|

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले तय गरेको लगानी सम्मेलनसम्बन्धी अवधारणामा नै असन्तुष्टि व्यक्त गर्दै वैदेशिक लगानी किन भित्रिएन भनेर कारण खोज्नुपर्ने बताएका छन्।

नेपालमा २ वटा लगानी सम्मेलन भएर पनि वैदेशिक लगानी सहज ढंगले आउन नसक्नुमा पुरानै ढाँचाको विकास नीति जिम्मेवार रहेको उनको भनाई थियो। 

सरकारले यही वैशाख १६ र १७ गते काठमाडौँमा तेस्रो लगानी सम्मेलनको आयोजना गर्दै छ। आइतवार काठमाडौँमा आयोजित नेपालको आर्थिक–सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव विषयक अन्तरक्रियामा भट्टराईले मन्त्रीहरुले राजदूतलाई बोलाएर हारगुहार गर्दैमा नेपालमा वैदेशिक लगानी भित्रिने सम्भावना नरहेको जिकिर गरे। 

उनले आधुनिक विकास नीति बनाएर मात्रै नेपालमा वैदेशिक लगानी भित्र्याउन सकिने तर्क गरे। स्वदेशी श्रमको परिचालन गरेर अघि बढ्नसके वैदेशिक लगानी भित्र्याउन सहज हुने पूर्वप्रधानमन्त्री भट्टराईले बताए।

उनले भारत र चीनजस्ता ठूला मुलुकलाई साथमा लिएर पनि नेपालले आवश्यक लगानी भित्र्याउन सक्ने दोहोर्‍याए।

​पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘हामी वर्षौंदेखि वैदेशिक लगानीको कुरा गरिराखेका छौँ तर प्रगति भइराखेको छैन। दुई दुई पटक लगानी सम्मेलनहरु भए र अहिले पनि भईराखेको छ तर उही ढाँचामा भईराखेको छ‚’ उनले भने‚ ‘राजदूतहरुलाई बोलाएर हाम्रा मन्त्रीहरुले तपाईंका देशका लगानीकर्ता, व्यवसायी, पुँजीपतिहरुलाई पठाईदिनुपर्‍यो भनेर हारगुहार गर्नुभएको छ। नेपालमा लगानी किन आएन भन्ने विषयलाई समग्रतामा नै हेर्नुपर्ने हो कि। कहाँ चुकेका छौँ हामी? यसको अन्तर्यतिर बहस गर्नुपर्ने हो कि भन्ने मलाई लागेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.