|

म्याग्दी : आज मे १ अर्थात् १३४ औं विश्व मजदुर दिवस। विश्वभरका श्रमिकले विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन्। नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरेर यो दिवस मनाइँदै छ।

तर, म्याग्दीको बेनी–दरवाङ सडकखण्डमा मजदुरी गर्ने रिता परियार, म्याग्दी नदीबाट बालुवा उठाएर बिक्री गर्ने श्याम दर्जी, सदरमुकाम बेनी बजारको एक होटलमा कामगर्ने सुनिता किसानलगायत जिल्लाका निजी तथा संस्थागत विद्यालय र संघसंस्थामा काम गर्ने सयौँ श्रमजीविहरुलाई श्रमिक दिवसले छोएको छैन।

 दैनिक ज्यालादरी गरेर जीवन यापन गर्ने श्रमिक मात्रै होइन विभिन्न निजी क्षेत्रका विद्यालय र संघसंस्थामा वौद्धिक काम गर्ने श्रमिकहरुलाई पनि  यो दिवसका बारेमा खासै मतलव छैन।

बेनी–दरवाङ सडक खण्डमा मजदुरी गर्ने टेकबहादुर विकलाइ आज त श्रमिक दिवस हो, आरा म गर्ने दिन  तपाईंले दिवस मनाउने होइन? भन्ने प्रश्न गर्दा विकले भने ‘एक दिन दिवस मनाएर के गर्नु भोलिदेखि भारी नबोकी खान पुग्दैन। छाक टार्न काम गर्नैपर्छ। आज मजदुर दिवस मनाउन गयो भने एक दिनको कमाइ हानि हुन्छ।’

सरकारले मदजुरको होइन मालिकका लागि मे दिवस मनाउन गरेको र आफूजस्ता श्रमिकको समस्या मालिकले मात्रै होइन राज्यले समेत नसुनिदिने गरेको उनको भनाइ छ।

सरकारले एकतिर हरेक मजदुरलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने भन्दै मे दिवस मनाइरहेका छ। भने, अर्कोतिर कतिपय मजदुर भने मे दिवस कहाँ कसरी मनाइदै छ भनेर अनविज्ञता प्रकट गर्छन्।

सदरमुकाम बेनी बजारको नजिक निजी विद्यालयमा अध्यापनरत एक शिक्षकले श्रमिकको हकहितका लागि मनाइने मे दिवसले वास्तविक श्रमिकहरुलाई छुन नसकेको बताउँदै सरोकारवालाहरुले सधैँ मजदुरको बाध्यतालाई बुझ्ने गरी काम गर्न सुझाव दिए।

त्यसैगरी दरवाङ बजारमा पेटी निर्माण काम गरिरहेका  तारा श्रीषलाई पनि मे दिवसले छोएको छैन। श्रीष अरू दिन जस्तै आज पनि बिहानैदेखि काममा खटिएका छन्।  उनले भने ‘मैले निर्माण क्षेत्रमा काम गरेको ९ वर्ष भयो।

अहिलेसम्म मे दिवस मनाएको छैन। हामी जस्ता काम गर्ने गरिबलाई किन मनाउनुपर्‍यो मजदुर दिवस।’ मे दिवसका दिन पनि ठेकेदारले छुट्टी नदिने गरेको उनको भनाइ छ।

मे दिवसमा विकसित देशले श्रमिकका सेवा सुविधा परिमार्जत र बृद्धि गर्ने गरेका छन्। तर, नेपालमा मे दिवस मनाइए पनि मजदुरका लागि त्यस्ता सेवा सुविधामा वास्ता हुँदैन।

यो दिवस श्रमिकमैत्री भन्दा पनि राजनीतिक दल केन्द्रित हुने गरेको छ। जसका कारण वास्तविक मदजुर मे दिवस मनाउन उत्साहित नदेखिने गरेका नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव एवम् स्थानीय समाजसेवी क्या.मीनवहादुर कार्कीले बताए।

केन्द्रीय तंथ्याक विभागको तंथ्याक अनुसार नेपालमा करिब २० लाख ज्यालादारीका श्रमिक रहेका छन्। उनीहरु सरकारले निधारण गरेको सेवा सुविधा नलिई आफनै ढंगले विभिन्न क्षेत्रमा काम गरिरहेका छन्।

देशभर निजी र सरकारी क्षेत्रमा ७० लाखभन्दा बढी विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक छन्।

अमेरिकाको सिकागो सहरका मजदुरले १ मे १८८६ मा ८ घण्टा काम, ८ घण्टा विश्राम र ८ घण्टा मनोरञ्जनको माग राख्दै आन्दोलनमा गरेका थिए।

करिब ४ वर्ष लगातार मजदुरको आन्दोलनपश्चात् अमेरिकी सरकार मजदुरलाई ८ घण्टा मात्र काममा लगााउने कानुन बनाउन र मजदुरले राखेको अन्य माग पूरा गर्न बाध्य भयो। यसरी मजदुरले आन्दोलनबाट विजय हासिल गरेको दिनको सम्झनामा मे दिवसका रुपमा मजदुर दिवस मनाउन थालिएको हो।

१ मेलाई दिवसका रूपमा मनाउन सन् १८९० मा एंगेल्सको अगुवाईमा भएको दोस्रो कम्युनिस्ट इन्टरनेसनलको सम्मेलनमा छलफल भई निर्णय भएको आधारमा १ मे १८९० देखि विश्वभर मे दिवस मनाउन थालिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.