राजनीतिक विश्लेषक भन्छन् : नेकपाको विवाद समाधानउन्मुख छैन

|

विराटनगर : पार्टी विघटनको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै अध्यक्षइतरका नेताहरु अहिले पार्टीभित्र बहुमत बलियो बनाउने दौडधुपमा लागेका छन्। 

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा त्यसैगरी अर्को अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका नेताले समेत तल्लो तहसम्म आफ्नो बहुमत भएको दाबी गर्न गुटका भेला तीव्र पारेका छन्।

केन्द्रीय तहमा देखिएको विवाद जिल्ला तहसम्म पुगेको छ। एकले अर्को गुटलाई निषेध गदै छुट्टाछुट्टै रुपमा भेला आयोजना गर्ने कार्यमा नेकपाका नेता कार्यकर्ता पुगेका छन्। 

अघिल्लो दिन शनिबार मोरङको सुन्दरहरैंचा नगरपालिकाको गछियामा अध्यक्ष केपी ओली निकटको गुटसम्बद्ध युवाको भेलाको आयोजना गरिएको थियो।

अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने नेकपाका केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले कार्यक्रमलाई सम्बोधन गरेका थिए। ओलीपक्षीय युवाको भेलालाई ‘पार्टी फुट्न नभएर जुट्न दबाब’ दिन आयोजना गरिएको भनिएको थियो।

भेलामा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका नेता तथा कार्यकर्तालाई निषेध गरिएको थियो। कार्यक्रममा युवा संघका सहसंयोजक रमेश पौडेल सहसंयोजक, मदन भण्डारी फाउन्डेसन प्रदेश १ संयोजक गोपाल गुरागाईं, संघका पूर्वसचिव वचनबहादुर सिंह पूर्वउपाध्यक्ष पर्शुराम बस्नेत, नेता रवीन थापा, राजु कार्की, उर्मिला सुनार, रोशन बस्नेतलगायत सहभागी थिए।

अनेरास्ववियू स्थायी कमिटी सदस्य भाष्कर खनालका अनुसार ‘पार्टी एकीकरण सम्बन्धमा दबाब समूह’ को नामबाट कार्यक्रम आयोजना गरिएको हो। युवा नेता खनालले भने, ‘युवा साथीहरुको निक्कै ठूलो उत्साह र सहभागिताबीच कार्यक्रम सम्पन्न भएको छ।’ उनले कार्यक्रममा एकपक्षीय सहभागिता नै गराइएको बताए।

कार्यक्रममा ओली गुट समर्थक झापा, सुनसरी र मोरङका युवाको सहभागिता थियो। ओली पक्षको युवा भेला भएको भोलिपल्ट आज प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमकमा नेकपाका अध्यक्ष प्रचण्ड–नेपाल समूहले विद्यार्थीको भेला बोलाएको छ।

भेलामा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, नेकपाका केन्द्रीय सदस्यहरु महेश रेग्मी, शिवकुमार मण्डल, अनेरास्ववियुका केन्द्रीय सहसंयोजक रन्जित तामाङ, पूर्व केन्द्रीय सचिव वसिम आलम, अनेरास्ववियुका केन्द्रीय सदस्य सुदेश पराजुलीलगायतको सहभागिता थियो। भेलामा अध्यक्ष प्रचण्ड–नेपाल समूहसमर्थित विधार्थीका सहभागिता भयो। भेलामा फरक गुटका विद्यार्थीलाई निमन्त्रणा गरिएको थिएन।  

आइतबार प्रधानमन्त्रीको गृहनगरमा आयोजना भएको विद्यार्थी भेला प्रदेशस्तरीय अनेरास्ववियूका केन्द्रीय सचिव वसिम आलमले जानकारी दिए। नेता माधवकुमार नेपाल गुटका मानिने आलमले मंगलबार विराटनगरमा हुने विद्यार्थी र युवाको भेला जिल्लास्तरीय हुने जानकारी दिए।

नेकपाको केन्द्रको विवादको आगो तल प्रदेश र पालिकास्तरसम्म नै सल्किन पुगेको छ। अझ राजनीतिक रुपमा ओली पक्षकै बहुमत रहेको प्रदेश १ मा एकले अर्को पक्षलाई काउन्टर दिने राजनीतिक कार्यक्रम आयोजना हुन थालेका छन्।

पहिले ओली पक्षले कार्यक्रम गर्ने र त्यसलगत्तै प्रचण्ड–नेपाल पक्षले काउन्टर दिने गरेका हुन्। पार्टीको गुटमा मात्र नभएर गुटगत रुपमा पार्टीका भ्रातृ संगठनको भेलाको असर पनि क्रमशः गाउँदेखि सहरमा देखिन थालेको छ। 

प्रधानमन्त्री केपी ओली आफैं सहभागी भई केहीअघि शुरु भएको गुटको भर्चुअल भेला लगत्तै प्रचण्ड–नेपाल समूहले इटहरीमा भौतिक उपस्थिति सहितको राजनीतिक कार्यक्रम आयोजना गरिदियो।

पूर्वमन्त्री तथा हालका संघीय सांसद शिवकुमार भण्डलको प्रमुख आतिथ्यमा प्रचण्ड–नेपाल निकटका नेता कार्यकर्ता सहभागी भएको छलफल कार्यक्रमबाट स्थायी कमिटी र सचिवालय बैठकमा नेतालाई एकताको लागि दबाब दिन आयोजना गरिएको भनियो।

यसअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले विराटनगर आएर आफूपक्षीय भेला राखेका थिए। त्यो कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको पनि सहभागिता थियो। भेलामा प्रचण्ड–नेपाल पक्षका विद्यार्थीलाई डाकिएको थिएन।

नेकपा मोरङका सचिव गणेश उप्रेतीले मोरङ र झापाको दमकमा गुटका बेग्लाबेग्लै गरिएको भेलाबारे पार्टी कमिटीलाई कुनै औपचारिक रुपमा जानकारी नभएको बताएका छन्। गत सोमबार विराटनगरमा अध्यक्ष तथा प्रधानमन्त्री ओली समूहनिकट विद्यार्थीहरुको भेला सम्पन्न भएको थियो। 

राजनीतिक विश्लेषक कृष्ण पोखरेलले नेकपा भित्रको गुटगत राजनीतिले पार्टीलाई संकटतर्फ अघि बढाउने संकेत गरेको बताए। उनले नेकपा भित्रको विवाद नेताहरु समाधान गर्नतर्फ भन्दा पनि चर्काउन लागेको देखिएकाले यथास्थितिमा नेकपा भित्रको विवाद तत्काल समाधान हुने बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.