|

काठमाडौं : थुलुङ दुधकोशी गाउँपालिकाले जारी गरेको शैक्षिक श्वेतपत्रले शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव परेको पाइएको छ। बुधबार गाउँपालिकाले आयोजना गरेको प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिबीच अन्तरक्रिया कार्यक्रममा बोल्ने सबैले शैक्षिक गुणस्तर वृद्धिमा शैक्षिक श्वेत पत्रले सकारात्मक प्रभाव पारेको बताएका हुन्।

शैक्षिक गुणस्तर वृद्धिका लागि २०८० जेठ २१ गते पालिकाले १६ बुँदे शैक्षिक श्वेत पत्र जारी गरेको थियो। उक्त श्वेत पत्रका कारण विद्यालय प्रशासन र व्यवस्थापन समितिलाई काम गर्न सहज बन्नका साथै शैक्षिक गुणस्तरमा समेत वृद्धि भएको पाइएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।

कार्यक्रममा पालिकाभित्रका ५२ वटा विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षको सहभागिता रहेको प्रवक्ता कार्कीले बताए।

उनका अनुसार विद्यालायका प्रधानाध्यापक र व्यवस्थापन समितिले विगत र वर्तमानको शैक्षिक अवस्थाका बारेमा जानकारी दिँदै आगामी योजनाका लागि सुझावसमेत दिएका छन्।

गाउँपालिकाले शैक्षिक क्षेत्रमा गरेको लगानीअनुसार गुणस्तरीयता कायम गर्न लागिरहेको कालिकादेवी माध्यमिक विद्यालाय पन्चनका प्रधानाध्यापक बिष्णु ढुङ्गेलले बताए। गाउँपालिका सरकार प्रमुखको शिक्षा क्षेत्रमा देखिएको लगाब तथा उत्प्रेरणाका कारण आफूहरू थप सक्रिय बन्ने गरेको जोगरा आधारभूत विद्यालयका प्रधानाध्यापक सैमान नेपालीले बताए।

विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र स्थानीय सरकारबीच आवश्यक छलफल गरी शैक्षिक गुणस्तरका लागि काम गरिरहेको देउसा माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलकबहादुर राईले बताए। स्थानीय सरकारको सहयोगका कारण आफूहरूलाई काम गर्न सहज भएको उनको भनाइ छ।

यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राईले स्थानीय सरकार आउनुपुर्व कहालीलाग्दो अवस्थामा रहेको शैक्षिक अवस्थामा सुधार आएको प्रति खुशी व्यक्त गरे। शिक्षक र विद्यार्थी ११ बजेसम्म पनि विद्यालय नपुग्नेदेखि नियमित नहुनेलगायत कयौं समस्या रहेको सम्झँदै अध्यक्ष राईले पछिल्लो समयको सुधार सन्तोषजनक रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.