|

लहान : साविक सुखीपुर नगरपालिका कायम गराउन माग गर्दै सुखीपुर नगरपालिका बचाउ संघर्ष समितिको आह्वानमा सुखीपुर गाउँपालिका कार्यालयको मूल गेटमा ६ जनाले अनिश्चितकालीन आमरण अनशन थालेका छन्।

संघर्ष समितिका संयोजक बिपी भुवन यादवसहित सदस्यहरु रामभरोस साह, हरेराम यादव, रामकिसुन यादव, बिन्देश्वर पँजियार र रामकुमार यादव रहेका बुधबार अपराह्नदेखि अनिश्चितकालीन आमरण अनशनमा बसेका हुन्। नगरपालिका कायम गराउन गाउँपालिका कार्यालयमा तालाबन्दी, धर्ना जिल्ला समन्वय समितिमा ज्ञापन पत्र, पूर्वपश्चिम सडक खण्डको अवरोध, स्थानीय बजार वित्तीय संस्था बन्द गर्दा समेत सुनुवाइ नभएपछि आमरण अनशन सुरु गरिएको संघर्ष समितिका संयोजक यादवले बताए।

वि.सं.२०७२ असोज १ गते नेपाल सरकारको निर्णयअनुसार तत्कालीन सुखीपुर गाविसमा छिमेकी मोहनपुर कमलपुर, कविलासी, विद्यानगर, लर्कनहा, बलही र सिलोर्वा पछवाडीलाई गाभेर सुखीपुर नगरपालिका घोषणा गरिएको थियो। करिब १७ महिना नगरपालिकाको रुपमा कामकाज गर्दै आएको सुखीपुरलाई गत फागुन २७ गते स्थानीय तहको पुनःसंरचनामा गाउँपालिका बनाइएपछि संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्दै आएको छ। 

मन्त्रिपरिषद्बाहेक हामीले सक्दैनौं : एलडिओ

जिल्ला समन्वय समिति सिरहाका संयोजक तथा स्थानीय विकास अधिकारी सुरेशकुमार राउतले साविकको नगरपालिका कायम गराउन मन्त्रिपरिषद्बाहेक आफूहरुले नसक्ने जानकारी दिँदै त्यसका लागि पत्राचार गरिसकेको बताए। ‘स्थानीय तहको पुनःसंरचनामा सुखीपुरलाई गाउँपालिका कायम गरिएपछिको समस्याको विषयमा पत्राचार गरिसकेका छौं, मन्त्रिपरिषद्को निर्णय पर्खिनुको विकल्प छैन।’

त्यस्तै, सिरहा नगरपालिकाको वडा नं. १८ लक्ष्मिनियाँ, वडा नं. १९ सन्हैठा, वडा नं. २० लगडिगदियानी र वडा नं. २२ हकपारासहित औरही गाउँपालिकामा परेको इँटाटार कृष्णपुरका बासिन्दाले छुट्टै गाउँपालिका माग गरेको विषयमा पनि माथिल्लो निकायमा पत्राचार भइसकेको स्थानीय विकास अधिकारी राउतले बताए।

६ नगरपालिका, ११ गाउँपालिका

स्थानीय तहको पुनः पुनःसंरचनासँगै सिरहामा साविकका लहान, धनगढीमाई, सिरहा, गोलबजार, मिर्चैयालाई नगरपालिका कायम गर्दै सिरहाको पश्चिमवर्ती क्षेत्रका साविकका कल्याणपुर जब्दी, अर्नामा प्र.रा., चतरी, इटारी प्रसाही, डुमरी, मझौलिया, चिकना, विष्णुपुर प्र.रा., भोक्राहा, बेलहा र भेडियालाई गाभेर कल्याणपुर नगरापालिका बनाइएको छ।  

स्थानीय तह पुनःसंरचनाअघि ६३ गा.वि.स. र ६ नगरपालिका कायम रहेको सिरहामा कल्याणपुरलाई नयाँ नगरपालिका बनाइएपछि बाँकी रहेका ५२ मध्ये गाढा र गोविन्दपुर मलहन्मा लहान नगरपालिकामा गाभिएका छन् भने ५० वटा गा.वि.स.लाई ११ गाउँ पालिका बनाइएको छ । सिरहामा भगवानपुर, औरही, विष्णुपुर, सुखीपुर, कर्जनहा, बरियारपट्टि, लक्ष्मीपुर पतारी, नरहा, सखुवानन्कारकट्टी, अर्नामा र नवराजपुरलाई गाउँपालिका बनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.