सिद्धान्त नभएपछि एमालेमै फर्किएँ : न्यौपाने

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेजसँगै पुन:स्थापित भएको नेकपा एमाले पनि छिन्नभिन्न भयो। सरकारले पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याइदिएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूसहित ५८ जना केन्द्रीय सदस्यलाई समेटेर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गराए।

एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक पनि प्रतिनिधिसभा विघटन गरेपछि पार्टीबाट विद्रोह गरेर नेपालसहितका नेता कार्यकर्ता बाहिरिएका थिए। 

संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दावी गर्दा नेपाल समूहका सांसदहरुले हस्ताक्षर गरे । राष्ट्रपतिले प्रधानमन्त्रीमा देउवासँगै ओेलीको दावी नपुगेको बताएपछि ओलीले प्रतिनिधिसभा विघटन गरे, त्यसविरुद्ध देउवा सर्वोच्च जाँदा नेपाल समूहका सांसदले पनि साथ दिए ।

तत्कालिन प्रधानमन्त्री देउवाले ३ साउनमा विश्वासको मत लिँदा माधव नेपालसहित २२ सांसदले फ्लोर क्रस गर्दै विश्वासको मत दिए । त्यसका बाबजुद दोस्रो तहका नेताहरुले सहमतिको प्रयास गरिरहेकै थिए । तर त्यो सफल नहुँदै देउवाले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि माधव नेपालले नयाँ पार्टी बनाएका थिए। 

विभाजनको औचित्य पुष्टि गर्न असफल

एमालेबाट विभाजित भएर समाजवादी पार्टी खोलेका नेता नेपालले अहिलेसम्म विद्रोह गर्नु र पार्टी विभाजन गर्नुको औचित्य पुष्टि गर्न सकेका छैनन्। 

पार्टी जन्मिएको ६ महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो जनमत पायो। राष्ट्रिय पार्टीको मान्यता पाउँदै पहिलो परीक्षणमा नै संसदमा बलियो उपस्थिति देखायो। तर,पार्टी स्थापना भएको डेढ वर्षपछि संसदीय चुनावमा होमिएको समाजवादीको जनमत जफत भयो। एमालेसँग विद्रोह गरेको समाजवादी जनमतको परीक्षणमा पूर्ण असफल बन्यो। 

एमाले अध्यक्ष ओलीले संसद विघटन गरेको अहंकार बढेको र पार्टी एकलौटीरुपमा चलाएको भन्दै नेता नेपाल असन्तुष्ट बनेका थिए। नेकपा हुँदै ओलीको पार्टीमा एकलौटी निर्णयबाट रुष्ट बनेका नेपाल ओलीले दोस्रो पटक संसद विघटन गरेपछि लोकतन्त्रको रक्षाका लागि भन्दै पार्टी विभाजनसम्म पुगे । लोकतन्त्रको रक्षाको लागि एमालेबाट फुटेर नयाँ पार्टी खोलेका नेपालको पार्टीलाई लोकतान्त्रिक पद्वतिअनुसार भएको निर्वाचनमा जनताले पत्याएनन्। 

नेपालले  एमाले विभाजन गरेर समाजवादी गठन गर्नुको औचित्य अहिलेसम्म पुष्टि गर्न असफल भएको उनकै पार्टीका कार्यकर्ताको आरोप छ। समाजवादी गठन भएदेखि नै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको छत्रछायामा बस्दै आएको छ। समाजवादीले अहिलेसम्म आफ्नो छुट्टै न कुनै विचार,सिद्वान्त र नीतिलाई अंगिकार गर्न सकेको छ, न सरकार र संसदमा जनपक्षीय भूमिका खेल्न सकेको छ। 

समाजवादी पार्टी जन्मिएदेखि नै बीचमा केही समयबाहेक निरन्तर सरकारमा सहभागि हुँदै आएको छ। केन्द्रदेखि प्रदेशसम्म संसद र सरकार दुवैतिर समाजवादीको उपस्थिति छ। तर,पनि समाजवादीले आफू छुट्टै पार्टी हो भन्ने आभास जनतालाई दिलाउन सकेको छैन। 

रित्तिँदै समाजवादी

​यही भदौ २ गते नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको दुई वर्ष पुग्दैछ। स्थापना भएको दुई वर्षसम्म समाजवादीले पार्टीको आकार लिन सकेको छैन। गठबन्धन दलहरुको बीचमा नै हराइरहेको समाजवादी आफ्नो पार्टीको पहिचान र आकार बनाउनेतर्फ अग्रसर भएको देखिँदैन। 

