|

बागलुङ : लकडाउनको कारण देखाउँदै बैंकहरूले समयमा रकम जम्मा नगरेका कारण बागलुङमा लक्षित वर्गले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्।

जिल्लाको ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाबाहेक सबै स्थानीय तहले बैंकको खातामा सामाजिक सुरक्षा भत्ताबापतको रकम जम्मा गरिसकेका छन्। ढोरपाटनले कर्मचारी खटाएर टोल–टोलमा पुगेर नगदै भत्ता बाँडिरहेको छ भने बडिगाड नगद दिने वा बैंकमार्फत जाने, अन्योलमा छ।

स्थानीय तहले सम्झौता भएका बैंकलाई रकम पठाइसके पनि ज्येष्ठ नागरिक, असहाय, अपांग, एकल महिला लगायतका प्रभावित समुदायका नागरिकको बैंक खातामा रकम जम्मा भएको छैन।

 दोस्रो चौमासिक बापतको भत्ता फागुनको अन्तिम साता वा चैतको पहिलो साताभित्रै यहाँका स्थानीय तहले उपलब्ध गराउँदै आएका थिए। वैशाखको पहिलो सातासम्म सम्बन्धित व्यक्तिको खातामा रकम जम्मा नभएको गल्कोट नगरपालिका–७ कि ज्येष्ठ नागरिक पवित्रा थापाले बताइन्। ‘यसो खर्च चल्थ्यो, किन होला वैशाख लाग्दासमेत भत्ता आएन’ थापाले भनिन्।

पैसा समयमै बैंक पठाएका हौँ

गल्कोट नगरपालिकाले भने वडाअनुसार सम्झौता भएका सबै बैंकको खातामा रकम जम्मा गरिसकेको दाबी छ। ‘भत्ता बैंकले नै बाँड्ने हो। खातामा पठाए पनि, नगद दिए पनि खातामार्फत नै बैंकले दिन्छ’ प्रमुख प्रशासकीय अधिकृत शिशिर शर्माले भने, ‘हामीले समयमै पठाएका हौँ लकडाउनका कारण बैंकले खातामा पठाउन सकेका छैनन्।’

सरकारले बैंक तथा वित्तीय संस्थालाई पालैपालो दैनिक दुईघण्टा मात्रै भए पनि सेवा दिन भनेको छ। भत्ता सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने भएकाले बैंकहरूले आन्तरिक तयारी गरेर रकम जम्मा गर्न सक्ने जानकारहरू बताउँछन्।

निशिखोलामा पनि उही समस्या

 निसीखोला गाउँपालिकामा पनि समस्या उस्तै छ। ‘यो वर्ष केही ढिला निकासा आयो, तर हामीले बैंकलाई रकम उपलब्ध गराइसकेका छौं’ निसीखोलाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले भने, ‘भत्ता पाउनेहरूको खातामा रकम जम्मा गरेर वितरण गर्ने काम बैंकको हो।’

बागलुङ, गलकोट नगरपालिका, काठेखोला, बरेङ, तमानखोला, ताराखोला गाउँपालिका र जैमिनी नगरपालिकाको १ देखि ५ वडामा बैंकमार्फत भत्ता वितरण हुँदै आएको छ।

बैंकमार्फत भत्ता उपलव्ध गराउँदै आएको बडिगाड गाउँपालिकाले भने अहिलेसम्म रकम बैंकको खातामा जम्मा गरेको छैन। ‘संकटको समयमा बैंकमार्फत जाँदा भीडभाड हुने र समयमा पनि नपुग्ने भएकाले विकल्पको खोजी गरिरहेका छौं’ प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीले भने, ‘वडा सचिव वा हाम्रै कर्मचारी खटाएर भए पनि बाँड्ने कि भन्ने विषयमा छलफल भइरहेको छ।’ यद्यपि उनले स्वास्थ्य र शिक्षा शाखा अन्तर्गतका कर्मचारीलाई परिचालन गरेर भत्ता बाँड्ने तयारी रहेको उनले बताए।

बरेङले लकडाउन हुनुपूर्व नै बैंकलाई निकासा दिएको हो। ‘हामीले पठायौं, उहाँहरूले बाँड्न भ्याउनुभएन’ प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भने, ‘केही दिनमा खातामा रकम जाला।’

भीड हुने डरले वितरण नगरेको हुनसक्छ

जैमिनीले पाँच वडामा बैंक र बाँकी पाँचमा वडा सचिवमार्फत भत्ता वितरण गर्दै आएको छ। ‘पाँच वडाको भत्ता रकम बैंकलाई निकासा गरेका छौं, बाँकी वडामा वडासचिवलाई पेश्की दिएर भत्ता वितरणको तयारी हुँदाहुँदै लकडाउन भयो’ प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले भने, ‘बैंकले भीड हुने भएकाले वितरण गरेको छैन जस्तो लाग्छ।’ जैमिनीमा एनएमबि बैंकमार्फत भत्ता वितण हुँदै आएको छ।

भिड र त्रासले काम रोक्यौँ : बैंक

 बैंकहरूले ढिलागरी निकासा आएको र लकडाउनको समयमा भिड नियन्त्रणकै लागि भत्ता वितरण रोकिएको दाबी गर्दै आएका छन्। ‘हामीले रोक्नुपर्ने कुनै कारण नै छैन, लकडाउन र कोरोनाको त्रास बढ्यो’ बरेङमा रहेको प्रभु बैंकका शाखा प्रबन्धक रेशम आचार्यले भने, ‘भत्ता वितरण गर्दा भीड लाग्छ, कसरी नियन्त्रण गर्नु।’ एउटै ल्याप्चे प्रयोग गर्नुपर्ने र बृद्धबृद्धाका सहयोगीसमेत आउने भएकाले भीड बढ्ने र संक्रमणको त्रास हुने उनको दाबी छ।

 ‘भत्ता त बाँड्ने तयारी थियो, माथिबाट अहिले नगर्नु भन्नुभयो’ एनएमबि बैंक कुश्मीशेराका शाखा प्रबन्धक योगेश पाण्डेले भने ‘आउँदो सोमबारसम्म सम्बन्धित व्यक्तिको खातामा रकम पठाउँछौं।’ सामाजिक सुरक्षा भत्ता लिनेहरूका सबै विवरण अध्यावधिक गर्नुपर्ने भएकाले पनि समस्या भएको उनीहरूको दाबी छ।

 बागलुङमा करोडौं रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण हुन्छ। स्थानीय तहबाट निकासा भएको सबै रकम बैंकको खातामा गएर अल्झिएको छ। भत्ता लिने सबैको बैंक खाता भए पनि खातामा रकम पठाउनसमेत बैंकहरू तयार भएका छैनन्।

‘रकम खातामा राखिदिए अफ्ठेरो परेकाले सुरक्षित तरिकाले लिनसक्थे’ गल्कोट नगरपालिकाकी महिना नेतृ ललिता थापाले भनिन् ‘अफ्ठेरोमा काम टर्नेगरी सोच्नुपर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.