नेमार ठूला अवसरमा चल्ने खेलाडी हुन्

|

एजेन्सी : अमेरिकाको न्यु जर्सीस्थित बार्सिलोनाका खेलाडीहरु बसेको होटलमा  लियोनल मेसी, लुइस सुआरेज, जेरार्ड पिके र  नेमारबीच शनिबार साँझ ठूलो छलफल भयो। छलफलको विषयवस्तु थियो, नेमारप्रतिको  फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइनको चासो। तीनै खेलाडीले नेमारलाई क्लबमै बस्नका लागि मनाउन हरसंभव प्रयास गरे। 

पेरिस सेन्ट जर्माइनले नेमारलाई रातो कार्पेट ओछ्याएर स्वागत गरिरहेको छ। नेमारले अहिले बार्सिलोनामा कमाइरहेको रकमभन्दा तीन गुणा बढी रकम पारिश्रमिक दिने पिएसजीको योजना छ। 

नेमार पेरिस आउने तयार भए उनको स्थानान्तरणका लागि बार्सिलोना क्लबलाई २ सय २२ मिलियन युरो तिर्नेछ। खेलाडी स्थानान्तरणको बजारमा यो रकमले नयाँ विश्व किर्तिमान बन्ने त भइ नै हाल्यो। त्योभन्दा ठूलो विगतको किर्तिमानी रकमको दाँजोमा यो २ गुणाभन्दा पनि बढी हुनेछ। 

पाउल पोग्बालाई युभेन्टसबाट ल्याउने क्रममा म्यानचेस्टर युनाइटेडले तिरेको १ सय ५ मिलियन युरो खेलाडी स्थानान्तरणको बजारमा अहिलेसम्मको सबैभन्दा मोटो रकम हो। 

नेमार ४ वर्षअघि ५७ मिलियन युरोमा ब्राजिली क्लब सान्तोषबाट बार्सिलोना आएका थिए। अहिले उनलाई पिएसजीमा बेच्दा बार्सिलोनालाई १ सय ६५ मिलियन युरो प्रत्यक्ष फाइदा हुनेछ। तर अझै पनि बार्सिलोना नेमारलाई बेच्न तयार भने छैन किनकी धेरै क्याटलानबासीहरु नेमारलाई मेसीका उत्तराधिकारीका रुपमा हेर्छन्। लामो समयसम्म उनीहरु नेमार, मेसी र सुआरेजले एकसाथ खेलेको हेर्न चाहन्छन्।

यस्तो अवस्थामा नेमारलाई क्लबमै राख्न नसकेको बार्सिलोनाको वर्तमान कार्यसमितिले समर्थकहरुको ठूलो आलोचना खेप्नुपर्नेछ। स्वयंम् नेमारले पनि। 
४ वर्षअघि सन्तोषबाट आउँदा पनि उनको स्थानान्तरणको विषयले लामै समय चर्चा पाएको थियो। अन्त्यमा उनी आफैंले बार्सिलोना आउने इच्छा देखाए। जसका कारण उनलाई बेच्न सान्तोष बाध्य भयो। 

तर अब नेमारके गर्लान् ? यो प्रश्न विश्व फुटबलका लागि अहिलेको सबैभन्दा ठूलो प्रश्न हो। ब्राजिलका कप्तान तथा विश्वकै सबैभन्दा धेरै मार्केटेबल खेलाडीमध्ये एक नेमारले बार्सिलोनामा ४ सिजन बिताउने क्रममा आफुलाई परिपक्व खेलाडीका रुपमा स्थापित गरेका छन्।  

उनले अहिलेसम्म बार्सिलोनाबाट २ पटक ला–लिगा, ३ पटक कोपा डेल रे, १ पटक च्याम्पियन्स लिग फुटबल र १ पटक क्लब विश्वकपको उपाधि जितिसकेका छन्। सन् २०१४–१५ को सिजन बार्सिलोनाले एकै सिजन च्याम्पियन्स लिग, ला–लिगा र कोपा डेल रे जित्दा नेमारटोलीका भरपर्दा खेलाडी थिए। 

प्रदर्शनसँगै स्टारडमको पनि मुल्य

नेमारको फुटबल कला जति लोभलाग्दा छ। उनको ख्याति त्योभन्दा कम छैन्। मैदानभित्र गर्ने प्रदर्शन मात्रै नभएर विश्व बजारमा देखिएको नेमारको बढ्दो लोकप्रियतालाई समेत मध्यनजर गरेर पिएसजी उनका लागि मोटो रकम खर्चन तयार भएको हो। 

फुटबलका लागि मरिहत्ते गर्ने जनताको देश ब्राजिलका कप्तान भएका कारण पनि नेमारको शान अन्य खेलाडीभन्दा ठूलो छ। नाइक, रेडबुल, पानासोनिक, जिलेट लगायतका विश्वका ठूला ब्रान्डले त्यसै नेमारलाई पत्याएका होइनन्। उनीहरुले आफ्नो ब्रान्डको प्रवर्द्धन गरेबापत नेमारलाई मोटो रकम दिन्छन्। पिएसजी नेमारलाई क्लबमा भित्र्याएपछि उनको स्टारडमलाई सदुपयोग गर्ने र जर्सी बिक्री तथा अन्य प्रायोजन सम्झौताबाट राम्रो रकम आम्दानी गर्न सक्नेमा ढुक्क छ। 

सन् २०१५–१६ को सिजन अधिकांश समय मेसी घाइते हुँदा उनले बार्सिलोनालाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। गत सिजन च्याम्पियन्स लिगको पहिलो लेगमा बार्सिलोना ४–० ले पछि परेको स्थिती उल्ट्याउँदै प्रतियोगिताको क्वाटरफाइनलमा पुग्यो।

