|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यापु समुदायको परम्परा, कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताएका छन्।

बिहीबार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजना कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले ज्यापु समुदायको धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताएका छन्।

उनले ज्यापु समुदायका जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरू, कला र कौशलहरू राष्ट्रको अमूल्य नीधि भएको उल्लेख गर्दै त्यसको संरक्षण गर्नुपर्ने बताए। उनले सम्पदा र संस्कृतिहरुको जगेर्ना गर्नु सबैको कर्तव्य भएको बताए।

उनले भने, ‘काठमाडौं उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा ज्यापु समुदायको, ज्यापु समाजको उल्लेखनीय योगदान छ। ज्यापु समुदायका जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरु, कला, कौशल नेपालका अमूल्य निधि हुन्। ज्यापु समुदायका धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहनको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो। यस्तो महत्वपूर्ण संस्कृति र सम्पदालाई संरक्षण गर्नु, विलिन हुनबाट जोगाउनु हाम्रो कर्तव्य हो। राष्ट्रिय ज्यापु दिवसको माध्यमबाट नेपालको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायले पुर्‍याउँदै आएको योगदानलाई सबै समक्ष उजागर गर्दै मुलुकको संस्कृति, परम्परा, रहनसहनलाई संवद्र्धन र प्रवद्र्धन गर्न मद्दत पुर्‍याउने विश्वास लिएको छु।’

उनले उपत्यकाका ज्यापु समुदायले न्यूनतम आर्थिक तथा नैतिक सुविधाका बीचमा पनि आफ्ना मौलिक परम्परा र संस्कृतिलाई बचाइराखेको भन्दै प्रशंशा गरे। उनले सो समुदाय आफ्नै प्रकारको विशिष्ट र मौलिक पहिचान बोकेको मिहिनेती र इमान्दार समुदायको रुपमा परिचित रहेको उल्लेख गरे। प्रधानमन्त्री देउवाले कृषि अर्थतन्त्रको विकासमा पनि ज्यापु समुदायको महत्वपूर्ण भूमिका रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.