|

प्रिय भाइ/बहिनीहरू                                                                                 

मीठो सम्झना अनि धेरै माया।

‘म आज जे छु, मैले हिजो गरेको कर्मको कारणले छु' - स्टेफन कोबे।

सर्वप्रथम तपाईंहरूलाई परीक्षामा सफलताका लागि धेरै धेरै शुभकामना छ, अनि सँगसँगै बधाई पनि किनकी तपाईंको परिवारमा आज तपाईं एक जिम्मेवार र परिपक्व सदस्यको भूमिकामा उभिने क्रममा हुनुहुन्छ। जीवन रमाइलो छ। प्राज्ञिक जीवनको लामो संघर्षको यात्रामा तपाईं निस्कन लाग्नु भएको छ।

बिहानीले दिनलाई दिशानिर्देश गर्दछ भने झै यस पावन भूमिमा जन्मी, हुर्की, बढी, पढी आज एसइई ग्र्याजुयट हुने क्रममा भाइ/बहिनीहरूलाई आजको यो महत्वपूर्ण दिनको अर्थ पक्कै थाहा हुनेछ। मलाई लाग्छ अहिलेसम्मको तपाईंको जीवनयात्रामा तपाईं अभिभावक र साथीहरूको सहयोगमा आफ्नै गतिमा हिँडिरहनु भएको थियो होला।  तर आउने भविष्यमा तपाईंको आफ्नै योजना, आकांक्षा, सपना र गन्तव्य त छँदैछन्, सँगसँगै परिवार समाज र देशप्रति समेत तपाईंका केहि कर्तव्य र जिम्मेवारीहरू पनि रहनेछन्।

'पुरानो कोट लगाउ र नयाँ पुस्तक किन' – थोरो।

जसरी थोरोको यस प्रसिद्ध भनाईबाट ज्ञानको भोक जागृत हुन पुग्छ, त्यसरी नै आमाबुबाले अति परिश्रमका साथ व्यवस्थापन गर्नु भएको खाना, नाना, छाना, औषधीमुलो, विद्यालय लगायतको शुल्क, पुस्तक, हजुरबुबा/हजुरआमाले सुनाउनु भएको गीत/कथा/कविता र गुरुले खियाउनु भएको तीनवटा औँलाको सार्थकता तपाईंहरूको उज्ज्वल भविष्य सँगसँगै अध्ययन अनुसन्धानपश्‍चात् सबल राष्ट्र निर्माणमा तपाईंहरूबाट भविष्यमा गरिने योगदानबाट मात्रै सार्थक हुन्छ।

आज म तपाईंहरू समक्ष एक सचेत नागरिक र जिम्मेवार प्रहरी अधिकारीको हैसियतले केहि कुराहरू राख्न चाहन्छु। मलाइ लाग्छ तपाईंहरूबाट यसमा सकारात्मक पहलका लागि निरन्तर साथ प्रदान हुनेछ।

तपाईंहरूलाई थाहा नै होला, लागू औषधको अवैध ओसारपसार र दुर्व्यसनले आज हाम्रो घर, परिवार, समाज र देशलाई मात्र नभएर पुरै विश्‍वलाई नै नराम्रोसँग गाँजिरहेको छ। सामान्यतया तपाईंहरूको उमेर (१३ वर्षदेखि १९ वर्षसम्म) का युवा तथा उर्जावान दाजु-भाइ /दिदी-बहिनीहरू लागू पदार्थको कुलतमा डुबेका पाइन्छन् र आफ्नो जीवनलाई कष्टकर बनाइरहेका छन्।

 तपाईं हामी सबैले बुझ्ने भाषामा भन्दा लागू पदार्थको दुर्व्यसन भनेको चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह वा परामर्श बिना आफूखुशी औषधी प्रयोग गर्ने तथा कानूनले लागू औषध भनी परिभाषित गरी निषेध गरेको पदार्थको प्रयोग गर्ने कार्य वा प्रवृत्ति हो। कुनै व्यक्तिलाई सधैंभरी लागू औषधको सेवन गरिरहनु पर्ने अवस्थाको श्रृजना हुनु र सेवन गर्ने व्यक्तिको मानसिक र शारीरिक अवस्थामा परिवर्तन आउने कार्य नै दुर्व्यसन हो।

