|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवस, आज (बिहीबार) नेकपा एमाले र माओवादी केन्द्रलगायत दलले विभिन्न कार्यक्रम गरे।

दिवसकै दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले एक–अर्काप्रतिको विगतको 'तुष' पनि पोखे। 

यसअघि तत्कालीन नेकपामा हुँदा एकले अर्कोलाई सिध्याउन लागिपरेका उनीहरू सर्वोच्च अदालतको आदेशपछि दुई पार्टीमा पहिलेकै हैसियत एमाले र माओवादी केन्द्रमा पुगेका थिए। त्यसको केही महिनापछि आज भएका दुई छुट्टाछुट्टै कार्यक्रममार्फत उनीहरूले सच्चा कम्युनिष्ट आफू नै भएको र अर्कोबाट खतरा उत्पन्न भएको बताएका छन्।

त्यतिमात्र होइन ‘प्रचण्ड’ले त प्रधानमन्त्रीसमेत रहेका ओलीतर्फ संकेत गर्दै विदेशी शक्तिको आडमा नेपालको संविधान मिच्ने काम भएको आरोप लगाए। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले यसअघि नेकपामा आफूहरूले ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेको भए पनि एक तिहाइ लिएर बसेकाहरूले विदेशी शक्तिको आडमा संविधान, कानून र सबै मूल्यमान्यता मिचेको आरोप ओलीमाथि लगाए। शक्ति सन्तुलन आफूहरूको पक्षमा नभएकाले नेकपा विभाजन रोक्न नसकिएको उनको भनाइ थियो। 

त्यसको जवाफमा प्रधानमन्त्री ओलीले आफूलाई माटोमा मिलाइदिने नीति बोकेर हिँडेकाहरूको सपना पूरा हुन नसकेको टिप्पणी गरे। दिवसको अवसरमा बल्खुस्थित पार्टी कार्यालय शिलान्यास कार्यक्रममा ओलीले केही व्यक्तिहरूको चरम महत्वाकांक्षा, कसैले नेतृत्व गरेको देख्न नसक्ने, सफलताको चर्चा गरेको सुन्न नसक्ने र संकीर्ण प्रवृत्तिले संगठित रुपमा आफूमाथि हमला गरेको आराेप लगाए।

ओलीले तत्कालीन नेकपामा हुँदा प्रचण्डसँग मिलेर वरिष्ठ नेता माधवकुमार नेपालले गरेका गतिविधि स्मरण गर्दै अहिले पार्टीमै बसेर अर्को गुटगत गतिविधि जारी राखे पनि कारबाही नगरेको तर्क गरे। तर यस्तै गतिविधि जारी रहे सहेर नबस्ने पनि उनले चेतावनी दिए। 

त्यसको केही घण्टापछि नै प्रधानमन्त्री ओली र नेता नेपालबीच काठमाडौंको नक्सालस्थित होटेल मेरियटमा पुनः भेटवार्ता भयो। करिब २ घण्टा लामो भेटघाट सकारात्मक भएको प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार मोतिलाल दुगडले जानकारी दिए। तर नेता नेपालले ओलीसँगको भेटमा कुनै प्रगति नभएको प्रतिक्रिया दिए। ‘भेटवार्ता सकारात्मक भयो। 

वार्तापछि बाहिरिँदै गरेका नेपालले पत्रकारहरुसँग टाढैबाट हात हल्लाएका थिए। साथै उनले त्यहीँ कुराकानीमा कुनै प्रगति नभएको जनाउ दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.