नेमारले त्यतिबेला अन्त्यतिर २ गोल गर्दै थप एक गोलका लागि पास मिलाइदिएका थिए। जसका कारण असंभवप्राय मानिएको नतिजा संभव भयो। यसबाट के प्रमाणित भएको छ भने नेमार ठूला अवसरमा चल्ने खेलाडी हुन्। 

पिएसजी मात्रै नभएर चेल्सी, म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी पनि उनलाई भित्र्याउन लागेका थिए। तर पिएसजीले २२२ मिलियन युरो तिर्ने भएपछि यी क्लब पछि हटे। 

नेमारले अब के गर्छन् भन्नेमा अहिले बार्सिलोना शहरवासीलाई सबैभन्दा धेरै चासो छ। बार्सिलोना क्लबका उपाध्यक्ष जोर्डी मेस्ट्रेले केही समयअघि मात्रै नेमारक्लबमै बस्ने बताएका थिए। तर नेमारले यस विषयमा कुनै प्रतिक्रिया दिन आवश्यक ठानेनन्। उनी अहिले मौन छन्। 

उनको मौनताले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खतराको घण्टी निरन्तर बजाइरहेको छ। आफ्ना स्टार गुम्नसक्ने भय समर्थकहरुलाई छ। मोटो रकमसहितको प्रस्तावपछि नेमारले एकपटक मात्रै मुख खोलेका छन्।

बार्सिलोनाले युभेन्टसलाई मैत्रीपूर्ण खेलमा २–१ ले पराजित गर्दा नेमारले निर्णायक २ गोल गरे। यस खेल लगत्तै उनले क्लबमा खुसी भएको प्रतिक्रिया दिएका छन्। तर स्थानान्तरणको हल्लाले सल्किएको समर्थकहरुको मनभित्रको आगो निभाउनमात्रै उनले यस्तो प्रतिक्रिया दिएका हुन् कि ? धेरैलाई अझै शंका छ। 

नेमारको मौनताले सबैभन्दा दुखी बार्सिलोनाको बोर्डलाई बनाएको छ। पेरिस सेन्ट जर्माइनले नेमारलाई भित्र्याउन सम्पूर्ण तयारी पुगेका गरिसकेको छ। आवश्यक कागपत्रमा  नेमार र बार्सिलोनाको सही मात्रै कुरेर बसेको छ, फ्रेन्च क्लब।

बार्सिलोनाको अहिलेको बोर्ड र खेलाडीहरुबीच राम्रो सम्बन्ध छैन। त्यसैले क्लका सिनियर खेलाडीहरु नेमारको स्थानान्तरका विषयमा आफैं चिन्ता गर्न थालेका छन्। मानौं नेमारलाई क्लबमा राख्ने जिम्मेवारी बोर्डको नभएर उनीहरुको हो। मेसी, सुआरेज र पिकेले युभेन्टस विरुद्धको खेलपछि अमेरिकाको न्युजर्सीस्थित होटलमा नेमारसँग छलफल गर्नुको कारण यही हो। 

टोलीका ३ वटै स्टार खेलाडीले नेमारलाई क्लब छाडेर जाने निर्णय उनको करियरका लागि राम्रो नहुने सुझाव दिएका छन्। मेसी अर्जेन्टिनी र सुआरेज उरुग्वेली अर्थात दुबै खेलाडी दक्षिण अमेरिकी भएका कारण नेमारसँग उनीहरुको व्यक्तिगत सम्बन्ध निकै घनिष्ट छ।

स्पेनिस टोलीका पिके नेमारका अर्का मिल्ने साथी हुन्। त्यसैले यी खेलाडीहरुबीच क्लब र आफ्नो व्यक्तिगत करियरका सम्बन्धमा पनि ठूलै छलफल चलेको अनुमान लगाइएको छ। 

यस छलफलपछि बार्सिलोनाका समर्थकहरुले जेरार्ड पिकेको प्रशंशा गरेका छन्। उनीहरुले पिकेले क्लबका अध्यक्षले जस्तै जिम्मेवारी निभाएको भन्दै प्रशंशा गरेका छन्। तर अझै नेमार मौन नै छन् ।

उनले अमेरिकी टुरका दौरान क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमुसँग भेट गर्न नचाहेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्रकाशित गरेका छन् । अमेरिकामा तीन खेलाडीसँग भएको छलफलपछि नेमार क्याम्प नोउमै बस्छन् भन्ने विषयमा एक हिसाबले क्लबका समर्थकहरु विश्वस्त देखिएका छन्।

तर पिएसजी सजिलै आफ्ना योजनालाई तिलाञ्जली दिन तयार छैन। नेमारका बाबु (जो उनका एजेन्ट समेत हुन् ) शनिबार साँझ अमेरिकाको मिटलाइफ रंगशालामा बार्सिलोनाका निर्देशकहरुसँगै बसेको फोटो सार्वजनिक भएको छ। यस भेटमा क्लबका अध्यक्ष जोसेफ भने उपस्थित थिएनन्।

नेमारका बाबु आफैं भने अझै आफ्ना छोराका लागि बार्सिलोना राम्रो ठाउँ हुनसक्छ भन्नेमा विश्वस्त छैनन्। यद्यपी उनले यसको निर्णय नेमारले नै गर्ने बताएका छन्। नजिकका थुप्रै साथीहरुले विभिन्न सुझाव दिइरहेका बेला नेमारले आफ्नो दिमाग परिवर्तन गर्लान् कि भन्ने विषयमा बार्सिलोनाको ध्यान आकृष्ट छ। यस विषयमा क्लबले चाडैं आधिकारिक धारणा सार्वजनिक गर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.