|

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको राजीनामा माग गरेका छन्।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा भएको छलफलमा नेकपा सांसद सुदन किरातीले सञ्चारमन्त्री बास्कोटाले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राजीनामा मागेका हुन्। 

'सरकारका प्रवक्ताले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) जुनसुकै हालतमा पास हुन्छ। चाह्यो भने अमेरिकाले सुलेमानी बनाइदिन्छ यो देशका नेताहरुलाई भन्‍ने अभिव्यक्ति आपत्तिजनक छ’, उनले भने।

राष्ट्रियता स्वाधिनतामाथि आफ्नै सरकारका प्रवक्ता ग्रहण लगाउन खोजेको उनको आरोप छ । सञ्चारमन्त्रीको अभिव्यक्ति लेण्डुप दोर्जे प्रवृतिको भएको भन्दै उनले आपत्तिसमेत जनाए। 

‘लेण्डुप जोर्दे प्रवृति आत्मसमर्पण प्रवृतिकोविरुद्धमा आपत्ति प्रकट गर्न चाहान्छु र उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ', उनले भने, 'यो विषयमा समिति र सबैको ध्यानाकर्षण गर्न चाहान्छु।’

प्रवक्ता बास्कोटाले एमसीसीको विषयमा गत बिहीबार गलत हल्ला फैलाइएको बताएका थिए। ‘अमेरिकाले चाह्यो भने जुनसुकै कुनामा पनि क्षेप्यास्त्र प्रहार गर्न सक्छ', उनले भनेका थिए, 'नेपालमा बेस क्याम्प राख्नुपर्ने अवश्यकता पर्दैन। अस्ति इरानमा देख्नुभएन कसलाई हानेको?’

सांसद भीम रावलले एमसीसीको विषयलाई धेरैले प्रतिष्ठाको विषय बनाएर राष्ट्रहित र स्वार्थभन्दा नीजि धारणा राख्‍ने गरेको बताए । राष्ट्रियहितमा हुनेगरी अगाडी बढ्नुपर्ने उल्लेख गर्दै रावलले समितिमा गहन अध्ययनको आवश्यकता औल्याए।

अर्का सांसद नारदमुनि रानाले चीनमा कोरोना र नेपाल एमसीसीको विषयमा निकै भाइरल भएको बताए। संसदमा समेत दुईथरी अतिवादी विचारहरु सार्वजनिक भइरहेको उनको भनाई छ । 

‘एउटा जसरी पनि पारित हुनै पर्छ भन्‍ने र अर्को पारित हुनुहुँदैन भन्‍ने अतिवादी शक्तिहरु संसदमा जुहारी खेलिरहेका छन्', उनले भने, 'राष्ट्रहितमा कसरी लान सकिन्छ। तपाईं (सभामुख) को नेतृत्वमा यसले प्राथमिकता पाओस्।'

समिति सभापति पवित्रा निरौला खरेलले एमसीसीको विषयमा एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताइन्। गम्भीरतापूर्वक छलफल गरी राष्ट्रलाई घात नहुने किसिमले एकतावद्ध भएर पास गर्नुपर्नेमा उनले जोड दिइन्। ‘पास गर्दा पनि एकतावद्ध गर्नुपर्छ । पास गर्न सकिन्न भनेपनि एकवतावद्ध नै हुनुपर्छ । मत विभाजन गरेर विभाजित हुनुहुँदैन’, उनले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.