|

नयाँ वर्षको शुभकामना आदानप्रदान चलिराखेको छ। तर, मन कत्ति पनि खुसि छैन। नयाँ वर्षको न रौनक छ, न चमक नै। जताततै उदासीनता र सुनसान छ। छ त केवल डर छ त्रास छ। जताततै एउटा कामना छ त्यो हो नयाँ वर्षमा कोरोनाको औषधि र उपचार पत्ता लागोस्, छिटो खोप  विकास होस्।

महामारी छिटो अन्त्य होस्। कोरोनाबाट मुक्ति मिलोस, कोरोना (कोभिड १९ ) भाइरसविरुद्ध मानिसलाई विजय मिलोस्। यही नै शुभकामना को सार रह्‍यो।स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण कुरा रह्‍यो।

बत्ती र ताली

बिहानै राष्ट्रियगानबाट कैयौं नेपालीको दिन सुरु भयो। ग्लोबल कम्प्याक्ट नामक संस्थाले आह्वान गरेको राष्ट्रियगान गाउने र ताली बजाउने अभियानलाई प्रधानमन्त्री केपी ओलीले पनि समर्थन गर्नुभएपछि यसको चर्चा चुलियो। केहीले यसको समर्थन गर्दै बिहानै राष्ट्रियगान गाए भने कसैले मजाकमा पनि उडाए। सामाजिक सञ्‍जालमा पनि यसको चर्चा भयो नै।

धेरैलाई यो भारतीय प्रधानमन्त्री मोदीको नक्कल गरेको भन्‍ने पनि लागेको थियो। मलाई चाहिँ राष्ट्रियगान गाउने र स्वास्थ्यकर्मीहरूको हौसलाको लागि ताली बजाउने कुरा मन परेको छ। मोदीले थाल ठटाउने या ताली बजाउने या बत्ती बाल्ने जुन अभियान चलाए यसको भारतमा पनि चर्चा, परिचर्चा, समर्थन र विरोध सुनिए। थाल ठटाएर, बत्ती बालेर, ताली पिटेर, कोरोना भाग्छ र कस्तो अन्धविश्‍वास र ढोग भन्‍ने प्रतिक्रिया पनि आए। 

प्रधानमन्त्री हिजोआज अलि तन्दुरुस्त हुँदै गर्दा सञ्‍चार माध्यममा देखिन र बोल्न थाल्नु भएको छ। नयाँ वर्षमा सन्देश पनि दिनु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पनि प्रस्तुति र बेलाबेलाका सम्बोधनले पहिलेको तुलनामा स्वास्थ्यकर्मीको मनोबल बढाउने खालका देखिएका छन्।

भारतमा बत्ती बाल्ने आभियानको दिन नेपालमा पनि कैयौं ठाउँमा नेपालीहरूले बत्ती बाले। यसै पनि कैयौं घरमा साँझ पूजा कोठामा दियो बाल्ने चलन नभएको होइन।

बेलाबेला विभिन्‍न घटना हुँदा पनि मण्डला, शान्तिबाटिका लगायतका ठाउँमा मैनबत्ती बाल्ने र सम्झना गर्ने गरिएकै हो। कोभिड १९ ले संसारभर दिवंगत भएकाहरूको सम्झनामा र अन्यको स्वास्थ्यलाभ र कोरोना महामारी अन्त्यको कामना गर्दै दियो बाल्दा, मैनबत्ती जलाउदा नराम्रो मान्‍नु किन?

परामर्श र मनोरञ्जनका कुरा

इटालीमा  कोरोना संक्रमण चरम अवस्थामा पुगेर घरमै बसेका नागरिकहरूले कौसी र बाल्कोनीमा गएर गितार बजाए, गीत गाएर, हात हल्लाएर, एक-अर्कालाई हौसला बढाएको हामीले सञ्‍चार माध्यममा देखेकै हो। नेपालमा अहिलेसम्म अवस्था त्यस्तो विकराल बनिसकेको छैन। हामी घरबन्दीमा मात्र बस्‍नुपरेको अवस्था हो। त्यसैले अल्छि मान्‍नु, उकुसमुकुस हुनेबाहेक, जसलाई खाने बस्‍ने चिन्ता छैन। यो धेरै गाह्रो कुरा होइन। आफ्नै घर आँगनमा या छतमा गएर छिमेकिहरूलाई रमाइलो गराउनु पनि राम्रै कुरा हो।

नाटकको प्रत्यक्ष प्रसारण गरेर पनि अरूलाई रमाइलो गराउने प्रयास पनि थिएटर मल कीर्तिपुर रंगमंच नामक संस्थाले गरेकै हो। त्यो पनि अत्यन्तै सराहनीय कदम हो।

