|

धनुषा : मधेश प्रदेशको मन्त्रिपरिषद् सोमवार पुनर्गठन भएको छ।

पुनर्गठनमा मधेश प्रदेश नेकपा एमाले संसदीय दलका नेता सरोज यादव मन्त्री भएका छन्। यादवलाई मुख्यमन्त्री सरोजकुमार यादवले भौतिक तथा पूर्वाधार मन्त्रीमा नियुक्त गरेका छन्।

उनले सोमवार नै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। 

मुख्यमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेर एमालेलाई सत्तामा प्रवेश गराएसँगै कांग्रेस सरकारबाट बाहिरिएको छ।

नयाँ सत्ता समीकरण बने पनि मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस सरकारमै थियो। कांग्रेसबाट प्रदेश सरकारमा रहेका कुनै पनि मन्त्रीले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। 

एमालेभित्र मन्त्री बन्न नेताहरुबीच धेरै विवाद देखिएपछि पहिलो चरणमा यादवलाई मात्रै मन्त्री बनाइएको एमाले मधेश प्रदेशले जानकारी दिएको छ।

मुख्यमन्त्री यादवले एमालेलाई सरकारमा सामेल गरेर मन्त्रीमण्डल पुनर्गठन गरेका छन्। मुख्यमन्त्री यादवले संघको सत्ता गठबन्धनमा भएको फेरबदलअनुसार नै प्रदेश सरकार पनि चल्ने भएकाले तत्काल एमालेको संसदीय दलका नेता यादवलाई भौतिक पूर्वाधारमन्त्रीको रुपमा शपथग्रहण गराएको बाँकी सहमतिपछि हुने मुख्यमन्त्री यादवले बताए।

एमालेसँग कति र कुन मन्त्रालयका विषयमा हालसम्म कुनै सहमति हुन नसकेको उनले बताए।

एमालेबाट नवनियुक्त मन्त्री यादवले मुख्यमन्त्रीसँग एमालेलाई ४ मन्त्री र एक राज्यमन्त्री दिने सहमति भइसकेको बताए।

कांग्रेसबाट सरकारमा संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकासमन्त्री, मोहम्मद समिम गृह तथा सञ्चारमन्त्री र वीरेन्द्र सिंह स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.