|

दाङ : प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङले पछिल्लो समय विभिन्न सेवा थप्दै आएको छ। यसै क्रममा अस्पतालले स्वर्णविन्दु प्राशन सेवा पनि थपेको छ।

नवजातदेखि ५ वर्षसम्मका करिब १ हजार बालबालिकालाई प्रत्येक महिना यो सेवा अस्पतालले निःशुल्क दिँदै आएको छ।

यो सेवा लिन बालबालिका लिएर आउने अभिभावकहरूको उत्साहजनक सहभागिता हुने गर्छ। स्वर्णविन्दु प्राशन औषधि अस्पतालले आफैँ बनाएर भर्खर जन्मिएकादेखि ५ वर्षसम्मका बालबालिकालाई प्रत्येक महिना खुवाउँदै आएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार गत वर्षदेखि यो औषधि खुवाउन थालिएको हो। यो औषधिसको प्रभाव बालबालिकामा राम्रो परेको अभिभावकहरू बताउँछन्। 

यसले बालबालिकामा खानामा रुचि बढ्ने, वजन बढ्ने र रुघाखोकी जस्ता समस्या नहुने तुलसीपुर-१६ की सुशीला चौधरीले बताइन्।

उनका अनुसार अस्पतालले निःशुल्क खुवाउँदै आएको स्वर्णविन्दु प्राशनले बालबालिकाहरूलाई राम्रो गर्ने कुरा थाहा पाएर खुवाउन थालेकी हुन्। अहिलेसम्म ६ पटक खुवाएको भन्दै उनले यसले धेरै फाइदा गरेको बताइन्। 

उनले भनिन्, ‘मैले मेरो बाबुलाई यो औषधि खुवाउन थालेको गत असारदेखि हो। अहिले १९ महिनाको भयो। यो खुवाउन थालेपछि खानामा पनि रुचि बढेको छ। तौल पनि बढेको छ। यसले धेरै फाइदा गरेको छ।’ 

यस्तै तुलसीपुर-१९ बिजौरीकी विना रोकाले १४ महिनादेखि छोरालाई यो औषधि खुवाएको बताइन्।

उनले भनिन्, ‘पहिला मेरो छोराले खाना खान मान्दैनथ्यो। यो खुवाउन थालेपछि खानामा पनि खान थालेको छ। पहिला  कमजोर थियो, अहिले अलिक फस्टाएको छ। रुघाखोकीले पनि उत्तिकै सताउँथ्यो, अहिले त्यो पनि हटेको छ।’

शुरुमा के हो, कसो हो भन्ने लागेको भएता पनि कमजोर बालबालिकालाई फाइदा गर्ने भन्ने थाहा पाएपछि नियमित खुवाउँदै आएको उनको भनाइ छ। 

बिना र सुशीला मात्र नभइ प्रत्येक महिना यसरी नै अस्पतालमा आफ्ना छोराछोरी लिएर करिब १ हजार अभिभावक यो औषधि खुवाउन आउने गरेका छन्।

अस्पतालका बालरोग विशेषज्ञ डा. हरिशंकर चौधरीका अनुसार बालबालिकालाई हरेक महिनाको पुष्य नक्षत्रको शुभ साइतमा स्वर्णविन्दु प्राशन दिने गरिन्छ।

यो स्वर्णविन्दु प्राशन बालबालिकाका लागि लाभदायक हुने उनको भनाइ छ। उनका अनुसार यसले बालबालिकाको शारीरिक र मानसिक विकास गर्नमा मद्दत गर्ने र रोगसँग लड्न शक्ति प्रदान गर्छ।

अस्पतालमा यो कार्यक्रम गत वर्ष असोजदेखि शुरु भएको भन्दै शुरुमा ४/५ सय बालबालिकालाई यो औषधि खुवाइएको भए पनि अहिले मासिक करिब १ हजार बालबालिकालाई खुवाउने गरेको उनले बताए।

उनले भने, ‘बच्चाले नियमित रुपमा यो खाएको आएको छ भने उसको शारीरिक तथा मानसिक, बौद्धिक विकास हुन्छ। बच्चामा रोगसँग लड्नसक्ने क्षमता बढाउँछ। यो औषधि हामी आफैँ उत्पादन गर्छौं।’ 

उनका अनुसार स्वर्णविन्दु प्राशन बनाउन मह, घ्यू, ब्राह्मी, वचा, जटामसीलगायत १२ प्रकारका औषधि सुनसँग मिसाएर   तयार गरिन्छ।

यो औषधि जन्मेदेखि १६ वर्षसम्मका बालबालिकाहरूलाई खुवाउन मिल्ने भए पनि अहिले अस्पतालले ५ वर्षसम्मलाई मात्र खुवाउने गरेको उनको भनाइ छ। 

उनले भने, ‘यो १६ वर्षसम्मकालाई खुवाउन मिल्छ तर ५ वर्षसम्मका बालबालिकाहरूलाई यसले धेरै फाइदा गर्छ। उनीहरूमा शारीरिक, मानसिक, बौद्धिक विकास  राम्रोसँग हुन्छ। त्यसैले हामीले ५ वर्षसम्मलाई पनि खुवाउँदै आएको छौँ।’

एक मात्रा औषधिको लागत करिब ५० रुपैयाँ

​यो औषधिको एक मात्रा तयार पार्न करिब ५० रुपैयाँ लाग्ने अस्पतालको भनाइ छ। अहिलेसम्म अस्पतालले निःशुल्क खुवाउँदै आएको यो औषधिप्रति अभिभावकको आकर्षण बढ्दै गएको अस्पतालका निमित्त निर्देशक डा. सन्तोषकुमार ठाकुर बताए।

उनले यो सेवा अब प्रदेश सरकारले आफ्नो कार्यक्रममा नै राखेर बजेटको व्यवस्था गर्नुपर्ने बताए। त्यसका लागि पहल भइरहेको पनि उनले बताए।

विगत एक वर्षदेखि देशमै पहिलो पटक यो कार्यक्रम शुरु गरेको समेत उनको भनाइ छ। यो औषधि खुवाउन थालेपछि बच्चाहरूमा रोगसँग लड्न सक्ने शक्ति वृद्धि भएको र उनीहरूलाई खानामा रुचि तथा तौल बढेको अनुभूति पाएको समेत उनले बताए। 

अस्पतालले निःशुल्क रुपमा बालबालिकाहरूलाई यो औषधि खुवाएको भन्दै उनले यसलाई गौरवका रुपमा लिनुपर्ने समेत बताए। 

यो औषधि बालरोग विशेषज्ञ र औषधि विशेषज्ञको प्रत्यक्ष निगरानीमा अस्पतालमा तयार हुने समेत उनको भनाइ छ।  पछिल्लो समय अस्पतालले विभिन्न सेवाहरू बढाउँदै गए पनि सेवा लिने नागरिकहरूको संख्या बढ्दै गएको अस्पतालको भनाइ छ। 

अहिले अस्पतालमा व्यायामशाला, अग्नि कर्म, जलौका कर्म, नियमित योग, पञ्चकर्म, फिजियोथेरापीलगायत सेवा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.