|

काठमाडौं : तामाङ समुदायले नयाँ वर्षको रुपमा लिने सोनाम ल्होसार आज शनिबार धुमधामसँग मनाइरहेका छन्। सोनाम ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। ल्होसारको शुभकामना दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत टुँडिखेल पुगेका छन्। प्रधानमन्त्रीको आवतजावत र भिडलाई मध्यनजर गर्दै त्यस क्षेत्रमा उच्च सुरक्षा व्‍यवस्था गरिएको छ।

तामाङ समुदायले आज मुसा वर्गलाई विदाई गरी गाई वर्गलाई स्वागत गरेका छन्। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी सोनाम ल्होसार पर्व मनाउने चलन छ। समुदायका सबैजना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन्।

तामाङ समुदायमा आज छोरी चेलीलाई बोलाएर टीका लगाइदिने गरिन्छ। ल्होसार मनाउने समुदायमा ल्हो अर्थात् वर्षहरु १२ वटा हुन्छन्। ती वर्षका नामलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ। मुसाबाट सुरु हुने यी वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.