|

काठमाडौं : पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले एकल जातीय चिन्तन सोचबाट नेपालको शासन सत्ता चलिरहेको आरोप लगाएका छन्।

बुधवार काठमाडौंमा आयोजित आफ्नै राजनीतिक जीवनी ‘अधुरा क्रान्ति’ नामक पुस्क विमोचन समारोहमा बोल्दै उनले अधिकार र पहिचान मेटाइदिने काम राम्रो नभएको बताएका हुन्।

उनले पृथ्वीनारायण शाहपछिका अहिलेसम्मका शासकहरूले साझा नेपाल बनाउन नसकेको बताए। उनले १०४ वर्षे जहानियाँ शासन, त्यसपछि वंशीय शासन र ०४६ सालको लोकतन्त्रपछि अहिलेसम्म गणतन्त्रसम्म नश्लीय शासन सत्ता मात्रै सञ्चालन भइरहेको बताए।

 ‘यो देश कानून बन्दाखेरी नै वान नेशन, वान स्टेटेड थेउरीमा नेपाल बनेकै थिएन। यहाँ जबरजस्ती नेपाल चलाउन खोज्यो। अप्राकृतिक ढंगले नेपालको शासन र संविधान बनाउन र चलाउने काम भयो। यो देश बन्दाखेरी नै विभिन्न पहिचानहरू मिलाएर बनेको नेपाल हो नि। बाइसे, चौबिसे भनेको होइन। नेपाल बन्नु भन्दा पहिला त छुट्टै राज्य र पहिचान थिए नि', उनले भने।

​सबै पहिचान एक ठाउँ बनाएपछि नेपाल बनेको उनको तर्क थियो।

'नेपाल बन्यो राम्रो हो, हामी स्वाभिमानी भयौँ, पहिचान भयौँ, राम्रो हो। तर अधिकार र पहिचान मेटाइदिने त्यो त राम्रो भएन। पृथ्वीनारायण शाहपछिका अहिलेसम्मका शासकहरूले साझा नेपाल त खै बनाएको? साझा फूलबारी खै ? १०४ वर्षे जहानियाँ एकल फूलबारी भयो। एकल फूलबारी बन्यो। त्यसपछि वंशीय शासन। ०४६ सालको लोकतन्त्रपछि अहिलेसम्म गणतन्त्रसम्म नश्लीय फूलबारी। एकल जातीय चिन्तन सोचबाट नेपालको शासन र संविधान बनाएर चलाइएको छ, यो त ठिक भएन नि’, उनले भने। 

‍नेता महतोले सबैको भाषा, संस्कृति र भेषभुषाको मान्यता हुनुपर्ने बताए। उनले देश एकल चिन्तन सोचबाट चल्न नसक्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.