|

दोलखा : गौरीशंकरदेखि नुम्बुर हुँदै सगरमाथासम्मको दृश्यावलोकन गर्न चाहनुहुन्छ भने चेर्दुङ उपयुक्त ठाउँ हो। ​दोलखा जिल्लाको जिरीको शिर भएर उभिएको सुन्दर डाँडा हो, चेर्दुङ।

समुद्र सतहदेखि करिब ३७०० मिटरको उचाइमा रहेको यो डाँडा प्राकृतिक रूपमा मनोरम त हो नै, हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल पनि हो।

चेर्दुङ डाँडैबाट सगरमाथाको चुचुरो देखिनुका साथै गौरीशंकर र नुम्बुर हिमाल आँखै अगाडि ठोकिन आउँछन्। रामदुङ, छेकिगो, टासीलाप्सा र आमाबामरेजस्ता दर्जनौँ हिमशृंखलाको मनोरम दृश्य देख्न सकिन्छ।

दोलखाका साथै रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बुु लगायतका दृश्य पनि हेर्न सकिन्छ। सबेरै सूर्योदय र अपराह्न सूर्यस्तको दृश्य हेरेर आनन्द लिन सकिन्छ।

साथै बाटोमा पर्ने क्याङ्से पोखरी र चौरीगोठले पनि यात्राको क्रममा आनन्द दिन्छन्। सुन्दर हरियाली पाखापखेरासँगै चराचुरूङ्गीका भाका पनि सुन्न पाइन्छ। बाटोमा पर्ने गोठमा बनिरहेका छुर्पी चाख्न पनि पाइन्छ। 

कसरी पुग्ने ?  

जिरी नगरपालिकाको धेरै ठाउँबाट चेर्दुङ पदयात्रा गर्न सकिन्छ। जिरीबजारमा शुरु भएर गोकुलगंगा पार्क–रमिते डाँडा–पटासे डाडा–क्याङ्से पोखरी हुँदै चेर्दुङ पुग्न ६-७ घण्टाको यात्रा गर्नुपर्छ। 

अर्को मार्ग जिरी बजार-रातमाटे-कुथामे-जोरमाने-क्याङ्से पोखरीसम्म अनि त्यहाँबाट ३ घण्टा पैदल यात्रा पछि चेर्दुङ डाँडा पुग्न सकिन्छ। मोटरमा जाने हो भने १ देखि बढीमा दुई घण्टामा चेर्दुङ पुगिन्छ।

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.