|

इलाम : विश्वका उत्कृष्ट महिला फुटबलरमध्ये ७३६ जना खेलाडी नवौँ महिला विश्वकप फुटबलको उपाधिका लागि दक्षिणी गोलार्दमा भेला हुँदै छन्।

अष्ट्रेलिया र न्युजिल्यान्डमा हुने प्रतियोगितामा प्रत्येकले आइकोनिक ट्रफी उचाल्ने सपनाका साथ सिडनीको वाङ्गल रंगशालामा २० अगष्टमा देखिनेछन्। तर, केही आइकोनिक खेलाडी भने विश्वकपमा देखिने छैनन्।

उनीहरूलाई विश्वकपबाट वञ्चित गराउन कारक एसिएल इन्जुरी नै हो। पुरुष एथ्लिटको तुलनामा महिलाहरूमा इन्टेरियर क्रुजर लिगामेन्ट (एसिएल) इन्जुरी उच्च दरमा हुन्छ।

विभिन्न समयमा गरिएको अनुसन्धानबाट सबैभन्दा बढी एसिएल इन्जुरी फुटबलमा हुने गर्छ। पुरुष फुटबलरको तुलनामा महिला फुटबलरमा एसिएलको समस्या २ देखि ८ गुणा बढि देखिएको अनुसन्धानले देखाउँछ।

एसिएलको चोट महिला फुटबलमा सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ। यो महिला खेलाडीहरूका लागि खतराको संकेतसमेत हो। लामो रिकभरी समय (हाल करिब ९–१२ महिना)र पुनरावृत्तिको सम्भावनाको कारणले महिला फुटबलरको करियरमा एसिएल इन्जुरीले एउटा नयाँ मोड लिन सक्छ।

एसिएल इन्जरीका कारण खेलाडीहरूले शारिरिक पीडासँगै मानसिक पीडासमेत भोग्ने गरेको अनुभव छ। यस वर्षको महिला विश्वकपमा समेत एसिएल इन्जरी नै प्रमुख समस्याको रूपमा रहेको छ। ३७ वर्षिया ब्राजिलियन स्टार मार्टा छैटौँ विश्वकपमा देखिँदै गर्दा केही युवा स्टार खेलाडीहरूले यस संस्करण गुमाउँदै छन्।

यस संस्करणको विश्वकप गुमाउने ८ चर्चित स्टार खेलाडीहरूको बारेमा चर्चा गरिएको छ। चोटका कारण स्टार खेलाडी गुमाउने सूचीमा युरोपेली च्याम्पियन इङल्यान्ड शिर्ष स्थानमा छ।

८ मध्ये ३ खेलाडी इङलिस टोलीबाट प्रतिनिधित्व गर्छन्। फ्रान्सेली टोलीबाट २, संयुक्त राज्य अमेरिका, क्यानडा, नेदरल्यान्डबाट १-१ खेलाडी रहेका छन्।

बेथ मिड (इङल्याण्ड)

आर्सनल फरवार्डलाई विश्वको उत्कृष्ट महिला खेलाडीमध्ये एक मानिन्छ। चोटका कारण इंग्ल्याण्डको टोलीबाट बाहिरिनु इङल्यान्डका लागि घातक मानिएको छ।

२८ वर्षीय मिड गत वर्षको युरोपियन च्याम्पियनसिपमा उत्कृष्ट लयमा थिइन्। प्रतियोगितामा ६ गोल र ४ असिस्ट गर्दै आफ्नो देशलाई उपाधि दिलाएकी थिइन्।

सन् २०२२ को अन्त्यमा एसिएल इन्जरी बोक्दै टिमबाट बाहिरिइन्। गत नोभेम्बरमा म्यानचेस्टर विरुद्धको खेलमा उनले एसिएल इन्जरी बोकेकी थिइन्।

सामान्यतया एसिएल इन्जर्ड खेलाडीहरूले १० महिना मैदानबाहिर बिताउनुपर्ने हुन्छ। जसको असर अष्ट्रेलिया–न्युजिल्याण्ड विश्वकपमा इङ्लिस टोलीले व्यहोर्नेछ। सन् २०१९ को विश्वकपमा मिड गोल गर्न असफल रहे पनि ३ असिस्ट गर्दै टिमलाई सेमीफाइनलसम्म पुग्न योगदान गरेकी थिइन्।