समाजवादी पार्टीको आकार लिनु अघि नै रित्तिँने यात्रामा लागेको छ। एकपछि अर्को गर्दै समाजवादीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला अध्यक्षदेखि स्थानीयस्तरका नेताहरु एमाले प्रवेश गरिरहेका छन्। एमालेमा विद्रोहको समयमा माधव नेपाललाई रोजेर समाजवादी आएकाहरु धमाधम एमालेमा नै फर्किरहेका छन्। 

समाजवादीको तेस्रो वरियताका वरिष्ठ नेता मुकुन्द न्यौपाने,उपाध्यक्ष केदार न्यौपाने र सचिव भागवत विश्वासीसहित ३० केन्द्रीय सदस्य र १३ जना जिल्ला अध्यक्षहरू एमालेमा फर्किसकेका छन् । 

हालसम्म केन्द्रीय सदस्य तथा तत्कालीन सांसदहरु तारा लामा तामाङ, प्रेम महर्जन, मिठाराम केसी, डिल्ली उप्रेती, अशोक यादव, उषा गुरुङ, बालकृष्ण चापागाई,चुडामणी जंगली, तर्कबहादुर शाही, धनबहादुर रायमाझी, यदुवंश झा र हिराचन्द्र केसी एमाले फकिएका छन्। 

त्यस्तै विक्रम शाही, गणेश खनाल, देविलाल थापा, सरोजकुमार यादव, शारदा स्वर्णकार, बिना बुढाथोकी,चन्द्रलाल बुढा,कुलवीर चौधरी,अशोक चन्द, सुवास कर्माचार्य,दलबहादुर सुनार, कुर्मराज शाही, रिता रावल, सुन्दर विश्वकर्मा र नन्दसिंह बुढा पनि समाजवादी छोडेर पुरानै घर एमाले फर्किसकेका छन्। 

जिल्ला अध्यक्षहरु श्रीधर पोखरेल, सुर्यचन्द्र न्यौपाने, हरिप्रसाद शर्मा, सुरमणी बेलबासे, श्रीराम कार्की, नरेश भण्डारी, रमेश बस्नेत, विष्णु देवकोटा, सुन्दर विश्वकर्मा, हिरण्ड भट्टराई, गगन रावल, आदिप्रसाद न्यौपाने र भोलानाथ पोखरेलले पनि समाजवादी त्यागेका छन्। 

समाजवादी छोडेर एमाले प्रदेश गर्ने जिल्लास्तरीय नेता कार्यकर्ताहरुको लामै लिस्ट छ। यही अनुपातमा समाजवादी छोडेर एमाले रोज्नेहरुको संख्या बढ्दै गए पार्टी रित्तिने हो कि​ भन्ने पीर पर्न थालेको समाजवादीकै नेताहरु बताउँछन्। 

निराश रामकुमारी झाँक्री

नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री अहिले निश्क्रिय जस्तै छिन् । 

एमाले विभाजग गरेर समाजवादी स्थापना गर्न माधव नेपाललाई दरिलो साथ दिएकी झाँक्री पछिल्लो समय पार्टी नेतृत्वप्रति निराश छिन्। आफूलाई नेतृत्वले बेवास्ता गरेको उनको गुनासो छ। एमालेमा विद्रोह गरेर नयाँ पार्टी खोल्दा नेपालको मेरुदण्ड बनेकी झाँक्रीको पछिल्लो समय उनको अध्यक्ष माधवकुमार नेपालसँग त्यति सुमधुर सम्बन्ध छैन। 

झाँक्रीले पूरानै घर (एमाले) मा फर्कने मन बनाएको कुरा यसअघि नै चर्चामा आएको थियो। समाजवादीमा निश्क्रिय बनेकी उनले पछिल्लो समय एमालेसँग भित्रभित्रै भेटघाट बढाइरहेको स्रोतको दावी छ। त्यसैले उनी एमालेमा नफर्किलिन् भन्न सकिँदैन।

सिद्धान्त नभएपछि एमालेमै फर्किएःँ न्यौपाने

​नेकपा एकीकृत समाजवादीका पूर्ववरिष्ठ नेता मुकुन्द न्यौपानेले गएको चैतमा समाजवादी पार्टी त्यागेको घोषणा गरे। त्यसअघि पनि समाजवादी पार्टीभित्र र बाहिर असन्तुष्टि र मतभेद राख्दै आएका न्यौपाने अन्ततः पार्टी त्यागेको घोषणा गरे र एमालेमै फर्किए। 

