|

काठमाडौँ : नेकपा एमाले बागमती प्रदेश अधिवेशन सोमबारबाट सुरू भएको छ। 

देश संघीयतामा गएपछि पहिलो पटक एमालेले प्रदेश अधिवेशन गरिरहेको हो। एमालेले लुम्बिनी प्रदेशको अधिवेशनपछि बागमती प्रदेशको अधिवेशन थालेको हाे।

लुम्बिनी प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनविपरित निर्वाचन भएको थियो। अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष ओलीले सहमतिमा नेतृत्व टुंग्याउन मञ्चबाटै निर्देशन दिएका थिए।

‘सबै सहमतिमा बाहिर आउनुपर्छ, तपाईंहरू टुंग्याउनुहोस्। यति धेरै नेताहरू भएको अवस्थामा विवाद बाहिर नआओस्’, ओलीले भनेका थिए। उनकाे निर्देशनविपरित लुम्बिनी प्रदेशमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको उम्मेद्‌वार गुटगतरूपमा निर्वाचनमा होमिए। एकले अर्कालाई सर्वसम्मत गर्न नमानेपछि ओलीको निर्देशनविपरित निर्वाचन भएको थियो। 

लुम्बिनीमा निर्वाचन नगर्न निर्देशन दिएका ओलीले सोमबार बागमती प्रदेश अधिवेशनको उद्घाटनमा भने निर्वाचन गर्न 'ग्रीन सिग्नल' दिएका छन्। उनले 'सम्भव भए सर्वसम्मत गर्नू नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नू' भन्दै आकांक्षीलाई चुनाव लड्न सक्ने सङ्केत दिएका हुन्। 

ओलीले व्यक्तिले एकलरूपमा निर्वाचन लड्न पाउने तर समूह बनाए उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएका छन्। ‘यदि कुनै व्यक्ति चुनाव लड्न चाहन्छ भने लड्दा हुन्छ तर प्यानल बनाएको थाहा मात्रै भयो भने पुरै प्यानलको उम्मेदवारी खारेज हुन्छ’, उनले भने। 

अध्यक्षमा पाँच आकांक्षी

​एमाले बागमती प्रदेशको अध्यक्षमा पाँच जना आकांक्षी देखिएका छन्। अध्यक्षमा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल र नुवाकोटका केशवराज पाण्डेसहित नेताहरू चितवनका कृष्णभक्त पोखरेल र काठमाडौँका सानुकुमार श्रेष्ठ आकांक्षी देखिएका हुन्। 

आकांक्षीमध्ये ढुंगेल र मकवानपुरका कृष्ण दाहाल अगाडि देखिएका छन्। ढुंगेल बागमती प्रदेशको अघिल्लो कार्यकालमा आर्थिक मामिला तथा योजना मन्त्री थिए। 

रामेछापको तीन पटक पार्टी नेतृत्व सम्हालिसकेका उनी अहिले केन्द्रीय सदस्य छन्। रामेछापको संसदीय निर्वाचनमा चारपटक पराजित भएका उनी २०७४ को निर्वाचनमा भने प्रदेशसभामा निर्वाचित भएका थिए।

दाहालले मकवानपुरबाट २०४८, २०५१, २०५६, २०७४ मा प्रतिनिधिसभा सदस्यमा चुनाव जिते। उनी २०५१ सालमा कमल थापासँग पराजित भएका थिए। दाहाल प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा अर्थ समितिको सभापतिसमेत भइसकेका छन्। 

एमाले बागमती प्रदेशका वर्तमान अध्यक्ष पाण्डेलाई सर्वसम्मतिका लागि पार्टीको एउटा पंक्तिले प्रयास गरिरहेको बुझिएको छ। 

सानुकुमार श्रेष्ठ पनि एमाले बागमती प्रदेश आकांक्षीका रूपमा देखिएका छन्। अघिल्लो कार्यकालमा बागमती प्रदेशको सभामुख रहेका उनी पार्टीको केन्द्रीय कमिटीमा छैनन्।

ओलीको सिग्नलमा पोखरेलको इन्ट्री

​निर्वाचन गर्न पार्टी अध्यक्ष ओली कै सिग्नल पाएपछि अध्यक्षको दाबेदारीमा चितवनका कृष्णभक्त पोखरेलको इक्ट्री भएको बुझिएको छ। एमाले नेतृत्वले सकभर सहमतिमै प्रदेश कमिटीको नेतृत्व चयन गर्ने पक्षमा रहेका बेला ओलीको इच्छाअनुसार पोखरेलको इन्ट्री भएको हो। 

ढुंगेल, श्रेष्ठ, दाहाल र पाण्डेबीचमा सहमतिको प्रयास सफल हुने नदेखिएपछि सर्वस्वीकार्य व्यक्तिका रूपमा पोखरेललाई अघि बढ्न नेतृत्वले समेत ‘ग्रीन सिग्नल’ दिएको स्रोतको दावी छ। 

अध्यक्ष ओलीलाई आइतबार बिहान भेटेका पोखरेलले त्यसपछि दिनभर एमाले पार्टी कार्यालय च्यासलमा आफू निकटका नेता, कार्यकर्ता र केन्द्रीय नेताहरूसँग भेटघाट र छलफल गरेका स्रोतले बतायो। 

पोखरेल २ पटक संघीय सांसद, जिल्ला अध्यक्ष र कानुन समितिको सभापति भएर जिम्मेवारी निर्वाह गरिसकेका व्यक्ति भएकाले उनको नाममा सर्वसम्मत गराउने प्रयासमा अध्यक्ष ओली नै लागेको स्रोतको दावी छ। 

कसले मार्ला बाजी ? 