 तसर्थ, लागू औषध कसैले पनि प्रयोग नगरौं। प्रयोग गर्ने गरेको भए आजैको दिनबाट बन्द गरौं। लागू औषधको उत्पादन, ओसार-पसार, भण्डारण, खरिद- बिक्री तथा सेवनजन्य कार्य दण्डनीय अपराध (पन्ध्र वर्षदेखि जन्म कैदसम्म र पाँच लाख रुपैयाँदेखि पच्चीस लाख रुपैयाँसम्म जरिवाना) हुने भएकोले यस्ता कार्य कसैले पनि नगरौ। लागू औषध दुर्व्यसनको कारणले मानिसको अकालमा ज्यान जान सक्छ, परिवार तहसनहस हुन सक्छ, त्यसैले यसबाट हामी सधैं टाढै रहौं। आफन्तजन, मित्र जन लगायत स्वजनहरूको सदैव हित हुने कार्यमा  आफू र आफन्तहरूलाई अहोरात्र सहयोग गरौँ। साथीहरूको देखासिकी, नक्कल गर्ने तथा फेसनको रूपमा लागू औषधको प्रयोग कहिल्यै नगरौं। कानूनले प्रतिबन्ध लगाएका लागू औषधको प्रयोगलाई निरूत्साहित गरौं।

जिल्ला प्रहरी परिसर काठमाण्डौको आ.व. २०७८।०७९ को श्रावणदेखि चैत्र ९ महिनासम्मको अभिलेखलाई मध्यनजर गर्दा लागूऔषधसम्बन्धी कसुरका २६८ मुद्दा दर्ता गरिएको, ३७८ जना पक्राउमा परेका तथा डाइजेपाम-११,३६३ एम्पुल, फेनारगन-१२,४०६ एम्पुल, नुर्फिन-१०,९४० एम्पुल, नाइट्राभेट ट्याब्लेट-३२,०६९, गाँजा-६६ के.जि., चरेस १३ के.जि., खैरो हिरोइन-२३४ ग्रामलगायत विभिन्न प्रकारका लागू औषध बरामद गरिएको पाइन्छ।

व्यक्तिगत समस्याबाट टाढा रहन तथा तनाव कम गर्न लागूऔषधको साहारा कहिले पनि नखोजौँ। यो गलत हो। साथीभाइको करकाप, पारिवारिक समस्या तथा पढाइमा असफलताको कारणबाट लागूऔषधको प्रयोग भुलेर पनि नगरौं। सामान्य व्यक्तिलाई भन्दा लागू औषधको प्रयोग गर्ने व्यक्तिमा फोक्सोको क्यान्सर, स्नायु ग्रन्थी सम्बन्धी समस्या, मुटु सम्बन्धी रोग, कुपोषण, महिलालाई महिनावारीमा समस्या तथा विभिन्न श्‍वास प्रश्‍वास सम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ भन्ने कुरा अध्ययन अनुसन्धानले देखाएको छ। यसबाट यो कति भयावह छ भन्ने स्पष्ट पार्ने भएकोले लागू औषधको कुलतबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ। आजको यो पवित्र र विशेष दिन (एसइई परीक्षाको अन्तिम दिन) मा तपाईंहरूलाई लागू औषध विरुद्धको यहि सन्देश दिन चाहन्छु।

त्यस्तै प्रकारले साइबर अपराधमा पनि तपाईंका उमेर समूहका भाइ बहिनीहरू जानी नजानी धेरै नै संलग्न भएको पाइन्छ। भनिन्छ; कानूनको अज्ञानता क्षम्य हुँदैन र समाजका सम्पूर्ण नागरिकले कानून जानेकै हुन पर्ने परिकल्पना गरिएको पाइन्छ।

तसर्थ, सामाजिक सञ्जाल: फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, ह्वाट्सयाप, लगायतका पेज र वेबसाइटहरू प्रयोग गर्दा समेत घ्यान पुर्‍याउन हुन तथा आफ्ना साथीहरूलाई छेड खानी ( साइबर बुलिङ) गर्ने, हैरानी दिने, अरुको गोपनीयता भंग गरिदिने, सोसल साइट ह्याक गरिदिने, अनाधिकृत तवरले अरुको वेव साइटलाई ह्याक गर्ने, विभिन्न प्रकारका अनलाइन गेममा संलग्न भई आफू र आफन्तजनको समयलाई नष्ट गर्ने, धन सम्पत्तिको बर्वादी गर्ने जस्ता कार्यबाट टाढै रहौँ।

