|

काठमाडौं : स्वास्थ्य बिमा मार्फतको सेवा लिएबापत बिमितहरुले अबदेखि २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने भएको छ।

यो रकम भने स्वास्थ्य बिमा मार्फतको सेवा दिने निजी स्वास्थ्य संस्थाहरूमा लिँदा मात्रै तिर्नुपर्ने हो। तर सरकारी स्वास्थ्य संस्थाहरुमा बिमाको सेवा लिँदा भने कुनै शुल्क तिर्नुपर्ने व्यवस्था छैन।

स्वास्थ्य बीमा बोर्डको गत २४ फागुनमा बसेको बोर्ड बैठकले सेवा प्रदायक सरकारी बाहेकका अस्पतालमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने निर्णय गरेको थियो।

यो नियम वैशाख एकदेखि लागू हुने यसअघि नै बिमा बोर्डका अध्यक्ष डा गुणराज लोहोनीले जनाएका थिए। सोही पूर्वनिर्णयअनुसार आज देखि २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने भएको हो।

बोर्डले सरकारी अस्पतालहरुको सक्षमता विकास गर्न र बिरामीको सरकारी अस्पतालप्रति आकर्षण वृद्धि गर्न यस्तो निर्णय लिइएको बताएको छ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सह भुक्तानी (को पेमेन्ट) लागू गर्ने कार्यविधि, २०८० संशोधन गरेर यस्तो निर्णय कार्यान्वयनमा आएको बताएको छ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका सरकारी बाहेकका सबै खाले अस्पतालहरुको सिस्टममा संशोधन गरिसकेको, त्यसका लागि पत्राचार गरिसकेको र दर्ता सहयोगी, तथा जिल्लास्थित दर्ता अधिकारीहरूलाई समेत यसबारेमा सबै जानकारी भइसकेको जनाएको छ।

यस्तै, आजदेखि स्वास्थ्य बिमा मार्फतको सेवा दिन सूचीकृत भएका अस्पतालहरुले  ‘रियल टाइम क्लेम’ गर्नुपर्ने व्यवस्थासमेत बोर्डले गरेको छ। त्यसो त बोर्डले रियल टाइम क्लेम लागू भइसकेपछि हरेक दुई-दुई महिनामा सेवाप्रदायक अस्पतालहरुलाई दुई दुई महिनामा सोधभर्ना गर्ने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.