अहिले उकुसमुकुस भएर घरमै बसेको बेला, धेरै चिकित्सकहरूले, फोन वा एपबाट सेवा दिइराखेका छन्। धेरैले नि:शुल्क परामर्श दिएका छन्। नेपाल चिकित्सक संघ, एच ए संघ लगायतका संस्थामार्फत पनि फोनबाट परामर्श सेवा जारी छ।

आफैँ र म कार्यरत संस्था तथा हाम्रो टिमले पनि फोनबाट सेवा र अस्पतालमा दिने सेवा दिइराखेका छौँ। केही अन्य संस्थाले र विशेषज्ञले मनोचिकित्सा र परामर्श जारी राखेका छन्।

साथै त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय लगायतले अनलाइन अध्यापन सुरु गरेका समाचार आउँदै छन्। स्कुलहरूले विद्यार्थीहरूलाई पनि अनलाइन अध्यापन गर्न सुरु गरेका कुरा छन्। लकडाउनले केही नयाँ प्रयोग र अभ्यास ल्याएको छ।

यो बेला नेपथ्य कता छ नेपथ्य, स्वरसुधा, कुटुम्ब, लगायतका विभिन्‍न समूहहरूले पनि मिल्ने भए लाइभ मनोरञ्‍जन दिन सके राम्रै होला।

बन्द लम्बियो भने सामूहिक रूपमा कुनै दिन दीप प्रज्वलन, कुनै दिन शंख/घण्टा बजाउने, डम्फु, मादल, बाँसुरी, सारंगी बजाउन मिल्छ। कुनै दिन हाम्रा धर्म सम्प्रदाय सामाजिक परम्पराअनुसार आ-आफ्नो घरमा प्रार्थना, कुनै दिन बिहान योग, कुनै दिन छिमेकीलाई आफ्नै घरबाट हसाउने र नचाउनेसम्मका उपाय गर्दा राम्रै होला।

म यो सबै किन भन्दै छु भने, धेरैलाई डिप्रेसन, पी टि यस डी लगायतका मानसिक समस्या देखा पर्न सक्नेतिर सचेत हुँदै यस्ता खालका मनोरञ्‍जनका क्रियाकलाप गर्दा राम्रो हुनसक्छ।

सबैलाई चाहिने आत्मबल र हौसला

विश्व नै स्तब्ध हुन पुगेको र भाइरसविरुद्ध संघर्ष  गरिराखेको अवस्थामा छ। कैयौँ नेपाली वैदेशिक रोजगारीबाट फर्केको अवस्था, भविष्यको चिन्ता, घर बाहिर बनेका क्वारेन्टाइनमा बसेका मानिस, यो समस्यासँग जुधेर खोजी अनुसन्धान र उपचारमा संलग्‍न चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सुरक्षाकर्मी, सञ्‍चारकर्मी सबैको मनोबल र हौसला बढाउन उत्तिकै जरुरी छ।

प्रधानमन्त्री हिजोआज अलि तन्दुरुस्त हुदै गर्दा सञ्‍चार माध्यममा देखिन र बोल्न थाल्नु भएको छ। नयाँ वर्षमा सन्देश पनि दिनु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पनि प्रस्तुति र बेलाबेलाका सम्बोधनले पहिलेको तुलनामा स्वास्थ्यकर्मीको मनोबल बढाउने खालका देखिएका छन्।

विस्तारै संकटकालीन सञ्चारमा ध्यान दिन थालेको पनि अनुभूत हुन थालेको छ। रक्षा र गृहमन्त्रीले पनि सुरक्षा र प्रशासनको मनोबल बढाउने खालका कुराहरू प्रकाशन, प्रसारण गर्दा राम्रै होला।

बाढी पहिरो आउँदा हेलिकोप्टरबाट अवलोकन गर्नेहरूको कमी नहुने देशमा हिजोआज शीर्ष नेता घरमै गुप्तबास बसेको भान हुन्छ। कैलालीमा संक्रमण देखिएका बेला पनि उताका माननीयहरू, भूपू प्रधानमन्त्री, भूपू उपप्रधानमन्त्री लगायतको सक्रियता अनुभूति गर्न पाइएन। त्यसैले अनुगमन, निरीक्षण र मनोबल बढाउने काम पनि विना तडकभडक गर्नु जरुरी छ।

फेसबुक लाइभ गर्न मिल्ने जमानामा नेताहरूले सामाजिक सञ्‍जालमार्फत घरबाटै पनि आफ्नो सक्रियता र उपस्थिति देखाउन सके राम्रै होला। अरू बेला भाषण गरेर र शुभकामना आदानप्रदान गरेर नथाक्ने नेताहरूको यो महाविपत्ति र महामारीको बेलामा खासै उपस्थिति नदेखिनु दु:खद आश्चर्य हो।

