|

काठमाडौँ : सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरासँगको बयान सकिएको छ। 

बुधबार र आज बिहीबार दुई दिनमा महरासँगको बयान सकिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले थाहाखबरलाई जानकारी दिए। 

उनलाई बयानपछि आजै नर्भिक अस्पतालमा ल्याएर भर्ना गरिएको छ। बयान लिने क्रममा डिस्चार्ज गरेर लैजाने र बयान सकिएपछि पुन: भर्ना गर्ने क्रम दुई दिन जारी रहयो। एक अधिकृतका अनुसार बयानका क्रममा उनी निक्कै मलिन देखिएका थिए। विभिन्न प्रकारका औषधि खाइरहेकाले उनलाई समातेर लैजानुपर्ने अवस्था देखिएको बताइएको छ। 

यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि बयान लिन सुरु भएको थियो।  उक्त प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अनुसन्धान गरिरहेको छ। 

उनलाई चैत ५ मै काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको थियो। अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि नर्भिक अस्पतालमा राखिएको छ।

आज थपिएको म्याद सकिने भए पनि शुक्रबार मात्रै आवश्यक प्रक्रिया अघि बढाइने सिआइबीले जनाएको छ। उक्त प्रकरणको अनुसन्धान गरिरहेका एक अधिकृतले उनी हाजिर जमानीमा छुट्न सक्ने थाहाखबरसँग बताएका छन्। 

'अहिले निर्णय नै भइसकेको छैन, अनुसन्धान टिमकै संयुक्त निर्णय भएपछि म्याद थपका लागि निवेदन दिने की हाजिर जमानीमा छाड्ने भन्ने यकिन हुन्छ तर हाजिर जमानीको सम्भावना धेरै छ।' 

स्वास्थ्य अवस्था कमजोर रहेकाले पनि अनुसन्धान अधिकृतलाई प्राप्त अधिकार प्रयोग गरेर हाजिर जमानीमा छाड्न सकिने व्यवस्था रहेको जनाइएको छ। 

‘अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारणसहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौट वा जमानत लिई वा निजलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सक्नेछ।’ मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १५ मा उल्लेख छ। 

काठमाडौँ जिल्ला अदालतले पनि हिरासतमा राख्न सात दिन माग गरिएको समयलाई घटाएर ४ दिनमा झारेको थियो। सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले शुक्रबार मात्रै आवश्यक प्रक्रिया अघि बढाइने बताए। 

गत साउन २ गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उनको नाम जोडिएको छ। 

मुख्यगरी भेपभित्र राखेर ल्याइएको सुन छुटाउन उनले पहल गरेका थिए। उनले आफूले असल नियतले मात्रै पहल गरेको यसअघि सार्वजनिक कार्यक्रममै बताएका थिए। 

त्यसबेला सिआइबीले उनलाई बयान कागज गराएर मात्रै छाडेको थियो। बयान कागज गरेर छाड्नुलाई सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले सिआइबीको त्रुटी औँल्याएको छ। सोही कारण सुन प्रकरणको अनुसन्धानमा सक्रिय सिआइबी प्रमुख किरण बज्राचार्यसहित अन्य तीन अधिकृतलाई त्यहाँबाट हटाइएको छ।

सोही प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन्। राहुल हाल पुर्पक्षका लागि थुनामा छन्। सिआइबीले सुन प्रकरणमा पुरक निवेदन सरकारी वकिल समक्ष बुझाउने तयारी गरेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.