साइबर अपराधको कसूरमा संलग्न उपर पाँच वर्षसम्म कैद र दुई लाखसम्म जरिवाना हुने प्रावधान रहेकोले आफू जोगिई अरुलाई जोगाउनु नै बुद्धिमतापूर्ण हुनेछ। जसरी अलि-अलि पौडन सिकेको पौडि बाजले सावधानीपूर्वक मात्रै नदी र समुन्द्रमा पौडनु उचित हुन्छ, त्यसरी नै तपाईंहरूले सामाजिक सञ्जाल आदिको प्रयोग गर्दासमेत हरहमेसा सावधानीपूर्वक समाजको वृहत्तर हितमा गर्नु हुनेछ।

मातृ देवो भव ! पितृ देवो भव !! गुरु देवो भव!!! को आदर्श वाक्यलाई हृदयङ्गम गरी सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूले जसरी माता, पिता र गुरुको आदर सम्मान गरी आफ्नो भविष्यलाई उज्ज्वल बनाउनेतर्फ आफ्नो बालापनलाई खर्चनु भएको छ, त्यसरी नै आउने दिनहरूमा समेत उपर्युक्त आदर्श वाक्यको मर्मलाई आत्मसात गरी सुनौलो भविष्य कोर्न हुन पनि तपाईंहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु।

जसरी नङ र मासुको सम्बन्ध प्रगाढ छ, त्यसरी नै जनता र प्रहरी बीचको सम्बन्ध रहेको हुन्छ। समूदाय-प्रहरी साझेदारी अन्तर्गत: प्रहरी, समूदाय, स्थानीय तह, विद्यालय, संघसंस्था, सञ्चारजगत मिली समाजमा अपराध न्यूनिकरण गर्दै लगि अपराध मुक्त समाज बनाउन अहोरात्र खटिनु पर्ने आजको आवश्यकता रहेको छ। यस्तो अवस्थामा तपाईँहरूबाट मातृभूमि नेपाल र नेपाल प्रहरी संगठनले सदैव ठूलो अपेक्षा गरेको छ। यस महान कार्यमा हामी सबैजनाले मन, बचन र कर्मले सक्दो प्रयास गरौ र 'टुगेदर वि क्यान) भन्ने वाक्यलाई सार्थक बनाऔ। 

तपाईंहरूले पनि गाउँ गाउँ अनि टोल टोलमा शहरमा अनि नेपाल राष्ट्रको सम्पूर्ण भू-भागमा 'लागूऔषध त्यागौँ, स्वस्थ, सबल, समृद्ध र समुन्नत समाजको निर्माण गरौं' र 'लागूऔषधको गरे प्रयोग, सकिनेछ जीवनको उपयोग' जस्ता सन्देशहरू प्रचार-प्रसार गरी पशुपतिनाथ, स्वयम्भू नाथ, बौद्दनाथ, माता जानकी, गौतम बुद्द, अंशुवर्मा, भृकुटी र सगरमाथाको यस पवित्र भूमिबाट लागूऔषध विरुद्धको महा अभियानमा आफू र आफ्नो परिवारसहित महत्वपूर्ण योगदान गर्नु हुनै नै छ भन्ने पूर्ण विश्‍वास लिएको छु।

अन्त्यमा, परिश्रमको फल अवश्य नै मीठो हुनेछ। प्रहरीको तालिममा भन्ने गरिन्छ, 'तालिममा पसिना बगाउने व्यक्तिले कर्म क्षेत्रमा रगत जोगाउँदछ'। विश्वबाट क्रमश: विलुप्त हुँदै गरेको कोरोनाको कहरबीच तपाईँहरूको माता, पिता र गुरुहरूको अथक परिश्रम, २ वर्षको बिराम पश्चात हाल भई रहेको एसइई परीक्षाको लागि तपाईंहरूले गर्नु भएको उच्चस्तरको तयारीका कारण चाडै नै पूर्ण सफलताको मीठो फल प्राप्त हुन सकोस् भन्ने शुभेक्षासहित देशले मागेको र खोजेको समयमा तपाईँहरूबाट मुलुकको लागि हरसम्भव यथोचित योगदान हुनेछ भन्ने पूर्ण विश्‍वास लिदैं पुन: एक पटक एसइई परीक्षाको पूर्ण सफलताको शुभकामना अर्पण गर्दछु।

जय नेपाल।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.