वामदेवलाई प्रधानमन्त्री बनाउने चाहना या बहाना?

|
फाइल फोटो

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपणको लागि सोमबार अस्पताल भर्ना हुँदै छन्। बुधबार मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा सोमबार दिउँसो भर्ना हुने भनिए तापनि कार्यव्यस्तताको कारणले साँझ भर्ना हुने बताइएको छ।

पछिल्लो समय नेकपाभित्र अमेरिकी परियोजना एमसिसी, राष्ट्रियसभा सदस्य, संविधान संशोधन, तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसन प्रकरण लगायतको विषयमा पार्टीभित्र चर्को विवाद छ। 

पार्टीभित्रको विवाद निरन्तर बढ्दै गएपछि प्रधानमन्त्री ओलीले सरकार ढाल्ने शक्ति सक्रिय भएको समेत अभिव्यक्ति दिएका थिए। तर, प्रधानमन्त्री ओली अस्पताल भर्ना भइरहँदा पार्टीभित्र शीर्ष नेताहरूको गुटगत भेलाले निरन्तरता पाइरहने संकेत देखिएको छ। 

पार्टीभित्र पछिल्लो समयमा देखिएको विवादमा प्रधानमन्त्री ओली पार्टी सचिवालयमै अल्पमतमा छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सक्रिय छन्। कार्यकारी अध्यक्षको अधिकार पाएपछि दाहालको सक्रियता बढिरहेको छ। 

त्यसो त प्रधानमन्त्री स्वयं, अध्यक्ष दाहाल र नेता माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले पार्टी एकतापछि पनि सक्रिय गुटबन्दी गरेको आरोप लागिरहेको छ।
नेकपाको पहिलोपटक बसेको केन्द्रीय कमिटीको बैठकमा पनि शीर्ष तहका नेताहरू नै पार्टीभित्र गुट–उपगुट चलाएको भन्दै केन्द्रीय सदस्यहरूले चर्को विरोध गरेका थिए। 

तर, पार्टीभित्रको विवाद चर्किएपछि पछिल्लो एक साताको अन्तरालमा शीर्ष नेताबीच दैनिकजसो गुटगत भेला भइरहेको छ। प्रधानमन्त्री ओली अस्पताल भर्ना भएपछि पनि पार्टीभित्रको तिक्तताको विषयमा शीर्ष नेताहरूबीच गुटगत भेला चल्ने संकेत देखिन्छ। 

केन्द्रीय कमिटीको बैठकले पार्टीभित्रको गुटबन्दी अन्त्य नभएसम्म पार्टीले लक्ष्यमा पुग्न नसक्ने निचोड निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए। तर, केन्द्रीय कमिटीको बैठकको निर्णयलाई लत्याएर शीर्ष नेताहरूले गुटगत भेलालाई निरन्तरता दिइरहे। 

श्रृंखलाबद्ध गुटगत भेला

नेकपाका शीर्ष नेताहरूबीच पछिल्लो एक सातामा सक्रिय रुपमा गुटगत रूपमा भेला भए। पार्टीभित्रको चरम विवादपछि नेताहरूले भेटघाटलाई तीव्रता दिइरहे। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको सम्बन्धमा समेत चिसोपना आएको हल्ला चल्‍यो। दुई नेताहरूबीचको सम्बन्धमा समस्या देखिएपछि नेता माधवकुमार नेपाल पनि पार्टीभित्र सक्रियतापूर्वक  भेटघाटमा दौडिए। 

गत शनिबार नेता नेपाल निवासमा नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेट गरे। सोही दिन नेकपाको सचिवालय बैठकसमेत बस्यो। बैठकले राष्ट्रियसभामा गौतमलाई लाने निर्णय गर्‍यो।

सोही सचिवालय बैठकले गौतमलाई नै राष्ट्रियसभामा हुँदै प्रधानमन्त्री बन्ने बाटो खुला गर्ने संविधान संशोधन कार्यदल निर्माण गर्‍यो। यद्यपि,  कार्यदलमा राखेका सदस्यहरूले नै अस्वीकार गरेपछि कार्यदल स्वत: विघटन भयो। त्यसैदिन राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमै प्रधानमन्त्री ओली र अध्यक्ष दाहालसँग छलफल गरेकी थिइन्। 

गत सोमबार पनि पार्टीभित्रको विवादित विषयलाई लक्षित गरेर अध्यक्ष दाहाल निवास खुमलटारमा दाहाल र मध्यस्थता गर्ने भनिएका नेपालले गोप्य छलफल गरे। नेता नेपालसँगको छलफलपछि बालुवाटारमा गएर अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग छलफल पनि पार्टीको विवादित विषयलाई केलाइएको बालुवाटार स्रोत बताउँछ। 

विवाद छताछुल्ल

संविधान संशोधन कार्यदल निर्माणको चर्चापछि पार्टीभित्रको विवाद छताछुल्ल भयो। नेपालले निवासमै बोलाएर कार्यदल सदस्य भनिएका सुवास नेम्वाङ र खिमलाल देवकोटासँग छलफल गरेका थिए। यस्तै, सोही दिन पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष दाहालले महासचिव विष्णु पौडेल, केन्द्रीय सदस्य देवकोटासँग छलफल गरेका थिए। 

पार्टीभित्र देखिएको समस्या समाधानको लागि मंगलबार प्रधानमन्त्री  ओली र अध्यक्ष दाहालले पनि भेट गरेका थिए। पार्टीभित्र मध्यमार्गी भूमिकामा देखिएका नेपालसँग पनि ओलीले भेट गरेका थिए। राष्ट्रियसभाबाट प्रधानमन्त्री बन्ने रणनीतिमा रहेका उपाध्यक्ष गौतमले पनि महासचिव पौडेलसँग भेटवार्ता गरेका थिए।