अध्यक्ष ओलीको ग्रीन सिग्नलसँगै पार्टीको प्रदेश अध्यक्षमा कसले बाजी मार्ला? भन्ने चासो बढेको छ। अहिले सर्वसम्मत या निर्वाचन के हाेला? अनि कसले नेतृत्व पाउला?  भन्ने चर्चा चुलिएकाे छ।

अध्यक्षका उम्मेदवारहरू भने आफ्नो पक्षमा भए सर्वसम्मत नभए निर्वाचन गर्ने मनस्थितिमा छन्। निर्वाचनमा होमिँदा हारको सम्भावना पनि हुने भएकोले उम्मेदवारहरू सकेसम्म सर्वसम्मत नै गर्ने पक्षमा छन् तर सर्वसम्मत आफ्नो पक्षमा नभए निर्वाचन मै होमिने उनीहरू बताउँछन्। 

अध्यक्षको आकांक्षीमध्ये श्रेष्ठ र पाण्डे सकेसम्म आफ्नो पक्षमा सर्वसम्मत गराउने नभए निर्वाचनमा नजाने मनस्थितिमा छन्। आफ्नो पक्षमा त्यति प्रतिनिधिहरू नभएकाले उनीहरू सर्वसम्मत नेतृत्व लिने दाउमा छन्।

श्रेष्ठ आफ्नो पक्षमा नै सर्वसम्मत हुने विश्वास रहेको बताउँछन्। ‘म पुरानो नेता भएकाले मेरो पक्षमा सर्वसम्मत हुन्छ जस्तो लाग्छ। नभए निर्वाचन गरेर मलाइ नै चाहिन्छ भन्ने पक्षमा म छैन’, उनले भने। 

अध्यक्ष ओलीको चाहानामा अध्यक्षको आकांक्षीमा इन्ट्री गरेका पोखरेल पनि आफ्नो पक्षमा सर्वसम्मत हुने बताउँछन्। बलिया दाबेदार देखिएका ढुंगेल र दाहाल भने आफ्नो पक्षमा सर्वसम्मत नभए निर्वाचनमा होमिने मनस्थितिमा छन्। ‘९९ प्रतिशत मेरो पक्षमा सर्वसम्मत हुन्छ भन्ने मलाइ लागेको छ। भएन भने निर्वाचन गर्ने भनेर मानसिक रूपमा म तयार भइसकेको छु’, ढुंगेलले भने। 

पार्टीको बागमती प्रदेश अध्यक्षमा दुई जना केन्द्रीय सदस्य उम्मेद्‍वार बन्ने निश्चित भइसकेको दाहाल बताउँछन्। ‘प्रतिनिधि नै भएर तल झरेर आएका हुनाले दुई जना केन्द्रीय सदस्यहरू उम्मेद्‌वार बन्ने निश्चित छ। तल झरेर आइसकेपछि अर्काको नाममा सर्वसम्मत छोड्ने भन्ने हुँदैन’,दाहालले भने। 

उनले ढुंगेल र आफूबीच पार्टीको प्रदेश अध्यक्षका लागि कडा प्रतिष्पर्धा हुने बताए। सर्वसम्मत नेतृत्व चयन गर्ने पक्षमा आफू पनि रहेको तर सम्भव नदेखिएकाले निर्वाचन हुने उनको भनाइ छ। 

बागमती प्रदेश अधिवेशनका लागि १३ जिल्लाबाट एक हजार एक सय ३८ प्रतिनिधि सहभागी छन्। अधिवेशनका लागि काठमाडौँबाट १३२ जना, काभ्रेबाट १२५ र मकवानपुरबाट १०६ जना छनाेट भएका थिए। 

त्यसैगरी धादिङबाट ८७, चितवनबाट ८५ , रामेछापबाट ८१, भक्तपुरबाट ६६, सिन्धुलीबाट ६६, दोलखाबाट ६५, सिन्धुपाल्चोकबाट ६४, नुवाकोटबाट ६४, ललितपुरबाट ५० र रसुवाबाट २७ जना छन्। जनसंगठनका तर्फबाट ९५ जना प्रतिनिधि छनाेट भएका जनाइएकाे छ।

कुन पदमा को आकांक्षी ?

अध्यक्ष – केशव पाण्डे, सानुकुमार श्रेष्ठ, कैलाश ढुंगेल,कृष्णप्रसाद दाहाल र कृष्णभक्त पोखरेल

​उपाध्यक्ष – ईश्वरचन्द्र पोखरेल, कुमार खकुरेल, रामहरि सुवेदी, भूमि त्रिपाठी, मधुसुदन पौडेल, दावा दोर्जे लामा, नारायण खतिवडा, महेश बर्तौला, नवराज सिलवाल, विजय सुवेदी

​सचिव –सुभाष कर्माचार्य र हस्त पण्डित 

उपसचिव –डबल पाण्डे, खड्ग खत्री, कञ्चन अधिकारी, भाष्कर प्रधानांग, उपेन्द्र पौडेल, रत्न गुरूङ, रमेश आचार्य, कालिका पाठक, राधिका सापकोटा, भक्तकुमारी लामा, अशोक चौलागाईं, गीता बञ्जारा​
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.