|

बंगलादेशको ढाकामा जारी यु-१५ महिला साफ च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। आयोजक बंगलादेशलाई १-० ले पराजित गर्दै नेपालले प्रतियोगितामा दोस्रो जित निकालेको हो।

बंगलादेशविरुद्ध प्रतिस्पर्धात्मक बनेको खेलमा नेपाली किशोरी टोलीले दोस्रो हाफमा गरेको एकमात्र गोल निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा नेपालले खेल सकिन ३ मिनेट बाँकी रहँदा गोलको खाता खोलेको थियो।

नेपालका लागि जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी वर्षा ओलीले ८७ औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो।

 यसअघि पहिलो खेलमा नेपालले भुटानलाई ७-० ले पराजित गरेको थियो। बंगलादेशले पनि भुटानलाई ८-० ले पराजित गर्दै विजयी शुरुवात गरेको थियो। नेपालको फराकिलो जितमा वर्षाले ४ गोल गरेकी थिइन्।

जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालको दुई खेलबाट ६ अंक हुँदा बंगलादेशको तीन अंक रहेको छ। प्रतियोगितामा नेपाल, बंगलादेश र भुटान सहभागी छन्। डबल राउण्ड रोविनका आधारमा हुने खेलमा शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.