दोस्रो पुस्ताका नेताहरू भन्छन् : अब उहाँले विश्राम लिनुपर्छ
दोस्रो पुस्ताका नेताहरू भन्छन् : अब उहाँले विश्राम लिनुपर्छ
काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताहरु आफू बलियो बन्ने रणनीति बनाइरहेका छन्। केही नेताहरु पदाधिकारी ताकेर अहिले हल्ला गरेभन्दा तल्लो पदमा उम्मेदवार बन्न 'बार्गेनिङ' गरिरहेका छन्। यसपटकको महाधिवेशन कांग्रेसका लागि निकै महत्वपूर्ण भएको नेताहरु नै बताउँछन्।
‘कांग्रेसको लागि यो महाधिवेशन निकै महत्वपूर्ण छ,’ केही दिनअघि थाहाखबरसँग कुरा गर्दै युवा नेता गगन थापाले भनेका थिए, ‘अहिले सक्षम नेतृत्व आएन भने भोलि कांग्रेस खोज्नुपर्ने अवस्थामा पुग्छ। त्यसैले अहिले पुराना नेतालाई सम्मानका साथ राखेर सल्लाह लिइ दोस्रो पुस्ताले पार्टीको नेतृत्व लिनुपर्छ।’
उनले जनतालाई भरोसा लाग्ने कांग्रेसको नेतृत्व चाहिएको पनि बताए। ‘यति धेरै जनमत पाएर पनि काम नगरेको शक्ति संघर्षमा रुमल्लिएको नेकपाको विकल्प कांग्रेसबाहेक अरु हुनै सक्दैन,’ उनले भने, ‘अब कांग्रेसको नेतृत्व जनताले भरोसा गर्ने, जनभावना बुझ्ने नै आउँछ।’ त्यसो त नेता गगन, चन्द्र भण्डारी, धनराज गुरुङसहित १२ जना युवा नेताले आफ्नो समूह नै बनाइसके छन्।
१४ औँ महाधिवेशनमा सभापतिको लागि धेरै आकांक्षी छन्। जस्तो की कांग्रेसमा अरु पद ‘उपसभापति, महामन्त्री, कोषाध्यक्षलगायत पदमा केही काम नै छैन’ जसरी सभापतिमा दाबी गर्नेहरु धेरै भएका छन्। एक दर्जन नेताहरु सभापतिमा आफू नै उम्मेदवार हुने बताएका छन्।
त्यति मात्रै होइन, उनीहरुले सभापति शेरबहादुर देउवालाई हराउन आफूले मात्रै सक्ने पनि बताएका छन्। कांग्रेसका संस्थापक बिपी कोइरालाका छोरा तथा कांग्रेसका महामन्त्री शशांकले पनि ‘शेरबहादुरलाई हराउन म बाहेक कसैले सक्दैन’ भन्दै आएका छन्।
उनकै दाजु शेखर पनि यस अघि छोडेर आफूले भूल गरेकाले यसपाली कुनै हालतमा सभापति पदमा लड्ने बताउँदै आएका छन्। यता कांग्रेसका अर्का संस्थापक गणेशमान सिंहका छोरा प्रकाशमान पनि आफू सही उम्मेदवार रहेको बताउँछन्।
देउवाविरुद्ध ठूलै साहसका साथ उत्रिएका उपसभापति विमलेन्द्र निधि पनि १५ औँ महाधिवेशनमा आफ्नो पुस्ताको पालो नआउने निचोडमा पुगेका छन्। ‘कांग्रेसका पुराना नेता महेन्द्र नारायण निधिको छोरा भएर विमलेन्द्र कांग्रेसमा टिकेको होइन,’ विमलेन्द्र निधिनिकट नेता भन्छन्, ‘यो बाहिर भनिए जसरी देउवालाई धम्क्याउन, अरुलाई सजिलो बनाउन गरिएको काम होइन। यसपाली निधिले चुनाव लड्छन्।’
कांग्रेसमा देउवा, पौडेल र कृष्ण प्रसाद सिटौला नै पुन सभापतिको उम्मेदवार हुने आँकलन पनि भइरहेका छन्। गगन थापाले त सभापति लड्छु भन्ने पाका नेताहरुले केको लागि लड्दै छु भनेर एजेन्डासमेत प्रस्तुत गर्न नसकेको बताउँदै आएका छन्।
गगनले मात्रै होइन, कांग्रेसका दोस्रो पुस्ताका नेताहरु धनराज गुरुङ, गुरुराज घिमिरेहरूले पनि नेताहरुले एजेण्डा प्रस्तुत गर्न नसकेको बताउँदै आइरहेका छन्। हुन पनि अहिलेसम्म सभापति लड्न आकांक्षी दर्जन नेतामध्ये रामचन्द्र पौडेलले भने एजेण्डाको खाका प्रस्तुत गरेका छन्।
सभापतिको उम्मेदवारका मुख्य आकांक्षी वरिष्ठ नेता पौडेलले १४ औँ महाधिवेशन केन्द्रीत गरेर १० वटा एजेन्डाहरू सार्वजनिक गरेका हुन्। ‘मैले नारा मात्र नलगाएको हो। भन्ने कुरा धेरै भनेको छु, गर्ने काम पनि धेरै गरेको छु । प्रचारको कमी हुन सक्छ’ उनले भनेका छन्।
१) नेपालको वर्तमान संविधान लागु गर्ने
२) नेपाली कांग्रेसको विधान पालना गर्ने गराउने
३) नेपालको उन्नतिको बाटो देखाउने
४) नेपालमा सुशासन लागू गराउने
५) नेपालको असंलग्नता र तटस्थतालाई बचाउने
६) नेपाली कांग्रेसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउने
७) कम्युनिस्ट भ्रम र शब्दजालबाट नेपाली जनतालाई मुक्त गराउने
८) नेपाली जनतामा देशभक्तिको भावना जगाउने
९) नेपाली संस्कृति परम्परा र नेपाली विशेषताको पहिचान गराउने
१०) नेपाली कांग्रेस विचार शून्य र दिशाविहीन छैन भन्ने सावित गराउने
वरिष्ठ नेता पौडेलले एजेण्डा सार्वजनिक गरिसकेपछि विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेका छन्। थाहाखबरले सभापतिकै आकांक्षी तथा पौडेल समूहका केही नेतालाई सोध्दा उनीहरुले एजेण्डा ल्याएर मात्रै नहुने र चुनाव जित्नुपर्ने बताए।
‘रामचन्द्र दाइले सभापति लड्दै गर्दा ल्याएको एजेण्डा कहिले चाहिँ नराम्रा थिए?,’ एक नेता भन्छन्, ‘अब पनि उहाँ नै चुनाव लडिरहनु भयो भने पार्टी ध्वस्त भएर देउवाको कम्पनी हुने पक्का छ। अब रामचन्द्र दाइले आराम गर्नुपर्छ। हामी भन्दा पछाडिको टोली दाबी गर्न आइसक्यो सधैँ ओगटेर भएन नि।’
अर्का नेता भन्छन्, ‘एजेण्डा मात्रै होइन, नेतृत्व क्षमता पनि चाहियो। अब रामचन्द्र दाइले कांग्रेस कसरी बलियो बनाउने सोच्न पर्याे, त्यसका लागि आफूले बाटो खाली गरिदिन पर्यो।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।