|

चितवन : माडी क्षेत्रमा हात्तीले दुःख दिन थालेका छन्। माडी नगरपालिका–१ क्षेत्रमा निकुञ्जबाट निस्किएका हात्तीले स्थानीयलाई दुःख दिन थालेका छन्। निकुञ्जबाट निस्किएका दुईवटा हात्तीले स्थानीयलाई दुःख दिएका हुन्।

विगत तीन दिनदेखि हात्तीको आतंकले स्थानीय रातभरि जाग्राम बस्नुपरेको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटाले बताए। दुई ट्रयाक्टर, एउटा जीपलगायत साधनको सहायताले हात्ती लखेट्ने काम भइरहेको उनले जानकारी दिए। ‘एक सातादेखि माडी क्षेत्रमा जंगली हात्तीको आतंक छ। यसलाई नियन्त्रणमा लिन सकिएको छैन’, उनले भने।

असोज १४ गते हात्तीले एक जनालाई आक्रमण गरेको र उनको उपचार भइरहेको उनले जानकारी दिए। धान पसाउने समयमा हात्तीको आतंकले माडीवासी त्रसित छन्। हात्ती नियन्त्रणका लागि निकुञ्जले सेनाका अधिकृतको नेतृत्वमा टोली नै खटाएको छ। 

टोली पठाए पनि स्थान परिवर्तन गर्दै निस्कने गर्दा धानबालीमा क्षति पुर्याएको सापकोटाले  बताए। अयोध्यापुरी र गर्दीमा हात्तीको आतंक बढी छ। निकुञ्ज नजिक जोडिएको क्षेत्रमा जङ्गली हात्तीले दुःख दिएको हो।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार माडी क्षेत्रमा जङ्गली हात्तीले स्थानीयलाई समस्या बनाएको हो। ‘सम्साँझै हात्ती बस्तीमा पस्ने गरेको छ। यसले स्थानीय त्रसित बनेका छन्’, उनले भने।

निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती सामुदायिक वनका उपभोक्ता र स्थानीयले हात्ती धपाउने काम गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.