अजेन्टिनाविरुद्ध जोर्डी टेलरलाई असिस्ट गरेकी थिइन्। नर्वेविरुद्ध अन्तिम १६ को खेलमा लुसी ब्रोन्जका लागि गोलको अवसर मिलाइदिएकी थिइन्।

सेमिफाइनल खेलमा अमेरिकाविरुद्ध २–१ ले पराजित भए पनि एलेन वाइटका लागि गोलको अवसर सृजना गरिदिएकी थिइन्। समग्र प्रतियोगितामा सर्वाधिक असिस्ट गर्नेमा दोस्रो सूचीमा समेटिइन्।

लेह विलियम्सन (इङल्याण्ड)

लडर्स अफ फुटबल यस वर्ष इङ्लिस टोलीविरुद्ध सन्तुष्ट रहेनन्। मिडसँगै इङ्लिस कप्तान विलिम्सनसमेत यस विश्वकपमा देखिने छैनन्।

आर्सनल र इङलिस टिममा सेन्टर ब्याक र मिडफिल्डमा प्रभाव राख्न सफल बहुप्रतिभाशाली विलियम्सन गत अप्रिलमा एसिएल इन्जुरीबाट ग्रस्त भइन्। लेह स्पोर्ट्स भिलेजमा म्याचेस्टर युनाइटेड विरुद्धको खेलमा १२ औ मिनेटमा चोटिल बन्न पुगिन्।

२६ वर्षीया आर्सनल स्टारले सरिना विग्म्यानको प्रशिक्षणको टोलीको डिफेन्स लाइनमा रहँदै इङल्यान्डलाई सन् २०२२ को युरो कप दिलाएकी थिइन्। लायोनेसेस उपमा पाएको इङल्याण्ड टोलीका लागि नियमित बाहिरिँदा चुनौती थपिएको छ।

भिभियन मिडेमा (नेदरल्याण्ड)

विश्वकप गुमाउने सूचीमा आर्सनलले तेस्रो खेलाडीको रूपमा भिभियन मिडेमालाई पाएको छ। गत १५ डिसेम्बरमा आफ्नो हातले आफ्नो अनुहार छोपेर स्ट्रेचरमा पिच छाडिन्।

युइएफए महिला च्याम्पियनसिपअन्तर्गत लियोन विरुद्धको खेलको पहिला हाफमा उनी मैदान बाहिरिएकी थिइन्। ४ दिनपछि एसिएल इन्जुरी पत्ता लाग्यो।

वुमेन्स सुपर लिगकी सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा रहेकी उनले आठौँ संस्करणको महिला विश्वकपमा समेत ३ गोल गरेकी थिइन्।

क्यामरुन विरुद्धको समूह चरणको महत्वपूर्ण खेलमा २ गोल गरेकी मिडेमाले क्वार्टर फाइनलमा इटालीविरुद्ध १ गोल गरेकी थिइन्।

फिफा प्राविधिक समूहले सार्वजनिक गरेको मुख्य १० खेलाडीको सूचीमा समेत उनी समेटिएकी थिइन्। उनले गत वर्षको युरो कपमा डच टिमको कप्तानको रूपमा सुरुवात गरे पनि समूह चरणको खेलपछि कोभिड संक्रमणको सामना गर्न पुगिन्।

केही समयपछि उनी तीव्र रूपमा विस्तार हुँदै गइरहेको एसिएल इन्जर्ड क्लबको सूचीमा सामेल भइन्।

क्याथरिन म्याकारियो (अमेरिका)

२३ वर्षीया फरवार्डको अघिल्लो वर्ष जुनमा २०२१–२२ सिजनको फाइनल खेल लियोनबाट खेल्ने क्रममा बायाँ घुँडामा एसिएल च्यातिएको थियो। म्याकारियोले २०२१ देखि लियोनसँग २७ खेलमा १९ गोल गरेका छन्।

उनले कतारको अर्थोपेडिक र स्पोर्ट्स मेडिसिनमा रिह्रयाब गराए पनि विश्वकपको लागि उपलब्ध हुने असफल रहिन्।

अमेरीकी टिमका लागि उपलब्ध नहुने भएपछि उनले भनिन्, “म विश्वकपमा मेरा सहकर्मीहरूका लागि कडा हौसला दिनेछु। म अमेरिकाको राष्ट्रिय टोलीमा लामो भविष्यको आशा गरेकोले आफ्नो स्थानका लागि लड्न आफूलाई समर्पित गर्न तत्पर छु।’

