लालीगुराँस बाटिकाबाट एक लाख चार हजार प्रदान

|

काठमाडौं : कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल 'धुर्मुस' ले अबको २२ महिनाभित्र चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने बताएका छन्। नरेफाँटस्थित लालीगुराँस बाटिका माद्यमिक विद्यालयको १४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

विद्यालका अभिभावक र विद्यार्थीबाट संकलित करिब १ लाख ५ हजार रुपैयाँ ग्रहण गर्दै उनले रंगशालाका लागि सहयोग संकलन तीव्रगतिमा भइरहेको बताए।

'रंगशालाको काम जारी छ, दैनिक ३६३ व्यक्ति काममा छन्। जसमा ३५३ जनाले रोजगारीमा काम गरिरहेका छन्, हामी १० जना स्वयमसेवक छौँ', उनले भने, 'अहिले थोरै श्रमिक छन्। श्रमिकको संख्या पनि बढाएर अबको चार महिनाभित्र नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल मैदान तयार गर्दैछौं।'

उनले यसअघि चारवटा नमूना बस्ती पनि समयमै तयार पारेको बताउँदै रंगशाला पनि समयमा सकिनेमा शंका नगर्न अपिल गरे। 'अबको २२ महिनाभित्रमा ३० हजार दर्शक क्षमताको रंगशाला ठडिन्छ', उनले भने, 'अहिले हामीलाई पैसाको मात्रै होइन, खाद्यान्न र लत्ताकपडा पनि उत्तिकै जरूरी छ। जे जे छ मुठ्ठी खोल्दिनुस्।'

उनले स्वर्ग, नर्क दुवै नेपालमै रहेको बताए। 'कोही पनि स्वर्ग पुगेर फर्केर आएको छैन। एकैचोटी आँखा खोल्दा स्वर्गमा कोही पनि पुगेको छै। नेपाल नै स्वर्ग हो', उनले सुनाए, 'मरेर लाने कसले के पो रछ र? भूकम्पका बेला अमेरिकाबाट फर्केर आठ महिनाकी छोरी टेन्टमा छाडी सामाजिक अभियानमा होमिएको हुँ, लोभ गर्नुछैन।'

समाजका लागि काम गरेको छ वर्ष भएको बताउँदै उनले अहिलेसम्म छोरीसँग केबल ३ महिना बस्न पाएको बताए । 'छोरीसँग बसेको जम्मा तीन महिना, छोरी अहिले नजिक पनि आउँदिनन्', उनले भने, 'सन्तानका लागि बाबाआमा नजिक हुनु नै खुसी हुन्। तर यो दौरानमा चारवटा बस्ती बने, अहिले रंगशालाको अभियानमा छौं। हामीले बनाएका बस्तीका नानीबाबु झोला बोकेर हिँडेको देख्दा आनन्द आउँछ।'

एक लाख चार हजार प्रदान 
यसैबीच नरेफाँटस्थित लालीगुराँसबाटिकाका विद्यार्थी र शिक्षकहरुको तर्फबाट एक लाख ४ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको छ। विद्यालयका निर्देशक सुदर्शन पराजुलीले उक्त रकम शनिबार धुर्मुसलाई हस्तान्तरण गरे।

कार्यक्रमकै क्रममा १० जना भन्दा बढी अभिभावकहरुले पनि स्वत:फुर्त १५ हजार रुपैयाँ भन्दा बढी रंगशाला निर्माणार्थ धुर्मुसलाई हस्तान्तरण गरे। कार्य्रममा गायक तथा निर्माता सरोज वलीले रंगशाला निर्माणार्थ बनेको चलचित्र सेन्टीभाइरस हलसम्म गएर हेरिदिन आह्वान गरे। 

कार्यक्रममा विद्यालयका प्राचार्य हरि शिवाकोटीले सामाजिक अभियानमा विद्यालयले सधैँ सघाउने बताए। उनले रंगशाला निर्माणस्थलमै पुगेर आफूहरु श्रम गर्न  तयार रहेको पनि जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.