदेखि हालसम्म झापामा १२ वटा जंगली हात्तीको मृत्यु भइसकेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.