|

काठमाडौँ : ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेशियालाई पराजित गर्न १४४ रनको लक्ष्य पाएको छ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै मलेशियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १४३ रन बनाएपछि नेपालले जितका लागि १४४ रनको लक्ष्य पाएको हो।

मलेशियाका ओपनर महमद आमिरले दिपेन्द्रसिंह ऐरीको बलमा कट एन्ड बोल्ड हुनुअघि १८ बलको सामना गरेर ३ चौकाको सहायताले १६ रन बनाए।

मलेशियाका लागि कप्तान वीरनदीप सिंहले कप्तानी पारी खेल्दै अविजित रहेर टोलीका लागि सर्वाधिक ७२ रन बनाए। उनले यसका लागि ५७ बल खेलेर ४ छक्का र ४ चौका प्रहार गरे।

शार्विन मुनियान्डीले ३३ बल खेलेर २ छक्का र ३ चौका प्रहार गर्दै ४१ रन बनाए। अविनाश बोहराले १७औँ ओभरमा उनलाई बोल्ड गर्दा बल्ल मलेशियाको दोस्रो विकेट खसेको थियो। 

पहिलो छैटौँ ओभरमा कुल ३५ को स्कोरमा मलेशियाको पहिलो विकेट खसालेको नेपालले १६औँ ओभरसम्म दोस्रो विकेट लिन सकेन। आज नेपालको बलिङ र फिल्डिङ केही फितलो देखिएको थियो।

सैय्यद अजिजका रुपमा मलेशियाको तेस्रो विकेट खस्यो। १८औँ ओभरमा १२६ को कुल स्कोरमा मलेशियाको तेस्रो विकेट खस्यो। ७ बलमा १ चौका हान्दै ६ रन बनाएका अजिजलाई दिपेन्द्रसिंह ऐरीको बलमा कुशल मल्लले क्याच आउट गरे।

नज्मस सकिबले ५ बलमा अविजित ३ रन बनाए।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले २ विकेट र अविनाश बोहराले १ विकेट लिए।

१० राष्ट्र सहभागी यो प्रतियोगिता यस पटक टी-२० ढाँचामा हुँदै छ। यसअघिको प्रतियोगिता भने एकदिवसीय ढाँचामा खेलाइएको थियो।

डिफेन्डिङ च्याम्पियन नेपाल मलेशियालाई आजको खेलमा पराजित गर्दै सुखद शुरुआत गर्न चाहन्छ भने मलेशिया पनि नेपालविरुद्ध हारको शृंखला रोक्ने सुरमा छ।

टी-२० अन्तरराष्ट्रियमा हालसम्म यी दुईबीच ९ खेल भएका छन्। तीमध्ये नेपालले ८ र मलेशियाले एक खेल जितेका छन्।

एसीसी प्रिमियर कपको विजेताले एशिया कपमा स्थान बनाउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.