|

काठमाडौं: प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय व्यहोरेको कांग्रेसका युवा नेताहरूबाट पार्टीमा नीति र नेतृत्व परिवर्तनको आवाज उठ्न थालेको छ।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी नलिएको भन्दै असन्तुष्ट युवाहरूले पार्टीका सबै तह भंग गरी नयाँ सिराबाट पार्टी संगठनको संरचना निर्माण गर्नुपर्ने निष्कर्ष निकालेका छन्।

केन्द्रीय सदस्य चन्द्र भण्डारीको पहलमा एक दर्जन युवा नेताहरूले यस अभियानलाई अघि बढाएका हुन्। केन्द्रीय सदस्य धनराज गुरुङले निर्वाचनमा पार्टीले पराजय भोग्नुका एक दर्जन बढी कारण भएको भन्दै त्यसको जिम्मेवारी नेतृत्वले नै लिनुपर्ने बताए। 

‘स्थानीय तह र संघीय संरचनाअनुसार संगठन निर्माण नगर्नु र उम्मेदवारी चयन गुटका आधारमा गर्नु नेतृत्वकै कमजोरी हो’, गुरुङले भने। उनले पार्टीलाई समय सापेक्ष परिवर्तन गर्न र चलायमान बनाउन पार्टीका सबै तह भंग गरी संगठन निर्माण गर्नुपर्नेमा जोड दिए। गुरुङले पार्टीका भ्रातृ संस्थाका अध्यक्षहरूले पार्टी पराजयको कारण खोज्न बहस चलाउनुलाई ‘कर्तव्यविमुख वाहियात काम’को संज्ञा पनि दिए। 

‘हवल्दारले गोली चलाउँदा मान्छे मर्छ तर आईजीले जिम्मा लिन्छ। यस्तो कुरा पनि साथीहरूले बिर्सनुहुँदैन’, गुरुङले भने, ‘निर्वाचनमा पार्टी पराजित हुनुको एउटा मुख्य कारण भनेको भ्रातृ संस्था परिचालन शून्य हुनु पनि हो।’ राजधानीमा चार दिनयता लगातार भएका अनौपचारिक बैठकमा वर्तमान नेतृत्व परिवर्तन गर्नुपर्‍यो भन्दै असन्तुष्ट युवा नेताहरूले भेला गरिरहेका छन्।

आफूविरुद्ध युवा नेताहरू क्रियाशील भएपछि पार्टी सभापति देउवाको बचाउ गर्दै बुधबार भ्रातृ संस्थाका प्रमुखहरूले पार्टी पराजयको जिम्मेवारी र दोष पार्टी सभापतिलाई मात्र थोपर्न नमिल्ने निष्कर्ष निकालेका थिए। भ्रातृ संस्थाका अध्यक्षहरूले निर्वाचनमा संगठन परिचालन नगरेको तर पार्टीले लज्जास्पद हार व्यहोर्दासमेत नेतृत्वको बचाउ गरेको युवा नेताहरूको आरोप छ।

पार्टीको महाधिवेशन वा महासमिति बैठक तत्काल बोलाउनुपर्ने भन्दै दबाबमूलक कार्यक्रम चलाइरहँदासमेत पार्टी नेतृत्वले केन्द्रीय कार्यसमिति बैठकसमेत नबोलाएको उनीहरूले गुनासो गरे।

‘पार्टीको यो अवस्था भइसक्दा पनि नेतृत्वले केन्द्रीय समिति बैठक छिटो बोलाउनुपर्ने हो तर बोलाएको छैन। यो दुखद विषय हो', नेता गुरुङ भन्छन्, 'उहाँहरू केमा अलमलिइरहनुभएको छ? सरकारको बोझ बढी भएर यता ध्यान नगएको हो कि! दुईवटा जिम्मेवारी (पार्टी सभापति र प्रधानमन्त्री) चाखिसकेपछि दुवैतिर ध्यान दिनै पर्छ।’

भ्रातृ संस्थाले आफ्नो संगठन निर्वाचनको समयमा पटक्कै परिचालन नगरेको तर अहिले कर्तव्य र दायित्व बिर्सिएर बहस चलाउछु भन्नु जिम्मेवारीबाट पन्छिन खोजेको केन्द्रीय सदस्य प्रदीप पौडेल बताउँछन्। उनी भन्छन्, ‘पराजयको दोष हामी सबैले लिनुपर्छ। त्यसैले त हामीले माथिदेखि तलसम्म (केन्द्रीय समितिदेखि वडा तहसम्म) भंग गर्नुपर्छ भनेका हौँ।’ सरकारको भारीले थिचेको भरमा पार्टी संगठनतिर ध्यान नदिनु नेतृत्वको कमजोरी भएको नेता पौडेल बताउँछन्।

केन्द्रीय सदस्यहरू भण्डारी, गुरुङ, गगनकुमार थापा, प्रदीप पौडेल, बद्री पाण्डे, गुरुराज घिमिरे, विश्वप्रकाश शर्मा, युवा नेता रामहरि खतिवडालगायतका नेताहरूले पार्टी नेतृत्व र संरचना परिवर्तन गर्नुपर्‍यो भन्दै अभियान चलाइरहेका छन्। त्यो अभियानकै एउटा महत्त्वपूर्ण माग केन्द्रीय कार्यसमिति बैठक तत्काल बोलाउनु पनि रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • जब सम्म शिर्षनेताका भुजा खाने,भजनगाऊने, सिताखाने गिता गाऊने र चाकरीगरी चम्चा चलाऊने प्रब्रितिबाट युवालगायतका विशुध्द र प्रतिबध्द नेपाली कॉग्रेस केवल नेपाली कॉग्रेसका हिंमायतीहरू एकजुट भएर मौलिक नेपाली प्रजातांत्रिक समाजवादकोबाटो मा लाग्दैनन् तब सम्म कॉग्रेसले आफ्नो ऐतिहासिक पहिचान जोगाएर वर्तमानको चुनौती सामना गर्न सक्दैन तसर्थ सफेद युवाहरूले यति ख्याल राखीदिनु पर्छ।