त्यसैले नेपाली मौलिकपन झल्किने या घरबाटै विना भिडभाड गर्न सकिने क्रियाकलाप, एकता र ऐक्यबद्धता जनाउने काम गर्न र सबैको मनोबल बढ्ने, राष्ट्रिय एकता झल्किने सन्देश जाने, संकटको बेला हामी सबै एक छौं भन्‍ने भाव जनाउने कुनै पनि सांकेतिक कार्यक्रम गरियोस्।

महामारीको बेलामा जोखिम मोलेर सेवामा खट्ने सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालकलगायत सबैलाई हौसला बढाउन कामको कदर गरिदिने र अन्य सबैलाई घर भित्रै या क्वारेन्टाइनमा बस्‍न अनुरोध गर्ने गरिनुपर्छ।

टोल छिमेकमा अफ्ट्यारो परेकालाई मुठीदान, राहत सामग्रीको व्यवस्था गराउने, आफ्नो ज्ञान, सीपको आधारमा फोन या सामाजिक सञ्‍जालबाट सेवा दिन मिल्ने भए नि:शुल्क सेवा दिएर पनि यो महामारी र लकडाउनको अवधिमा सहयोग गर्न सकिन्छ।

योग र प्रवचन

त्यसैले अन्तर्राष्ट्रिय योग दिवस या बाबा रामदेव आउँदा मात्रै होइन, घरबन्दीमा रहेका बेला पनि योग गर्न सकिन्छ। स्वामी विकासानन्द, स्वामी आनन्द अरुणलगायत अध्यात्मिक गुरुहरूले पनि यस्तो बेला लाइभ प्रवचन, योग, ध्यान लगायत सेवा दिएर होस्टेमा हैँसे गर्न र सबैको मनोबल उच्च पार्न सोच्‍नुपर्छ। 

प्रदेश र स्थानीय तहमा, मुख्यमन्त्री मन्त्री नेताहरू, मेयर, उपमेयर लाग्‍नुभएकै छ। उहाँहरूले पनि प्रदेश र स्थानीय तहमा प्रभावकारी नेतृत्व, समन्वय गर्ने, निर्देशन, अनुगमन गर्ने र सबैलाई हौसला मिल्ने, स्थानीय र प्रदेशस्तरका समस्या समाधान तथा राज्यले चालेका सम्पूर्ण कदम र पहलहरूको प्रभावकारी कार्यान्वयन गरेर यो बेलामा अत्यन्तै महत्वपुर्ण र प्रभावकारी भूमिका खेल्न सक्नुहुन्छ।

सहयोगका लागि प्रविधिको प्रयोग

अहिलेसम्म  कोरोनाबाट  विदेशमा बस्‍ने १३ जना नेपालीको मृत्यु भइसकेको जानकारीमा आएको छ। अन्य संक्रमित र पाँच सयको हाराहारीमा उपचाररत रहेकोले सरकारले मृतकका परिवारलाइ समवेदना, सान्त्वनालगायत के गर्न सकिन्छ त्यो पहल गर्न सक्छ।

एउटा अनलाइन पेज जहाँ सबैको नाम, ठेगाना,लगायतको विवरण राखियोस् र त्यसलाई समवेदना तथा स्मृति वाल / या यस्तै केही नाम दिएर त्यसमा सबैले समवेदना व्‍यक्त गर्न सकून्। विश्वभर कोरोना संक्रमितको र कोभिडका बिरामीहरूको स्वास्थ्यलाभको कामना र सेवा गर्दा वीरगति प्राप्त गरेका स्वास्थ्यकर्मी र मृतात्माको चिरशान्तिका लागि पनि घर घरमा  दियो बाल्न सकिन्छ।

क्वारेन्टाइनमा बसेकाहरूमा कुनै दीर्घरोगी, क्षयरोगी, कुष्ठरोगीलगायत अन्य दीर्घरोघी भए उनीहरूको औषधि के कसो छ बुझेर आवश्यक भए उपलब्ध गराइनुपर्छ। समुदायमा रहेका दीर्घरोगीहरूले लकडाउनले गर्दा औषधि पाएका छन् कि छैनन् निर्क्योल गरी आपूर्तिको व्‍यवस्था गरिनुपर्छ।

अर्को एउटा अनलाइन वाल बनाइयोस् जहाँ उपचाररत बिरामीहरू जसको नाम त राख्‍न नमिल्ला, तर के कति जना उपचारमा छन् उनीहरू र तिनको परिवार, सम्पूर्ण संक्रमितहरू जो आइसोलेसनमा या क्वारेन्टाइनमा बस्छन् उनीहरूलाइ शुभकामना दिने र हौसला बढाउने एउटा साझा पेज बनाऊँ।

