|

तुलसीपुर : तुलसीपुर–९ दोघरेस्थित तत्कालीन राप्ती अञ्चल आयुर्वेद औषधालय अहिले राप्ती आयुर्वेद चिकित्सालयमा परिणत भएको छ। अस्पतालको नाम फेरिए पनि सबै पुरानै संरचना हुँदा सेवा दिन समस्या भएको अस्पतालको भनाइ छ।

चिकित्सालयमा मासिक ६–७ सय विरामी उपचारका लागि आउने गरेका चिकित्सालयका प्रशासन प्रमुख चिकित्सक डा. मदन बिसीले बताए।

अस्पतालमा अहिले पनि पञ्चायतकालकै दरबन्दी हुँदा भने जस्तो सेवा दिन नसकेको उनको भनाइ छ। स्वीकृत दरबन्दी कम भएको र कार्यक्रम करारका २२ जना कर्मचारी रहेको उनको भनाइ छ। अहिले यो अस्पतालको मातहतमा जिल्लाका ६ स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन भइरहेको र त्यहाँ पनि करारका कर्मचारी रहेको उनले बताए।

अस्पतालमा अहिले पनि एकजना चिकित्सक, एकजना कविराज, एकजना वैद्य, एकजना लेखापाल र दुईजना कार्यालय सहयोगीको दरबन्दी रहेको उनले बताए। उनका अनुसार सबै स्थानीय तहमा आयुर्वेदको सेवा नभएको अवस्थामा तुलसीपुर उपमहानगरमा प्रदेश मातहतका दुईवटा आयुर्वेद अस्पताल हुँदा समस्या भएको छ।

उनले भने, ‘५ किलोमिटर दूरीमा बिजौरीमा प्रादेशिक आयुर्वेद चिकित्सालय रहेको छ। यसलाई अस्पताल भनिएको छ, अस्पतालमा अन्तरंग सेवा सहितको विकास गर्नुपर्ने हो तर यो अहिलेसम्म विकास हुन सकेको छैन।’

उनका अनुसार अरू जिल्ला तथा पालिकामा आयुर्वेद अस्पताल नभएको अवस्थामा एकै ठाउँमा प्रदेश मातहतको अस्पताल हुँदा दुबै अस्पतालको विकास भएको छैन। उनले भने, ‘बिजौरीमा प्रादेशिक अस्पताल छ। यदि यो अस्पताल प्रदेशको राजधानी भएको ठाउँमा वा घोराही उपमहानगरमा भएको भए विकास हुन्थ्यो, होला तर आधारभूत आयुर्वेद स्वास्थ्य सेवा सबै ठाउँमा हुनु राम्रो हो। हामी जुन हिसाबले अगाडि बढ्नुपर्ने हो, अहिलेसम्म विकास भएको छैन।’

यस्तै चिकित्सालयमा दरबन्दी हुनुपर्ने समेत बताए। आयुर्वेदमा विशेषज्ञ सेवा, मौलिक किसिमका थेरापी, पञ्चकर्म लगायतका सेवा हुने भन्दै उनले अस्पतालको विकास र दरबन्दी भएमा त्यो सेवा दिन आफूहरू तयार रहेको समेत बताए। 

सेवा पाउँदा विरामी खुसी
राप्ती आयुर्वेद चिकित्सालयमा विरामी सेवा लिन आउने गरेका छन्। अस्पतालबाट राम्रो सेवा पाउँदा धेरै खुसी लाग्ने तुलसीपुर–९ बेलुवाकी पार्वता भट्टराईले बताइन्। उनले आयुर्वेदको औषधि खाँदा रोग निको हुने भएकाले पनि आफूहरूलाई समस्या भएको वेला आउने गरेको बताइन्।

उनले अस्पतालमा पाइने जति औषधि निःशुल्क लिने र अरू बाहिर किन्ने गरेको बताइन्। यस्तै उनले यस अस्पतालको विकास हुनुपर्नेमा समेत बताइन्। नजिकका विरामीलाई उपचार गर्न आउन सहज हुने भएको भन्दै उनले यसको विकास हुनुपर्ने बताइन्।

दाङका ६ गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र

राप्ती आयुर्वेदले स्थानीय तहसँगको समन्वयमा दाङका ६ वटा गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन गरी सेवा दिँदै आएको छ। एउटै केन्द्रमा मासिक ३–४ सयभन्दा बढी विरामी आउने गरेका छन्।

बबई, दंगीशरण, शान्तिनगर लगायत स्थानीय तहमा सेवाकेन्द्र सञ्चालन भइरहेको छ। बबई गाउँपालिका–६ पञ्चकुलेमा रहेको सेवा केन्द्रबाट मासिक ३–४ सय विरामी सेवा लिन आउने गरेका छन्। यस्तै आयुर्वेद पद्धतिप्रति नागरिकको विश्वास बढ्दो छ।​ बबई गाउँपालिका–२ रातामाटाकी चन्द्रा वलीले पहिलोपटक सेवा केन्द्रमा उपचार गर्न आएको बताइन्।

उनले भनिन्, ‘भाउजू यहाँ आएर उपचार गर्नु भएको रहेछ। उहाँलाई यहाँबाट लिएर औषधि खाँदा ठिक हुँदै गएको छ। मैले पनि भाउजूले लगेको औषधि खाँदा ठिक भयो, त्यो भएर उपचार गर्न यहाँ आएकी हुँ।’

उनका अनुसार पहिलो पटक आयुर्वेदमा उपचार गर्न आएको र निको हुनेमा विश्वास लागेको छ।

सेवाकेन्द्रबाट उपचारसँगै परामर्श : कविराज भण्डारी

सेवाकेन्द्रका प्रमुख कविराज बेलाराम भण्डारीका अनुसार बबई र शान्तिनगरका मासिक ४ सय विरामी सेवा लिन आउने गर्छन्। आफूहरूले विरामीलाई उपचारसँगै योग लगायत विभिन्न कुराको परामर्श दिने गरेको उनले बताए। उनका अनुसार बबई गाउँपालिकाका ७ वटै वडाका र शान्तिनगर गाउँपालिकाका १, २, ५, ६ र ७ वडाका नागरिक सेवा लिन आउँछन्।

यस्तै बबई गाउँपालिकाले २३ प्रकारका आयुर्वेद औषधि खरिद गरिदिएको र विरामीले निःशुल्क उपचारसँगै औषधि दिने गरेको उनले बताए।

उनले भने, ‘हामीले यहाँबाट योगसम्बन्धी परामर्श सेवा, खानपिन अर्थात्, भान्सा सुधारसम्बन्धी, जीवन शैलीसम्बन्धी परामर्श, पञ्चकर्म सेवा र विरामीको समस्यानुसार सेवा दिने गरेका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.