|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको सबै मत परिणाम आएपछि मात्र पदबाट राजीनामा दिने भएका छन्।

राष्ट्रियसभा निर्वाचन बुधबार सम्पन्न भए पनि प्रतिनिधिसभामा समानुपातिक सांसदहरूको चयन प्रक्रिया बाँकी रहेकाले प्रधानमन्त्री देउवा तत्काल राजीनामा दिने पक्षमा नरहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। ‘यो सरकार प्रदेशसभा र संघीय संसदको निर्वाचन गर्नका लागि गठन भएकाले संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सम्पन्न नगरी पद छाड्ने कुरा आउँदैन’, प्रवक्ता शर्माले थाहाखबरसँग भने, ‘तर पद छाड्न प्रधानमन्त्री आतुर नै हुनुहुन्छ।’

संघीय संसदको उपल्लो सदन राष्ट्रियसभा निर्वाचनको मत परिणाम बिहीबारसम्म आए पनि त्यसलाई पूर्णता दिन सरकारले ३ जना नियुक्त गर्न बाँकी छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले १ महिलासहित ३ जनालाई नियुक्त गर्नुपर्नेछ। बालुवाटार स्रोतका अनुसार निर्वाचनको सबै मत परिणाम प्राप्त भएपछि प्रधानमन्त्री देउवा पदबाट राजीनामा दिने सोचमा छन्।

कांग्रेस प्रतिपक्षमा बस्न तयार भएको जनाउँदै प्रवक्ता शर्माले सरकारको नेतृत्व गर्न तयार हुने दलले आवश्यक तयारी गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.