|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा स्ववियू चुनावको चहलपहल सुरु भएको छ। एक महिनाको जाडो विदापछि विद्यार्थीहरु पनि क्याम्पस फर्किएका छन्। उनीहरु क्याम्पसमा आफ्नो नेता कसलाई चयन गर्ने भन्ने बहसमा छन् भने बिभिन्न राजनीतिक दलका विद्यार्थी संगठन चुनाव जित्ने रणनीति बनाउन तल्लिन छन्।  

स्वतन्त्र विद्यार्थी युनियन क्याम्पसमा विद्यार्थीहरुको साझा संगठन हो। यसले विद्यार्थी र क्याम्पस प्रशासनबीच समन्वयको काम गर्छ। विद्यार्थीको समस्या र गुनासो क्याम्पस प्रशासनसम्म पुर्‍याउने र त्यसलाई हल गर्ने प्रमुख दायित्व स्ववियूको हो। क्याम्पसमा विद्यार्थी हक हितको विषयको नेतृत्व गर्दै भविश्यमा असल नेता बन्ने अभ्यास गर्ने ठाउँ पनि स्ववियू नै हो।

तर पछिल्लो समयमा क्याम्पसमा शैक्षिक मुद्दा पनि राजनीतिक मुद्दा बढी उठाइने, दलीय एजेण्डालाई लिएर सडकमा प्रदर्शन गर्ने, क्याम्पसमा ठेक्कापट्टा लगायतका विषयमा अवान्छित लाभ लिन खोज्ने प्रवृत्ति पनि देखिएकाले स्ववियूको भूमिकामाथि प्रश्न चिन्ह उठ्ने गरेको छ।

क्याम्पसमा किन चाहिन्छ स्ववियू

क्याम्पसमा शैक्षिक क्रियाकलापलाई सहज रुपमा अगाडि बढाउन विद्यार्थीसँग सहकार्यका लागि स्ववियू चयन गर्ने गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक एवम् स्ववियू निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव गंगाबहादुर थापा बताउँछन्। स्ववियुले त्रिविको अपेक्षा अनुसार नै सहयोग गरेकाले क्याम्पसमा यसको आवश्यकता रहेको उनको भनाइ छ।

'स्ववियु त्रिविको आधिकारिक संस्था हो। यसले क्याम्पसमा पठनपाठनमा सहजता ल्याएको छ', थापा भन्छन्, 'विद्यार्थीहरुले क्याम्पस व्यवस्थापन समक्ष व्यक्तिगत रुपमा माग राख्छन्, संगठनात्मक रुपमा माग राख्छन्। उनीहरु स्ववियु मार्फत आए भने सम्बोधन गर्न सजिलो हुन्छ।' 

२०५१ सालमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति तथा हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे स्ववियूले बिभिन्न आस्था र विचार भएका विद्यार्थीलाई एउटै मञ्चमा ल्याउने बताउँछन्। 'स्ववियु विद्यार्थी हकहितका लागि लड्ने विद्यार्थी समुदायको साझा थलो हो' उनी भन्छन्, 'छात्रवृत्ति, छात्रवासको सुविधा, नियमित कक्षा सञ्चालन गर्न दबाव दिने, शिक्षकहरुले राम्रो पढाएनन् भने पढाउन लगाउन नै स्ववियूले भूमिका खेल्ने हो।'

अनेरास्ववियू (क्रान्तिकारी) का महासचिव एवम् २०६५ सालमा सानोठिमी क्याम्पसका स्ववियू सभापति वीरेन्द्र बस्नेत स्ववियुलाई विद्यार्थीका माग उठान गर्ने संस्थाको रुपमा लिन्छन्। उनी भन्छन्, 'यो कुनै सत्ता होइन। यसले विकास निर्माण गर्ने, भवन, होस्टेल बनाउने भन्ने कुरा हुँदैन। ती सबै व्यवस्था मिलाउनका लागि क्याम्पस प्रशासनलाई दबाब दिने संगठन हो।' 

अनेरास्ववियुबाट २०६५ सालको स्ववियु निर्वाचनमा आरआर क्याम्पका सभापति बनेका राजकुमार राई भन्छन्,  'स्ववियुको काम क्याम्पसको पठनपाठनलाई सहयोग गर्ने र क्याम्पसको बृहत्तर हितका लागि क्याम्पसले लिएका योजनाहरुलाई सफल बनाउन सहयोग गर्ने हो।'

