|

बागलुङ : सडकमा काम गर्ने र सडकमै रात गुजार्ने मजदुरका लागि बागलुङमा आश्रयस्थलको व्यवस्था गरिएको छ। सरकारले दिएको राहत खाद्यान्न पकाएर खाने ठाउँसमेत नभएकाका लागि शान्ति समितिको भवनलाई सरसफाइ गरेर आश्रयस्थल बनाइएको हो।

जिल्ला प्रहरी कार्यालयको पहलमा उद्योग वाणिज्य संघले भवनको सरसफाइ गरेर आश्रयस्थल बनाएको छ। उक्त भवनमा १० वटा विस्तारसहित पानी, बिजुली लगायतको प्रबन्ध गरिएको उद्योग वाणिज्य संघ बागलुङका महासचिव नरेश कँडेलले बताए। मंगलबार निर्माण गरिएको आश्रयस्थलमा बुधबारसम्म ६ जनालाई राखिएको छ। प्रहरीले सडकमा रहेकाहरुलाई उठाएर आश्रयस्थल पुर्‍याएको हो।

 लकडाउनसँगै बागलुङमा चोरीका घटना बढ्दै जान थालेपछि प्रहरीले अनुसन्धान थालेको थियो। प्रहरीका अनुसार, बागलुङ बजारका ठुला स्टोरहरूमा लोड अनलोडको काम गरेर खानेहरुको बासस्थान नभएको पाईएको थियो। काम सकेर पसलमा किनेर खाने र सडकमै सुत्नेहरु चोरीमा संलग्न रहेको भेटिएपछि उनीहरुको उचित व्यवस्थापन थालिएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए।

‘एकजना मजदुर नै यस्ता स–साना चोरीका घटनामा संलग्न भएको पायौं, त्यसपछि बिधिको खोजी भएको हो’ भट्टले भने ‘नत उनीहरुलाई कुनै कारबाहीको व्यवस्था छ नत कारागारमा नै राखेर मुद्धा चलाउन सक्ने अवस्था।’

 उनीहरुले काम नचलेर खान नपाएकै कारण चोरीका घटनामा संलग्न भएको प्रहरीको निष्‍कर्ष छ। ‘बजारछेउका गाउँमा गएर बाख्रा चोर्ने, पसलमा छिरेर दालमोठ, चाउचाउ जस्ता वस्तुहरु चोरी गरेको पाइयो’ भट्टले भने ‘विनाश गर्नेभन्दा पनि छाक टार्ने हिसाबको चोरी देखिएकाले विकल्प खोजिएको हो।’

बागलुङ नगरपालिकाले दिएको राहतको सामग्री समेत बिक्री गरेर मदिरा सेवन गर्नेहरु भेटेपछि आश्रय स्थल निर्माण गरेर सुरक्षित राख्ने योजनामा प्रहरी लागेको हो।

गाँसबास नभएका जो कोहीलाई आश्रय स्थलमा राख्‍न सकिनेछ। खानाको व्यवस्था बुधबारसम्म प्रहरी आँफैले गरेको र बिहीबारदेखि धार्मिक संस्था स्कोनले गर्ने प्रतिवद्धता जनाएको नागरिक समाजका अगुवा राम शर्माले बताए।

सुरक्षाका लागि प्रहरी

आश्रयस्थलमा रहेका श्रमिकको सुरक्षाका लागि एक जना प्रहरी जवान खटाउने कार्यालयले जनाएको छ। बाहिरी पहराको जिम्मा भने सशस्त्र प्रहरीले लिएको छ।

‘सडकमा रहेकालाई सुरक्षित राख्दा रोग संक्रमणको त्रास पनि नहुने र अफ्ठेरो परिस्थितिमा उनीहरूले आश्रय पाउने’ महासचिव कँडेलले भने, ‘प्रहरीले शंका गरेको जस्तो चोरीमा संलग्न भएको भए पनि कमी आउने भएकाले हामी सहयोगका लागि तयार भएका हौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.