|

बाँके : सवारी दुर्घटनामा परी कोहलपुरमा दुई दिनमा दुई जनाकै मृत्यु भएको छ। बिहीबार बिहान कोहलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि बस र अटो रिक्सा ठोक्किँदा अटो रिक्सा चालकको मृत्यु भएको छ।

विपरीत दिशाबाट आएको भे१ख २१२९ नम्‍बरको माइक्रो बस र भे१ह १६५३ नम्‍बरको अटोरिक्सा एकापसमा जुध्दा बैजनाथ गाउँपालिका–२, मकैबारीका ४० वर्षीय अटोरिक्सा चालक जयबहादुर रोकायको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।

दुर्घटनामा अटोरिक्सामा सवार जुम्लाका २४ वर्षीय मदन शाही, बैजनाथ गाउँपालिका–१, चिसापानीका २१ वर्षिय सुजन शाही र पहिचान खुल्न नसकेका अन्दाजी २९/३० वर्षका पुरुष गम्भीर घाइते भएको चन्दले बताए।

घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचार भइरहेको छ। दुर्घटनामा बसमा सवार ११ जना यात्रु पनि घाइते भएका छन्। बसमा सवार यात्रुको अवस्था सामान्य रहेको र उनीहरूको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, टिप्परले ठक्कर दिँदा बुधबार कोलहपुरमा एक महिलाको मृत्यु भएको छ। कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको टिप्परले ठक्कर दिँदा कोहलपुर नगरपालिका–९, झण्डह्वाकी रामपति थारूको मृत्यु भएको हो। टिप्परले साइकलमा सवार थारूलाई कोहलपुर–नेपालगन्ज सडकखण्डअन्तर्गत झण्डह्वा चोकमा ठक्कर दिएको थियो। उनको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर पुर्‍याएलगत्तै मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.