'उपचार गरौँ पैसा छैन'

|

दाङ : तुलसीपुर उपमहानगरपालिका ५ रामनगर बस्ने गोमा र वेदबहादुर घर्तीमगरका एक छोरी र एक छोरा छन्। 

दुई सन्तान ईश्वरको बरदान भने जस्तै उनीहरूको सानो परिवार दुखसुख गरी रमाइरहेका थिए तर त्यो रामरमाइलो धेरै दिन टिकेन।
 
आजभन्दा करिब ४ वर्ष पहिले १९ वर्षीया छोरी हीरामा एकाएक स्वास्थ्य समस्या देखियो। गोमा र वेदबहादुरले स्थानीय अस्पतालमा  उपचार गर्न लगे तर केही सीप नलागेपछि बाँकेको नेपालगञ्ज हुँदै काठमाडौँ लगे। काठमाडौँमा उपचार गर्दा कलेजोमा समस्या भएको भन्ने रिपोर्ट आयो। त्यसपछि औषधि खुवाउँदा शरीरले काम गर्न छाडेको गोमाले बताइन्।
 
 उनले भनिन्, ‘शुरुमा नानीको शरीर सुन्नियो, पछि दाहिने हात र खुट्टा नचल्ने समस्या भयो, तुलसीपुर, घोराहीमा उपचार गरेका थियौँ। उपचार सम्भव नभएपछि काठमाडौँस्थित केएमसी लग्यौँ। त्यहाँ उपचार गर्दा सबै रिपोर्ट ठिक थियो तर कलेजोमा खराबी भएको रिपोर्ट आयो। अनि औषधि खुवाउन थालेपछि शरीरले काम गर्न छाड्यो।’

उनका अनुसार अस्पतालमा उपचार गर्दा ठिक नभएपछि धामीझाँक्री समेत लगाइएको थियो तर निको भएन।  छोरी कक्षा ८ मा पढ्दा बिरामी भएको भन्दै उनले आर्थिक अभावका कारण घरमा थला परेको समेत बताइन्।
 
उनले भनिन्, ‘ हेमन्तपुरमा रहेको शहीद विद्यालयमा कक्षा ८ मा पढ्दै गर्दा छोरी बिरामी परी। अहिले छोरीसँग पढ्नेहरू १२ कक्षा पुगे तर मेरी छोरी हिँड्न, बोल्न सक्दिनन्।’ 

गोमा र वेदबहादुरले छोरी थला परेपछि अर्को सन्तान १६ वर्षीय कमलको मुख हेरेर चित्त बुझाउँदै आएका थिए। निजी विद्यालयमा पढ्ने कमल सबै कुरामा अगाडि नै थिए तर गोमा र वेदबहादुरलाई फेरि अर्को बज्रपात पर्‍यो छोरीकै जस्तो समस्या छोरा कमललाई पनि देखियो। दुबै सन्तानमा एउटै समस्या देखिएपछि उनीहरु निकै आत्तिए।
 
ज्याला मजदुरी गरेर दैनिकी चलाउने परिवारमा एक त पहिलेदेखि छोरी बिरामी पर्दा उपचार गर्न समस्या भइरहेको थियो भने फेरि छोरालाई उस्तै समस्या भएपछि साहुबाट ऋण गरेर उपचार गर्न बाँकेको नेपालगञ्ज र काठमाडौँ लगे। 

छोरालाई पनि कलेजोमा समस्य देखाएको र औषधि खुवाउँदै गर्दा छोरीको जस्तो अवस्था भएको गोमाले भक्कानिँदै भनिन्। 

'दैव पनि हामीलाई नै लागेको रहेछ। एक पछि अर्को सन्तान बिरामी हुँदा हामीसँग उपचार गर्ने पैसा छैन्, पहिला ऋण लिएको पैसा तिर्न सकेका छैनौँ, जसले गर्दा हाम्रा बिरामी सन्तान घर मै थला परेका छन्’, उनले दुख पोखिन्।

उनका अनुसार आर्थिक अभावका कारण राम्रो अस्पतालमा उपचार गर्न लैजान समस्या भएको छ। उनले थपिन्, ‘हामी दैनिक ज्याला मजदुरी गरेर खाने परिवार हौँ। एक जनाले यी दुई छोराछोरीलाई हेर्न ठिक्क हुन्छ। एक जनाले काम गरेर खान ठिक्क हुन्छ।’ 

अहिले गोमाका दुबै सन्तान अर्धचेत अवस्था छन् तर छोराछोरीले पढाइमा पाएका पुरस्कार तथा प्रमाणपत्र हेर्दा भक्कानिएर आउने उनको भनाइ छ। परिवारमा राम्रो भएपछि मात्र सबैले राम्रो मान्ने भन्दै उनले दुख परेका बेला कसैले साथ नदिने गरेको गुनासो गरिन्।  

वेदबहादुरले विगत ४ वर्षदेखि आफूहरू निकै पीडामा बाँचिरहेको बताए। उनले भने,‘ हामीलाई जस्तो पीडा कसैलाई छैन होला। यस्तो कसैलाई पनि नपरोस्,। छोराछोरीको अवस्था देख्दा हाम्रो मन थामिँदैन। दिनरात रोएर नै बितिरहेको छ। राम्रो ठाउँमा उपचार गरेर पहिलेको जस्तै देख्ने हाम्रो चाहना भए तापनि आर्थिक अभावका कारण घरमा थला परेका छन्।’

उनले छोराछोरीको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.