धादिङ : शनिबार दिउँसोदेखि हिमपात हुँदा धादिङको रुबीभ्याली गंगाजमुना, खनियाबास र नेत्रावतीडवजोङ गाउँपालिकाका विभिन्न स्थान सेताम्मे भएका छन। जिल्लाका उच्च भागमा हिमपात भएको हो।
तिप्लिङ, लापा, सेर्तुङ, झार्लाङ, दार्खा, रिगाउँ, गुम्दी, फूलखर्क, मार्पाक, सेमजोङ र बसेरीका साथै नीलकण्ठ नगरपालिकाको धुवाकोट रजुरेथुम लगायतका स्थानमा हिमपात भएको स्थानीयले बताएका छन्।
हिमपातका कारण उत्तरी धादिङको उच्च भागमा पर्ने लब्दुङ, लिंङजो, ठूलोगाउँ, नेवेर, लापा, कपुरगाउँ खादीङ, झार्लाङ र गंगाजमुनाको पोखरा लगायतका गाउँक्षेत्र हिउँले ढाकिएर सेताम्मे भएको छ।
शनिबार दिउँसोदेखि हिमपात हुन थालेपछि यस भेगका अधिकांश मानिस घरभित्रै बसिरहेका छन्। धादिङका उच्च पहाडी भेगमा यो वर्ष पहिलोपटक हिमपात भएको हो।
शनिबार बिहानदेखि परेको सिमसिम पानीले धादिङ जिल्लाको सदरमुकाम र अन्य स्थानमा समेत अत्याधिक चिसो बढेको छ।
गाउँबस्ती हिउँले ढाकिएपछि उत्तरी धादिङको जनजीवन कष्टकर भएपनि किसानहरू भने खुसी भएको लापाका सामाजिक कार्यकर्ता पुरन तामाङले बताए।
हिमपातले जनजीवन अत्यन्तै कष्टकर बनेपनि खेतबारीमा लगाइएको गहुँ, जौ लगायतका बालि राम्रो हुने स्थानीयले बताएका छन्। समयमै परेको हिउँले माटो मलिलो बनाउने भन्दै किसान भने खुसी भएका हुन्। हिमपातपछि हिमाली भेगमा खेतीपाती फस्टाउँछ।
माथिल्लो लेक क्षेत्रमा हिमपातका कारण अत्यधिक चिसो बढ्ने भएकाले त्यहाँ चराउन लगिएका भेडा, बाख्रा, चौरी, खच्चर लाई चिसोबाट बचाउन तल्लो भेगमा झार्न थालिएको छ।
पानीसँगै हिउँ पर्न थालेपछि हिमाली भेगका जनजीवन कष्टकर बन्दै गएको छ। त्यहाँका सर्वसाधारण बाहिर निस्कन सकिरहेका छैनन्। जिल्लाको सबै भू–भागमा शुक्रबार र शनिबार दिनभर घाम लागेको थिएन। महाभारत र बेंसी भेगमा दिउँसोतिर हल्का वर्षा भएको थियो।
तस्वीरहरू :
तपाईंको ईमेल गोप्य राखिनेछ ।