दाहाल नेतृत्वको गुट भेला

गौतमको प्रधानमन्त्री बन्ने रणनीति सभामुख चयनको विषयमा छलफल गर्न बसेको अध्यक्ष दाहाल नेतृत्वको भेलाले तय गरेको थियो। सोही दिन अध्यक्ष दाहाल निवास खुमलटारमा नेता झलनाथ खनाल, नेपाल र गौतमसँग पनि छलफल भयो। 

मंगलबार बसेको अध्यक्ष दाहाल नेतृत्वको गुटगत भेलालाई मूर्तरूप दिन बुधबार प्रधानमन्त्री ओली र दाहालबीच छलफल भयो। सचिवालय बैठकको एजेण्डा तय गर्न ओली र दाहालबीच छलफल भएको बताइएपछि राष्ट्रियसभा सदस्यमा गौतम सिफारिस गर्न अध्यक्ष दाहाललाई दबाब दिएका थिए। सोही विषयलाई पूर्णता दिनका लागि दाहाल निवासमा मंगलबार चार नेता भेला भएका थिए। 

राष्ट्रियसभामा उपाध्यक्ष गौतमलाई पठाउने सचिवालयले निर्णय गरेको भोलिपल्ट बिहीबार सोमनाथ पाण्डे निवासमा अध्यक्ष दाहालको नेतृत्वमामा तत्कालीन माओवादी निकटका नेताहरू भेला भए। अध्यक्ष दाहालसहित प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा सहभागी थिए।  

तत्कालीन माओवादी निकटका नेताहरूको भेलापछि शुक्रबार दाहाल निवास खुमलटारमा नेपाल, खनाल र गौतमबीच छलफल भएको थियो। यता नेपाल नेपालले प्रधानमन्त्री ओलीको खास मान्छे मानिएका पौडेलसँग भेट गरेका थिए। बालुवाटारमै नेता नेपालले प्रधानमन्त्री ओली र महासचिव पौडेलसँग पनि छलफल गरेका थिए। अध्यक्ष दाहाल खुमलटारमा भेटघाटपछि चितवनको एक कार्यक्रममा सहभागी भएर सिधै सिन्धुपाल्चोक सुकुटे पुगेका थिए। 

अध्यक्ष दाहाल सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सुकुटे महोत्सवमा सरिक भइरहँदा शनिबार प्रधानमन्त्री निकट मानिएका स्थायी कमिटी सदस्य नेम्वाङ र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बालुवाटरमै बोलाएर छलफलमा गरेका थिए। 

पार्टीभित्र छेडिएको विवादको विषयमा छलफल गर्नको लागि भन्दै आइतबार नेकपाले  सचिवालय बैठक बोलायो। बैठकले प्रधानमन्त्री ओलीले आफ्नो मिर्गौला प्रत्यारोपण गर्ने मिति सार्वजनिक गर्नेबाहेक अन्य विषयमा प्रवेश गराउन सकेन। सचिवालय बैठक बस्नुअघि अध्यक्ष दाहाल निवासमै पुगेर उपाध्यक्ष गौतमले भेटेर छलफल गरेका थिए। 

गौतमसँगको छलफलपछि नेता नेपालले अध्यक्ष दाहालसँग कोटेश्वरमा पुगेर छलफल गरेका थिए। छलफलपछि अध्यक्ष दाहाल र नेता नेपालसँगै बालुवाटार पुगेका थिए। 

गौतम चाहना कि बहाना? 

पछिल्लो समय नेता गौतमलाई लिएर नेकपाभित्र विवाद सिर्जना हुँदै आएको छ। पार्टीको विधान संशोधन गराएर गौतमलाई उपाध्यक्ष बनाउने विषयलाई लिएर पनि विवाद निस्किएको थियो। अहिले गौतमलाई राष्ट्रियसभा सदस्‍य बनाउने सचिवालयको निर्णयपछि पनि नेकपाभित्र विवाद भयो। 

गौतम निर्वाचनबाट राष्ट्रियसभामा जान अस्वीकार गरेपछि राष्ट्रपतिबाट मनोनीत सदस्यको रुपमा राष्ट्रियसभामा जाने पक्षमा उभिएका थिए। सचिवालय सदस्यहरूले एकजुट दबाब दिएपछि गौतमकै पक्षमा उभिन प्रधानमन्त्री ओली पनि बाध्य भए। प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खचिवडालाई नै दोहोर्‍याउन पक्षमा थिए। 

भैँसेपाटी भेलाले गौतमलाई राष्ट्रियसभा हुँदै प्रधानमन्त्री बन्ने बाटो खुल्ला गर्ने रणनीति तयार गरेको थियो। अध्यक्ष दाहाल नेतृत्वमा बसेको बैठकमा नेता नेपाल, खनाल लगायतका शीर्ष नेताहरू सहभागी भएका थिए। गौतमलाई नै राष्ट्रियसभाबाट प्रधानमन्त्री बन्ने बाटो खुला गर्नका लागि नेकपाले तयार गरेका कार्यदलसमेत चौतर्फी विरोध भएपछि रद्द भयो। 

गौतमको विषयलाई पटकपटक पार्टीभित्र रडाको मच्चिरहँदा शीर्ष नेताहरूले गौतमलाई प्रधानमन्त्री बनाउने चाहना या बहानाका रूपमा देखाइँदै छ भन्ने प्रश्नसमेत उठिरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.