समाजवादीमा पार्टीको आफ्नै सिद्धान्त नभएकाले छाडेको उनी बताउँछन्। ‘पार्टीसँग आफ्नो कुनै सिद्धान्त​ भएन, पार्टीमा सैद्धान्तिक छलफल हुनुको साटो माधव नेपाल व्यक्तिगतरुपमा ओली र एमालेको विरोधमा मात्रै उत्रिनु भयो’,उनले भने। मंसिर ४ मा भएको निर्वाचनमा पार्टीको जनतमत नै जफत भएपछि आफूले पार्टी छोड्ने निर्णय गरेको उनले बताए। 

‘जनताले एमाले छोड्न सकेनन्,समाजवादी स्विकारेनन्। जनमतमा असफल भइसकेपछि अहंकार गरेर हुन्छ ?’,उनले भने‘यो पार्टी अब अघि बढ्दैन भन्ने लागेपछि पुरानै घर फर्किएको हुँ।’ 

ओलीले संसद विघटन गरेको विरोधमा एमाले छोडेर समाजवादीमा गएको उनको भनाइ छ। उनले अहिले समाजवादी छोडेर एमालेमा नै फर्किए पनि पार्टीभित्र फरक मत राख्न नछोड्ने बताए। माधव नेपाल र प्रचण्डका कारण झोकिएर ओलीले संसद विघटन गरेको न्यौपानेको भनाइ छ। 

आउने जाने क्रम चलिरन्छ : समाजवादी

​नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल पार्टी छोडेर आउने जाने क्रम चलिरने बताउँछन्। एमाले छोडेर समाजवादी आउनेहरु पनि रहेको भन्दै हमालले तुलनात्मकरुपमा पछिल्लो समय समाजवादीबाट एमाले जानेको संख्या बढिरहेको भने स्विकार गरे। 

‘एमालेसँग विद्रोह गरेर जन्मिएको समाजवादी पार्टीसँग राजनीतिक र वैचारिक सिद्वान्त अझै पनि छ’ ,हमाल भन्छन् ‘केही साथीहरू आउने जाने क्रम चलिरहन्छ।’ समाजवादी संविधानको प्रतिरक्षा गर्न सफल भएपनि जनजीविकाको विषयमा काम गर्न चुकेको हमालको भनाइ छ। 

गठबन्धनसँग सहकार्य गरेर सरकारमा बस्दा नचाहादा नचाहादै पनि कतिपय गतिविधि भएको हमाल बताउँछन्। कम्युनिष्ट  आन्दोलनमा एउटा पार्टीबाट अर्को गएर कुनै छलाङ नमारिने उनले बताए। तर,पनि पार्टीमा नेता कार्यकर्ता टिकाउन नसकेको विषयमा भने छलफल हुने उनले बताए। 

यही भदौ २ र ३ गते बस्ने पोलिटब्युरो बैठक र ५,६ र ७ गते बस्ने केन्द्रीय कमिटी बैठकमा निरन्तर रुपमा समाजवादी त्याग्नेहरुको संख्या किन बढ्यो? पार्टीमा नेता कार्यकर्ता किन टिकाउन सकिएन भन्ने विषयमा छलफल हुने उनले बताए। 

औचित्य पुष्टि नभएपछि फर्किन थाले : एमाले

नेकपा एमालेका सचिव योगेश भट्टराई एमाले विभाजन गरेर समाजवादी पार्टी स्थापना गर्नुको औचित्य पुष्टि नभएपछि एमाले नै फर्किन थालेको बताए। 

माधव नेपालले त्यतिबेला एमालेमा विद्रोह नभई विभाजन गरेको र उक्त विभाजनको औचित्य पुष्टि हुन नसकेपछि समाजवादी छाडेर नेता कार्यकर्ता एमाले नै फर्किन थालेको उनको भनाइ छ। 

‘पार्टीको नीति,सिद्धान्त विचार सबै एमालेकै हो,उहाँहरू आफ्नो केही छैन। एमाले समाजवादीमा भएकाहरुको योगदानबाट पनि बनेको पार्टी हो। त्यसैले समाजवादीको औचित्य पुष्टि नभएपछि उहाँहरु पुरानै घर फर्किनु भयो’,उनले भने। 

एमाले र समाजवादीको पार्टी एकता भने तल्लोस्तरमा मात्रै सम्भव रहेको उनको भनाइ छ। तल्लोस्तरको नेता र कार्यकतासँग एमालेले एकता गरे पनि माथिल्लोस्तरमा अहिले सम्भव नरहेको उनले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.