|

गुल्मी : गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ। परम्परागत खेतीकै कारण उत्पादन घटेको बताइएको छ।

जिल्लाका किसानहरूले परम्परागत रुपमा खेती गर्नु, बगैँचामा सूक्ष्म तत्व, मलखादको प्रयोग नगर्नुका कारण बोट तथा रसिलो फलहरूमा कमी आएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको  छ।

गत वर्ष छ हजार ९३८ दशमलव ४ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष छ हजार ५७२ दशमलव ४ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए। 

गत वर्ष २९ करोड ३७ लाख दुई हजार ४७२ रुपैयाँको सुन्तला उत्पादन भएको थियो भने यस वर्ष २३ करोड ७८ लाख ५५ हजार १५६ रुपैयाँको सुन्तला उत्पादन भएको भण्डारीले बताए। गत वर्ष जिल्लाबाट १३ करोड २१ लाखको सुन्तला जिल्लाबाहिर निर्यात भएको थियो भने यस वर्ष १२ करोड ८४ लाखको सुन्तला निर्यात भएको छ।

यस वर्ष उत्पादन घट्नुमा गत वर्ष बढी उत्पादन हुनु, फल पातलो लाग्नु, फलका दानाहरू साना हुनु रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ। जिल्लामा किसानहरूले परम्परागत रूपमा खेती गर्नु, बगैँचामा सूक्ष्म तत्व, मलखादको प्रयोग नगर्नुका कारण बोट तथा रसिलो फलहरूमा कमी आउनु, विभिन्न रोगहरू देखा पर्नु,सिञ्चाइ तथा बोटहरूको काँटछाँटमा कम ध्यान दिनु लगायतका समस्या रहेको ज्ञानकेन्द्रले जनाएको छ।

जिल्लामा गुणस्तरीय विरुवा उत्पादनका लागि नर्सरी व्‍यवस्थापनमा सुधार गर्ने, विरुवाहरूको न्यूनतम गुणस्तरको मापदण्ड निर्धारण गर्ने, जालीघर पद्धतीमा कलमी विरुवामा उत्पादन प्रविधिको बिस्तार गर्ने, जिल्लामा बिजु विरुवा रोपणको कार्यलाई पूर्ण रुपमा अन्त्य गर्ने गरी कार्यालयले काम गरिरहेको जनाएको छ।

यस्तै, प्रभावकारी रुपमा रोगकीराको ब्यबस्थापन गर्ने, उत्पादन क्षेत्र थप निर्माण गर्दै जाने, फल टिपाई, ग्रेडिङ, भण्डारण, ढुवानी र बजार व्‍यवस्थापनमा सुधार गर्दै लाने गरी आफूहरूले योजना बनाएको कार्यालयले जनाएको छ। यसका साथै स्थानीय तहका कृषि प्राविधिकहरूको क्षमता अभिवृद्धि गर्ने कार्य तय गरेको भण्डारीले बताए।

जिल्लामा फल दिने नदिने गरी कुल एक हजार २७ हेक्टर क्षेत्रफलमा चार लाख १० हजार आठ सय सुन्तला विरुवा छन्। जसको ६० दशमलव ६ प्रतिशत  अर्थात दुई लाख ४९ हजार दुई  बोटहरूले उत्पादन दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.