|

रौतहट : वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मी निर्वाचित भएको २२ महिनाको अवधिमा ९ जना प्रशासकीय अधिकृत फेरिएका छन्।  विभिन्न बाधा र विवादका कारण सो पालिकामा २२ महिनाको अवधिमै ९ जना प्रशासकीय अधिकृत फेरिएका हुन्।

गत २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुख विनोदप्रसाद कुर्मी निर्वाचित भएपछि पूर्व नगर प्रमुखकै पालोदेखि निमित्त प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका नागेन्द्र यादवलाई हटाएर उपसचिव खिमबहादुर भुजेललाई ल्याइएको थियो।

प्रमुख प्रशासकीय अधिकृतमा भुजेल आएपछि सो पालिकामा व्यापक अनियमितता भएको भन्दै विभिन्न राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिहरुले विवाद गर्न थालेपछि भुजेललाई मन्त्रालयले हटाइएको थियो।

भुजेललाई हटाएलगत्तै प्रमुख प्रशासकीय अधिकृतको रूपमा ओमप्रसाद पाण्डेको आगमन भयो। पाण्डे पनि धेरै दिन टिक्न सकेन। पाण्डे करिब एक महिना काम गरेर घर बिदामा गएपछि उनी फर्केर आएनन्। उनले बिदा अवधिमै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेर आफ्नो अन्तै सरुवा गराए।

त्यसपछि सो पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बन्यो। लामो समय प्रशासकीय अधिकृतविहीन भएपछि सोही पालिकामा छैठौँ तहका स्वास्थ्य शाखा प्रमुख रासनारायण पटेललाई २०७९ साल असार महिनाको अन्तिम सातामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार ३० गतेसम्मको लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो। त्यसपछि साउन १ गतेबाट फेरि सो पालिका प्रशासकीय अधिकृतविहीन बन्यो।

पुनः लामो समयदेखि प्रशासकीय अधिकृतविहीन बनेको वृन्दावन नगरपालिकामा २०८० असोज २६ गते प्रमुख प्रशासकीय अधिकृतको रूपमा सुरेन्द्र प्रधानलाई पत्र दिएको थियो। तर, प्रधान पालिकामा हाजिर गर्न ढिलो गरेपछि कार्तिक १ गते पुनः सोही पालिकामा कार्यरत स्वास्थ्यतर्फका कर्मचारी रासनारायण पटेललाई आर्थिक कारोबार गर्ने गरी  जिम्मेवारी दिएको थियो।

मन्त्रालयले दुईजनाको जिम्मेवारी दिएपछि गत कार्तिक २ गते छुट्टाछुट्टै दुवैजना हाजिर भएका थिए। पटेललाई नगरप्रमुख र प्रधानलाई उपप्रमुखले सो पालिकामा हाजिर गराएका थिए। सोही विषयमा विवाद सिर्जना भएपछि पटेलको जिम्मेवारी खोसिएको थियो र प्रधानलाई रौतहटकै फतुवा बिजयपुर नगरपालिकामा सरुवा गरिएको थियो। 

त्यसपछि फेरि वृन्दावन नगरपालिका प्रशासकीय अधिकृतविहीन बन्न पुग्यो। प्रशासकीय अधिकृतविहीन भएकै बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत रञ्जयकुमार पटेललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो। तर, अधिकृत पटेल पनि टिक्न सकेनन्। उनलाई अनाधिकृत चेक काट्न दबाब दिएपछि कार्यालय आउनै छोडेको समाचार स्रोतले जनाएको छ।

नगरप्रमुखले अनाधिकृत रूपमा गरेको तेल खर्च र कामै नभएको योजनाको चेक काट्न दबाब दिएपछि अधिकृत पटेल कार्यालय आउन छोडेको समाचार स्रोतको दाबी छ।

त्यसपछि गत फागुन महिनामा चन्द्रपुर नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वृन्दावन नगरपालिकाको थप जिम्मेवारी दिइयो।

प्रमुख प्रशासकीय अधिकृतको रूपमा तिवारी आएपछि डोर हाजिरमा काम गर्दै आएका कामदारको तलब र सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो। तिवारीले डोर हाजिरमा काम गर्दै आएका कामदारहरूलाई कामै नगरेको दिनको पनि हाजिर बनाएर भुक्तानी दिएको भन्दै विभिन्न वडाका वडा अध्यक्षहरूले विरोध गर्न थालेपछि अधिकृत तिवारी लुसुक्क मन्त्रालयमा गएर राजीनामा बुझाएर आएको एक वडा अध्यक्षले बताए।

उनले विवादमा पर्नुभन्दा राजीनामा बुझाएकै बेस ठानेर राजीनामा दिएको समाचार स्रोतको भनाइ रहेको छ। प्रमुख प्रशासकीय अधिकृत तिवारीले राजीनामा दिएपछि नगरप्रमुख विनोदप्रसाद कुर्मी तनावमा परेका थिए। नगरप्रमुख कुर्मीले टिकाउ हाकिम खोज्दै पुनः त्यहीँ पुरानो हाकिम खिमबहादुर भुजेलको शरणमा पुगेको बताइएको छ। पहुँच र पावर पुर्‍याएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट भुजेलको वृन्दावन नगरपालिकामा सरुवा गराएर ल्याएका हुन्।

भुजेल आइतबार नगरपालिकाको कार्यालय विश्रामपुरमा हाजिर भएका छन्। भुजेललाई नगरप्रमुख विनोदप्रसाद कुर्मीले हाजिर गराएका हुन्। भुजेल हाजिर भएपछि नगर उपप्रमुख संगीतादेवीराम असन्तुष्टि जनाएकी छिन्।

रामले थाहाकर्मीसँग कुराकानी गर्दै भनिन्, 'जसले नगरपालिकामा बेथिति ल्याएको हो उसैलाई फेरि हाकिम बनाएर ल्याइएको छ, यसमा मेरो आपत्ति छ।'

यसअघि पनि वृन्दावनमा व्यापक अनियमितता भएको भन्दै निर्वाचित जनप्रतिनिधिदेखि विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता विभिन्न माग राख्दै डेढ महिना लामो समयसम्म रिले अनशन बसेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.