अध्ययनको मौका, नयाँ कामको अवसर

|

सल्यान : सरकारले लकडाउन गरेको तीन साता पुग्‍न लागेको छ। लामो समयको लकडाउनले मानिसहरू अत्यावश्यक कामबाहेक बाहिर निक्लिन पाएका छैनन्।

जसकारण कतिपयलाई लकडाउन कटाउन दिक्दारी र हैरानी हुन थालेको छ। तर, कतिपय व्यक्तिले भने लकडाउनलाई उपयोगको समय ठानेर भरपुर उपयोग गरिरहेका छन्। समय नमिल्दा विगतमा हुन नसकेका कामहरु अहिले गरिरहेका छन्।

लकडाउनको उपयोग गर्दै सल्यानका कर्मचारीहरू सिर्जनात्मक काममा व्यस्त छन्। विद्यार्थी अध्ययनमा क्रियाशील छन्। लकडाउनलाई पूर्ण उपयोग गर्दै उनीहरुले आफूहरु सृजनात्मक कार्यमा लागेको बताएका छन्।

लकडाउनले ल्याएको परिवर्तन

लकडाउनले सबैको दैनिकीमा परिवर्तन आएको छ। कृषि विकास कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेत लकडाउनलाई उपयोग गरी कृषि क्षेत्रका विभिन्‍न अभिलेख तयार पारिरहेका छन्।

विगतमा जनताको कामका व्यस्त हुँदा सम्पादन गर्न नसकिएका डाटा तथथा अभिलेख राखिरहेको उनको भनाइ छ। उनले लकडाउनको अवधिमा जिल्लाका कृषि क्षेत्रका विभिन्‍न अभिलेख संकलन तथा व्यवस्थापनमा जुटेको बताए। कृषिमा सल्यानका वास्तविक चित्र पहिल्याउन लकडाउनले निकै साथ दिएको उनको अनुभूति छ।

जिल्ला मालपोत कार्यालयका खरिदार दीपक बुढाथोकी सामान्य दिनमा बिहान १० देखि दिउँसो ५ बजेसम्म सेवाग्राहीका जग्गा पास र अंशवण्डाका काममा व्यस्त हुन्‍थे तर अहिले लकडाउनको समयलाई अध्ययनमा खर्चिरहेका छन्।

निकै भिडभाड हुने मालपोत कार्यालयमा लकडाउन अघि अध्ययनका लागि समय मिलाउन निकै समस्या हुने गरेको थियो। तर यतिबेला अध्ययनमा निकै सहज भएको उनले बताए।

लकडाउन अवधिमा आधा दर्जन बढी पुस्तक पढिसकेको उनको भनाई छ। पुस्तक अध्ययन गर्दा अल्छी लागेमा कोरोनाा भाइरसबारे बुझ्‍न युट्युब चहार्ने गरेको अनुभव उनले सुनाए।

कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी बुद्धिमान बस्नेतले दैवी प्रकोप, राहत, सुरक्षा, स्वास्थ्यसम्बन्धी खर्चको भुक्तानीसम्बन्धी काममा  व्यस्त रहेको बताए।

‘कोठामा नै सारा दिन बिताउनुपर्दा नयाँ अनुभव हासिल भइरहेको छ', उनले भने, 'हामी अहिले बिदामा छैनौं, मात्र आफूलाई आइसोलेट गरेका छौं।  अझ स्थानीय तहसँग समन्वय गर्नुपर्ने भएकाले घरबाटै गर्न सकिने काम गरिरहेका छौं।

शिवजन माध्यमिक विद्यालय शीतलपाटीका प्रधानाध्यापक हीरालाल नेपालीले मनमा त्रास भए पनि समयको सदुपयोग गर्न पुस्तक पढ्ने गरेको बताउँछन्। आगामी नयाँ शैक्षिक सत्रका लागि गुणस्तरीय शिक्षासम्बन्धी योजना पनि तयार गरिरहेको उनले सुनाए।

सल्यानको शिक्षा प्रणाली भन्‍नेवित्तिकै नाक खुम्च्याउने परम्परालाई अन्त्य गर्न वृहत योजना बनाई रहेको उनको भनाइ छ। अब विद्यार्थीलाई परम्परागत तरिकाले सिकाएर मात्र नपुग्ने भएकाले वैकल्पिक विधि अपनाउन योजना बनाइरहेको उनको भनाई छ।

जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. पूर्ण बहादुर भण्डारीले बन्दको सदुपयोग गर्दै सल्यानको साहित्यिक इतिहास परिमार्जन गरी रहेको बताए।

उनले एक पुस्तकको पाण्डुलिपि तयार गरी रहेको र लोक साहित्यबारे लेख लेखिरहेको बताए। नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई पूर्ण सर्मथन गर्दै आफ्नो अधुरो कामलाई पूर्णता दिइरहेको उनको भनाई छ।

विश्वभर फैलिएको कोरोना भाइरसको सन्त्रास नेपालमा पनि छ। कोभिड-१९ का कारण हालसम्म विश्‍वभर ९५ हजार बढीले ज्यान गुमाइसकेका छन्।करिब १६ लाख भन्दाबढी मानिस भाइरसको संक्रमणबाट ग्रसित छन्। नेपालमा पनि नौ जनामा संक्रमण देखिएको छ। एकजना उपचारपछि घर फर्किसकेका छन् । अन्य आठजना विभिन्‍न अस्पतालका आइसोलेसनमा उपचाररत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.