|

म्याग्दी : म्याग्दीमा उत्पादित कोदोको माग शहर बजारमा बढ्दै गएपछि यहाँका किसान पछिल्लो समय कोदो खेतीतर्फ आकर्षित भएका छन्। कोदोको महत्त्व र उपयोगिता बढ्दै गएपछि गरिबले खाने अन्न भन्ने परिभाषा पनि उल्टिएको छ।

पाखो जमिन कोदो खेतीका लागि निकै उपयुक्त मानिन्छ। कोदोमा मानव स्वास्थ्यका लागि अत्यावश्यक पौष्टिक तत्त्व भरपूर पाइन्छ। यसले गर्दा बेनी, पोखरा, काठमाडौँ लगायतका शहरी क्षेत्रमा कोदोको माग बढ्दो छ।

कोदो खेती विस्तार र संरक्षणमा सम्बन्धित स्थानीय तहले नै आवश्यक सहयोग र बजारीकरणको प्रबन्ध मिलाउन थालेपछि कोदो खेतीतर्फ आकर्षण बढ्दै गएको मालिका गाउँपालिका–२ का कृषक रणबहादुर विकले बताए।

दुई वर्ष अघिसम्म प्रतिपाथी ६० रुपैयाँमा पनि नबिक्ने कोदो अहिले दुई सय रुपैयाँ प्रतिपाथी बेचिन थालेको किसान विकले जानकारी दिए। प्रदेश र स्थानीय सरकारले समेत स्थानीय उत्पादनको बजार व्यवस्थापन र व्यावसायीकरणका लागि ठोस योजना बनाएर प्रोत्साहित गर्ने हो भने कोदो म्याग्दीका किसानको राम्रो आम्दानीको स्रोत बन्न सक्ने पश्चिम म्याग्दीको दरबाङ बजारका व्यवसायी अमृत सापकोटाले बताए।

म्याग्दीका ६ वटै स्थानीय तहमा कोदोको राम्रो उत्पादन हुन्छ। थोरै बीउमा समेत धेरै उत्पादन गर्न सकिने कोदो पाखो जमिनमा लगाउने गरिन्छ। अहिलेसम्म व्यावसायिक रूपमा कोदो खेती गर्ने किसान छैनन्। खानका लागि मात्र उत्पादन गरिन्छ।

उर्वर माटोका कारण थोरै बीउमा रोपिए पनि कोदो धेरै फल्छ। किसानहरूले उत्पादन गरेको कोदो बजारसम्म पुर्‍याउने हो भने बजारमा खोसाखोस हुने गरेको र भनेको मूल्यमै विक्री हुने गरेको मालिका गाउँपालिका–६ की किसान देवी घर्तीले बताइन्।

कोदोलाई पछिल्लो समय खाद्यान्न र मदिरा उत्पादनको बढी प्रयोग गर्न थालिएको मंगला गाउँपालिका–२ का कृष्ण सेनको भनाइ छ।

‘थोरै मेहनतमा पनि मनग्गे फल्छ, खाएर सकिँदैन, खरिद गर्नका लागि गाउँमै ग्राहक आउन थालेपछि बजारसम्म पुर्‍याउने झन्झट पनि हटेको छ’, सेनले भने, ‘जहिल्यै खेर जान्थ्यो। विगत दुई वर्षयता कोदो जति उत्पादन गरे पनि खेर गएको छैन, बेच्न बजारसम्म पुर्‍याउनुपर्ने झन्झट पनि हटेको छ।’

सेनले घरमै आएका ग्राहकलाई यो वर्ष पाँच मुरी बेचेको र चार मुरी बाबियाचौर, सिंगा तातोपानी र बेनीमा लगेर बेचेको बताए। प्रतिपाथी दुई सय रुपैयाँका दरले बेचेर यो वर्ष ३६ हजार रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए।

आधुनिक बीउबिजनको विस्तारसँगै कतिपय ठाउँमा खाद्यान्नको सहज उपलब्धता बढेपछि कोदो खेती लोप हुँदै गए पनि म्याग्दीमा पछिल्लो समय कोदो खेती गर्ने बढेको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ।

कोदोमा मानव स्वस्थ्यका लागि आवश्यक पर्ने पौष्टिक तत्त्व भरपूर मात्रामा पाइन्छ। स्वास्थ्यका लागि बहुउपयोगी भएकाले शहरी क्षेत्रमा यसको माग बढेको हो।

आयातित खाद्यान्नमा पोषक तत्त्व कम पाइने भएकाले पछिल्लो समय बालबालिकामा कुपोषणलगायतका समस्या बढिरहेको स्वास्थ्यकर्मीहरू बताउँछन्। मानव स्वास्थ्यका लागि अत्यावश्यक फलाम र विभिन्न भिटामिन कोदोमा पाइन्छ।

विशेषतः आइरन चक्की खाने गर्भवती महिलाका लागि कोदोका परिकार उपयोगी मानिन्छ। सर्वसाधारणलाई कोदोका परिकार बनाउन अभिप्रेरित गरी उत्पादकत्वमा वृद्धिसँगै पर्यटन प्रवर्धनमा जोड दिन सकिने कृषि विज्ञहरूको भनाइ छ।

कोदोबाट विभिन्न परिकार बनाएर त्यसको उचित प्रवर्धन गर्नसके पर्यटक आकर्षित गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.