काठमाडौँ : कपिलवस्तुका उखु किसानहरू सरकारले दिनुपर्ने रकम माग गर्न काठमाडौ हिँडेका छन्। ३० जना अगुवा उखु कृषकहरू मङ्गलवार साँझ सरकारले तोकेको रकम नपाउँदासम्म काठमाडौँमै धर्ना दिने भन्दै हिँडेका छन्।
आव २०७१।०७२ मा प्रतिक्विन्टल नेपाल सरकारले दिने निर्णय गरेको रकम पनि अहिलेसम्म नदिएको भन्दै उक्त रकम पटक पटक माग गरिएको छ। सरकारले दिने दुई करोड ५० लाख अनुदान रकम कपिलवस्तुका उखु किसानले नपाएको गुनासो गरेका छन्।
सरकारले प्रतिक्विन्टल उखुको मूल्य ४६१ रुपैयाँ दिने घोषणा गरे पनि कपिलवस्तुमा मिल सञ्चालकले प्रतिक्विन्टल ४३६ रुपैयाँ मात्र दिएका थिए। बाँकी २५ रुपैयाँ सरकारले दिने सम्झौता भएको थियो। कपिलवस्तुका आठ हजार किसानले अनुदान रकम नपाएको बताएका छन्।
पटक पटक सरकार र मिल सञ्चालकलाई अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको किसानले बताएका छन्। शिवराज नगरपालिकामा रहेको महालक्ष्मी सुगर्स मिलका कारणले आफूहरूले पाउनुपर्ने रकम नपाएका किसानहरूको गुनासो छ।
पटक पटक ज्ञापनपत्र बुझाउँदा समेत सुनुवाइ नभएकाले अहिले किसानहरू सहित टोली माइतीघर मण्डलामा भर्ना दिने गरी काठमाडौँ प्रस्थान गरेको कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले बताए।
८ वर्ष पूरा भए पनि किसानहरूले पाउनुपर्ने रकम नपाएकाले अब काठमाडौँमा आन्दोलन हुने कृषक रामलाल कलवारले बताए। ‘अब कि लास आउँछ कि पैसा आउँछ’, कलवारले भने, ‘सरकारले हाम्रो मागको बेवास्ता गरेको छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।