स्ववियु नहुँदा

२०६५ सालदेखि स्ववियू निर्वाचन भएको छैन। अहिले क्याम्पसमा स्ववियू क्रियाशील नहुँदा पनि शैक्षिक गतिविधि सञ्चालन भइरहेको बरु क्याम्पसमा स्ववियूको नाममा हुने विद्यार्थी संगठनको अस्वस्थ प्रतिस्पर्धा हुन छाडेको बुझाई पनि कतिपयको छ। तर महेन्द्र मोरङ क्याम्पसका पूर्व स्ववियू सभापति घिमिरे भन्छन् 'स्ववियु नहुदा क्याम्पस प्रशासन स्वेच्छाचारी हुन्छ।' स्ववियू नहुँदा क्याम्पसमा विद्यार्थीको हक हितमा सञ्चालन हुनुपर्ने क्रियाकलाप रोकिने रत्न राज्य क्याम्पसका पूर्व सभापति राई बताउँछन्। 

स्ववियू निष्क्रिय हुँदा विद्यार्थीका विषय लिएर विद्यार्थी संगठनहरु आआफै त्रिवि समक्ष माग लिएर जाने गरेको त्रिवि अधिकारीहरु बताउँछन्। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक थापा भन्छन् 'स्ववियु नहुँदा विद्यार्थीका माग लिएर वैचारिक संगठनहरु आउँछन्, त्यसो गर्दा डिल गर्नमा अपठ्यारो हुन्छ।' स्ववियूले क्याम्पसको शैक्षिक वातावरण सुधार गर्न र सामुहिक रुपमा विद्यार्थीका समस्या समाधान गर्न सहज हुने उनको भनाई छ।

स्ववियु र दलिय राजनीति

स्ववियूले विद्यार्थी हकहित र शैक्षिक मुद्दा छाडेर राजनीतिक दलका माग पूरा गराउन विद्यार्थीहरुको उपयोग मात्र गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ।विद्यार्थी नेताहरु भने स्ववियूको भूमिकाको बताउ गर्छन्। क्याम्पसमा विद्यार्थी हकहितमा आफूहरु लड्दै आएको र बाँकी रहेको समय मात्र राजनीतिमा लषाएको रत्न राज्य क्याम्पसका राई बताउँछन्।

'शैक्षिक कामबाट उब्रिएको समयमा हामी राजनीति गर्छौं, जसमा यो समाजको रुपान्तरणको विषयमा समाजमा के भइरहेको छ भन्ने बहसहरु हुने गर्छन्।' स्ववियु तथा विद्यार्थी राजनीतिमा संलग्न भएकाहरु पत्रकारिता, व्यापार, निजामति सेवा, प्राध्यापनमा लागेकोले राजनीतिमै मात्र लागे भन्नु उचित नहुने राईको धारणा छ।

कांग्रेस नेता घिमिरे भने विद्यार्थीले राजनीति गर्नु स्वभाविक भएको बताउँछन्। २००७ सालको प्रजातन्त्र स्थापनादेखि विभिन्न समयमा विद्यार्थीले देशको राजनीतिक मुद्दामा लडेकाले क्याम्पसमा राजनीति गर्नुलाई अन्यथा लिन नहुने बताउँछन्। राजनीतिक दलले गर्ने काम विद्यार्थीकालमा स्ववियूले गर्ने उनको भनाइ छ। दलीय राजनीति र स्ववियु राजनीतिलाई अलग बुझ्न नहुने उनी बताउँछन्। 

देशमा भविष्यमा राम्रो नेता उत्पादनका लागि पनि क्याम्पसमा राजनीति हुनुपर्ने विद्यार्थी नेताहरु बताउँछन्। 'कलेजमा राजनीति गर्ने भनेको विद्यार्थीकै हकहितका लागि हो। त्यसमा सक्रियता बढ्दै जादा भोली राजनीतिमा जाने तदारुकता देखाए भने कुनै पार्टीमा लाग्न सक्छन्। त्यसका लागि यो आधार हो र राजनीतिक दललाई कार्यकर्ता आपूर्ति गर्ने एउटा स्रोत पनि हो' घिमिरे भन्छन्। 

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक थापा समाजको हरेक क्षेत्रको दायित्व विद्यार्थीले लिनुपर्ने भएकाले उनीहरु क्याम्पसदेखि नै राजनीतिमा लाग्नु नाजायज नहुने बताउँछन्। 'समाजको हरेक क्षेत्रको दायित्व विद्यार्थीले लिनुपर्ने हुन्छ। त्यस अर्थमा राजनीतिक रुपमा आफूलाई सफल र सक्षम बनाउने विषय पनि उनीहरुको हक अधिकारभित्रै पर्छ' उनी भन्छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.