ब्राजिलमा जन्मेकी म्याकारियोले २०२० मा अमेरिकी नागरिकता पाएका थिए र उनले आफ्नो देशका लागि १७ खेलमा आठ गोल गरिसकेका छन्।

मारिया एन्टोनेट कार्टोटो (फ्रान्स)

२४ वर्षीय पिएसजी स्ट्राइकरले समेत विश्वकप एसिएल इन्जुरीका कारण गुमाउँदै छिन्। इन्जुरीका कारण उनले आफ्नो पहिलो विश्वकप सहभागिता नै गुमाउन पुगिन्।

सन् २०१९ मा डिभिजन वान फेमिनाको सर्वाधिक गोलकर्ता भए पनि २३ सदस्यीय फ्रान्सेली राष्ट्रिय टोलीमा स्थान बनाउन असफल रहिन्। गत वर्ष उनी क्लबको सर्वाधिक गोलकर्ता बनेकी थिइन्।

 गत वर्ष सम्पन्न युरोकपमा बेल्जियमविरुद्ध समूह चरणको खेलमा चोट बोकेकी थिइन्। एसिएल इन्जुरीका साथै मानसिक स्वास्थ्य जोगाउन कप्तान वेन्डि रेनार्डसले गरेको निर्णयलाई समर्थन गर्दै उनले राष्ट्रबाट प्रतिनिधित्व नगर्ने निर्णय गरिन्।

जेनिन बेकी (क्यानाडा)

आफ्नो देशका लागि १ सयभन्दा बढी क्याप जित्न सफल क्यानडाकी जेनिन बेकीसमेत यस विश्वकपमा हुने छैनन्। गत मार्चमा पोर्टल्याण्ड थ्रन्सका लागि खेल्ने क्रममा एसिएल इन्जुरी बोकेपछि उनको विश्वकप यात्रा टुङ्गिएको हो।

यसअघि उनी सम्मिलित क्यानडाले २०१६ र २०२० को ओलम्पिकमा स्वर्ण जितेको थियो।

फ्रान किर्बी (इङ्गल्याण्ड)

फ्रान्क किर्बीको योगदान विगत केही वर्षदेखि चेल्सी र इङ्ल्यान्ड दुवैका लागि महत्वपूर्ण रहेको छ। युरो २०२२ मा उत्तरी आयरल्याण्ड र स्विडेनविरुद्ध उनले गरेको गोलले इङ्ल्यान्डलाई च्याम्पियन बनाउन योगदान गरेको थियो।

किर्बीलाई २०२१ मा बालोन डी’ओर को लागि सर्टलिस्ट गरिएको थियो। उनको व्यावसायिक करियरमा हालसम्म २ पटक व्यावसायिक फुटबलर संघको तर्फबाट महिला खेलाडी ’प्लेयर अफ द इयरसमेत जितेकी छन्।

३० वर्षीय उनी चेल्सीको सबै समयको शीर्ष गोलकर्ता हुन्। बारम्बार हुने चोटका कारण उनले घुँडाको शल्यक्रिया गराएकाले विश्वकप गुमाउँदै छिन्। ९ फेब्रुअरीमा वेस्ट ह्याम विरुद्धको कन्टिनेन्टल कपको सेमिफाइनल जितमा घुँडाको चोटका कारण बाहिरिएपछि उनले सर्जरी गराएकी छन्।

उनी सन् २०१४ यता पहिलो विश्वकप गुमाउँदैछिन्। विश्वकप र युरोपक दौरानसमेत उनले पटकपटक इन्जुरीको सामना गर्दै आएकी छन्।

डेल्फिन कास्करिनो (फ्रान्स)

पाँच च्याम्पियन्स लिग र पाँच डिभिजन १ फेमिनाइन उपाधि जिताएकी २६ वर्षीया डेल्फिन कास्करिनो यसपटक फ्रान्सेली टोलीसँग हुने छैनन्। फ्रान्सलाई विश्वकप यात्रा सहज बनाउन छनोटमा ४ गोल गरेकी उनी अष्ट्रेलिया र न्युजिल्यान्डमा देखिने छैनन्। सन् २०१६ बाट फ्रान्सेली टोलीसँग रहँदै ५६ खेलमा १४ गोल गरेकी लियोनकी विङ्गर एसिएल लिगामेन्ट फुटेका कारण विश्वकप गुमाएकी छन्।

 

एसिएल इन्जुरीसँग जुधिरहेका महिला फुटबलर

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.