|

गुल्मी : कालीगण्डककी गाउँपालिका वडा नम्वर २ अर्वेनीका लक्ष्मीपति न्यौपाने उमेरले ३६ वर्ष पुगे। न्यौपाने पेशाले शिक्षक हुन्। उनले कालीगण्डकी १ को देउराली माध्यमिक विद्यालयमा प्राथमिक तहको राहतमा रही अध्यापन गराउँदै आएका छन्। शिक्षण पेशाको साथमा उनले कृषि पेशाबाट लोभ लाग्दो कार्य गर्दै आएका छन्।

 खानेमुखलाई जुँगाले छेक्दैन भने जस्तै कृषि पेशाबाटै उनले वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताएका छन्।  न्यौपानेले २०७१ सालमा दुर्गादेबी मत्स्यपालन तथा तरकारी कृषि फर्म दर्ता गरेका छन्।

उनले १४ रोपनी जग्गामा ताजा तरकारी, काउली, सिमी, अकरे खुर्सानी लगाएका छन्। यसका साथै १३ रोपनी जग्गा लिजमा लिई लगाएका ६५० वटा किवीका बिरुवाले उत्पादन दिन थालेका छन्। यस्तै केही जग्गा लिजमा र आफनै गरी करिब ६० रोपनी जग्गामा एक हजार बढी सुन्तलाका बिरुवा छन्। करिब पाँच सय बिरुवाले राम्रो उत्पादन दिएको न्यौपानेले बताए।

बिहान साँझ र बिदाको दिनलाई सदुपयोग गर्दै आफैँ बारीमा खट्ने गरेको उनको भनाइ छ। नियमित रुपमा नभई आवश्यकताको आधारमा दैनिक ज्यालादारीमा कामदारहरु लगाउने गरेको न्यौपानेले बताए।

कृषि कर्मबाट नेपालमै केही गर्नुपर्छ भन्ने उद्येश्यलाई श्रीमतीको राम्रो साथ रहेकाले आफू अहिले यहाँसम्म आउन सकेको न्यौपानेले बताए। श्रीमानले गर्न लागेको कामलाई आफूले सक्दो सहयोग गर्दै आएको र कृषि कर्मको रेखदेख गर्दै आएको श्रीमती सृजना न्यौपाने बताइन्।

हर्मिचौर, अर्वेनीमा कुनै विवाह, व्रतबन्ध र पूजाआजा भएमा तरकारीको माग सिधै आउने भएकाले घरमै पुर्याइदिने गरेको न्यौपानेले बताएका छन्।

नेपालमै स्थिर भएर काम गर्नेहरुका लागि विदेश जान नपर्ने उहाँले सुझाब दिए। स्थिर भएर काम गरेमा नेपालमै विदेशमा भन्दा राम्रो आम्दामी लिन सकिने उनको अनुभव छ।

अहिलेका युवाहरुलाई बिदेश जाने भन्दा पनि नेपालमै मेहनत गर्न र घरपरिवाको साथमा रमाउँन उहाँले सुझाब दिएका छन्। आफूले उत्पादन गरेको कृषि उपजलाई  बजारको समस्या नभएको न्यौपानेले बताए। आफ्नै गाडी पनि भएकाले मिर्मी, गल्याङ र बुटवलसम्म कृषि उपज बिक्री हुने गरेको छ।

उनले गरेको कृषि कर्मलाई हेर्न जिल्ला र जिल्ला बाहिरबाट पनि कृर्षक र कार्यालयहरु जाने गरेका छन्।

कृषि ज्ञान केन्द्रको २८ लाख

न्यौपाने लगायतले समूहमा गरेको किबी खेती र ताजा तरकारीका लागि ज्ञानकेन्द्रको २८ लाखको कार्यक्रम रहेको जनाएको छ। न्यौपाने जस्ता कृर्षकहरुलाई जिल्लामा नमुनाका रुपमा अगाडि बढाउने र युवाहरुलाई स्वदेशमै टिकाई राख्नेमा ज्ञान केन्द्र सधैँ साथमा रहेको कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.