सरकारले उपचाररत र संक्रमित तथा क्वारेन्टाइनमा बस्‍ने र तिनका परिवारलाई पनि सम्पर्क गरी हौसला प्रदान गर्ने स्वास्थ्यलाभको कामना गर्ने व्यवस्था गरियोस्।

गण्डकी प्रदेश सरकारले क्वारेन्टाइनमा बस्नेहरूका लागि प्रतिदिन केही रकम दिने भनिएको छ त्यसको सदुपयोग भए राम्रै हुन्छ।

योबाहेक सातै प्रदेशमा हटलाइन र संकटकालीन डेस्कको प्रभावकारी व्यवस्था गरियोस्। हटलाइनका लागि पर्याप्त जनशक्ति व्यवस्थापन भएन भने नागरिकले समस्या परे सम्पर्क गर्न र गुनासोको उपयुक्त सुनवाइ तुरुन्त नहुँदा त्यसको अर्थ हुँदैन।

खाना र औषधि

राहत वितरणमा समस्या र नागरिक भोकै बस्‍ने, संकटकालीन स्वास्थ्य समस्या भएमा त्यसको सम्बोधन गर्न संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा एकदम प्रभावकारी सेवाको व्यवस्था हुनुपर्छ।

क्वारेन्टाइनमा बसेकाहरूमा कुनै दीर्घरोगी, क्षयरोगी, कुष्ठरोगीलगायत अन्य दीर्घरोघी भए उनीहरूको औषधि के कसो छ बुझेर आवश्यक भए उपलब्ध गराइनुपर्छ। समुदायमा रहेका दीर्घरोगीहरूले लकडाउनले गर्दा औषधि पाएका छन् कि छैनन् निर्क्योल गरी आपूर्तिको व्‍यवस्था गरिनुपर्छ।

कोरोनाबाट बच्‍ने र बचाउने  उपाय अवलम्बन गर्दै गर्दा अन्य रोग लागेर बिरामी मर्ने या आवश्यक सेवाबाट वञ्‍चित हुन नदिने व्यवस्था चाहिन्छ। गर्भवती, सुत्केरी सेवा प्रभावित नहोस्। सकेसम्म अन्य बिरामी र कोरोना शंकास्पद बिरामी सकभर सम्पर्कमा नआउने व्यवस्था मिलाउनु जरुरी हुन्छ।

एउटै अस्पतालबाट भन्दा डेडीकेटेड अस्पतालबाट संक्रमितलाई उपचार दिँदा अन्य सेवाहरू पनि प्रभावित नहोलान्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, महानगर लगायतका थुप्रै एप्सहरू आएको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको या कुनै एउटा मात्र एप्स प्रयोग गरिए सूचना जानकारी र सेवामा एकरूपता आउने थियो।

सल्लाहसहित शुभकामना

साथै हल्लाहरूका पछि नलाग्‍न, अफवाह नफैलाउन र फैलिन नदिन उपाय खोजिनुपर्छ। दिनरात खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई दुर्व्यवहार र भेदभाव गरिनु हुँदैन। कोरोना पुष्टि भएका बिरामी या आफन्तलाई घृणा, भेदभाव होइन आवश्यक सहयोग, हौसला प्रदान र स्वास्थ्यलाभको कामना गर्न, सबैजनालाई आफ्नो स्वास्थ्य र फिट्नेसमा ध्यान दिन अनुरोध दोहोर्‍याइरहनुपर्छ।

विगतमा जे भयो भयो अब सुरु भएको २०७७ सालमा समग्र मानवजातिको कल्याण होस्, भाइरसमाथि विजय मिलोस, छिट्टै यसको औषधि र खोप बनेर उपलब्ध होस्। यो विश्वव्‍यापी महामारी छिट्टै नियन्त्रणमा आओस्। महामारीबाट प्रभावित नेपाली जनता र व्यवसायीका समस्या सरकाले सम्बोधन गरोस्। कोरोनाको नाममा भ्रष्टाचार, राहतको गुनासो सुन्‍न नपरोस्  यही नै शुभकामना।

अन्त्यमा विस्तृत छलफल गरी अब लकडाउन कसरी व्यवस्थित गर्दै जाने हो त्यो पनि सोचिनुपर्छ किनभने सधैँको बन्द स्वीकार्य नहुन सक्छ। आखिर व्यवहार चलाउनैपर्छ। उत्पादन गर्नैपर्छ जीवन चल्नैपर्छ जीवन चलाउनैपर्छ।

समग्रमा यो महामारीविरुद्ध एकजुट भएर सामना गर्न सकियोस्। आउनोस् हातेमालो गरौँ र विजयी बनौं। नयाँ वर्ष २०७७ को मंगलमय शुभकामना।

(डाक्टर कोइरालाद्वारा प्रस्तुत विचार निजी हुन्,यसमा उनी कार्यरत संस्थाको कुनै सम्बन्ध छैन।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.