|

म्याग्दी : मुसुङ गाउँको शिरान। तीनतिर घना जङ्गल। विशाल पहरोमाथि पूर्वतर्फ फर्किएको चिटिक्कको दुईतले घर। आँगनमा बिछ्याइएका चिल्ला ढुङ्गा। उत्तरतिर फर्कंदा आँखैअगाडि देखिने धवलागिरि, निलगिरि, गणेश, गुर्जा, अन्नपूर्णलगायत १२ ओटा हिम श्रृंखला। शिरानमा पर्यटकीय स्थल बेलढुङ्गा। जंगलमा सुनिने पक्षीहरुको चिरबिराहट र देखिने जंगली जनावरहरुको क्रिडा।

यो वर्णन गरिएको दृश्य म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीमा रहेको रमणीय स्थल स्वर्गाश्रमको हो। जहाँबाट देख्न सकिन्छ आँखैअगाडि १२ ओटा हिमाल, ३२ ओटा गाउँ र ७ ओटा धार्मिक क्षेत्र तथा तीर्थस्थल।

यस्तो रमणीय ठाउँ भएर पनि स्वर्गाश्रम ‘बत्तिमुनिको अँध्यारो’ नियति भोग्न बाध्य छ। प्राचीनकालदेखि नै ऋषि‚ महर्षि र विद्वान तथा विदूषीको तपस्थली रहँदै आएको भए पनि यो स्थान एक सय वर्षअघि पहिचानमा आएको स्थानीय बताउँछन्।

स्वर्गाश्रमबाट पवित्र कालीगण्डकी, महारानी थान, जगन्नाथ धाम, गलेश्वर धाम, मुक्तिनाथ, रिखार क्षेत्र र पौलस्त्य क्षेत्रको दर्शन गर्न सकिने बेनी नगरपालिका वडा नं ३ का वडाअध्यक्ष पदमबहादुर पुनले बताए।

वडाध्यक्ष पुनका अनुसार यहाँ तपस्विनी इश्वरानन्द सरस्वतीले २० वर्षसम्म कठोर तपस्या गरी सिद्धि प्राप्त गरेपछि तनहुँको देवघाटमा गएकी छन्।

प्राकृतिक रुपमा अत्यन्त रमणीय, आध्यात्मिक आस्थाको केन्द्र, पर्यटकीय सम्भावनायुक्त स्वर्गाश्रमबाट ७ वटा तीर्थस्थलको दर्शन गर्न पाउनु अद्वितीय विशेषता पनि रहेको स्वर्गाश्रम विकास समितिका अध्यक्ष रत्न जिसीले बताए।

वडाध्यक्ष पुनका अनुसार ७ वटा तीर्थस्थलको एकै ठाउँबाट दर्शन गर्न सकिने सम्भवतः नेपालकै पहिलो ठाउँ हो स्वर्गाश्रम। स्वर्गाश्रमको आँगनबाट पवित्र कालीगण्डकी, महारानी थान, जगन्नाथ धाम, गलेश्वर धाम, मुक्तिनाथ, रिखार क्षेत्र र पौलस्त्य क्षेत्रको दर्शन गर्न सकिन्छ।

स्वर्गाश्रमको शिरमा बेलढुङ्गा : प्रकृति नियाल्ने आँखीझ्याल

स्वर्गाश्रमको शिरमा रहेको बेलढुङ्गा म्याग्दी र बागलुङको सिमानामा रहेको यस क्षेत्रको प्रशिद्ध पर्यटकीय स्थल हो। यसलाई प्रकृति नियाल्ने आँखीझ्याल भनिन्छ।

प्राकृतिक छटाले भरिपूर्ण बेलढुङ्गाबाट उत्तरतर्फ आँखैअगाडि टलक्कै टल्किएका दर्जनौं हिमाल, म्याग्दी, बाग्लुङ्गका अधिकांश ग्रामीण बस्ती तथा पर्वत र कास्की जिल्लाको केही भूभागसहितका अग्ला धुरी देखिन्छन्।

म्याग्दीको बेनी नगरपालिका-३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका-३ धम्जाको सीमा क्षेत्रमा पर्ने बेलढुङ्गा सुन्दर पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको छ।

बस्तीदेखि निकै उच्च भूभागमा रहेको बेलढुङ्गा स्वर्गाश्रमबाट आधाघण्टाको पैदल यात्रापछि पुग्न सकिन्छ। विभिन्न प्रजातिका चराचुरुङ्गीको चिरबिर र चिसो सिरेटोको स्पर्शबाहेक यहाँ अन्य कुनै कोलाहल सुनिँदैन।

समुद्र सतहदेखि २ हजार ६१४ मिटरको उचाइमा रहेको बेलढुङ्गाबाट पूर्वी रुकुममा पर्ने चुरेन, म्याग्दीमा पर्ने गुर्जा, धवलागिरी प्रथमदेखि चौथोसम्म, मानापाथी, निलगिरि साउथ, अन्नपूर्ण पहिलो र दक्षिण, वराह शिखर, तिलिचो पिक, माछापुच्छ्रे, गंगापूर्ण, लम्जुङ्ग हिमाल र मनास्लु हिमश्रृङ्खलाका आकर्षक दृश्यहरु अवलोकन गर्न सकिन्छ।

सूर्योदय अवलोकनका लागि बेलढुङ्गा पुनहिलभन्दा पनि उपयुक्त स्थान भएको वडाध्यक्ष पुनले बताए।

जंगलको बीचमा बेल आकारको विशाल चेप्टो चट्टान छ। चट्टानको शिरसम्म पुग्न ढुङ्गा बिछ्याइएको चिटिक्कको पदमार्ग बनाइएको छ। बिहान सबेरै देखिने उषाको लाली किरणसहितको सूर्योदयको दृश्यले यहाँ पुग्ने जो कसैको मन सजिलै लोभ्याउन सक्छ।

बेनी नगरपालिका र बागलुङको काँठेखोला गाउँपालिका बेलढुङ्गालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माणमा जुटेका छन्। दुवै पालिकाले यहाँ पुग्ने सडक,पदमार्ग र बेलढुङ्गामा भ्यू प्वाइन्ट निर्माण गरेका छन्।

बेलढुङ्गालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्ने योजना अघि सारेको बेनी नगरपालिका वडा नम्बर ३ भकिम्लीका वडाध्यक्ष पुनले बताए।

सदरमुकामबाट नजिकैको स्थानमा रहेको मनोरम पर्यटकीय स्थल भएकाले आवश्यक पूर्वाधार निर्माण भएमा आन्तरिक तथा बाह्य पर्यटकसमेत आकर्षित गर्न सकिने अध्यक्ष पुनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.