|

च्याम्पियन्स लिगअन्तर्गत बुधबार घरेलु मैदानमा भएको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई ३-१ ले हराउँदै रियल म्याड्रिडले क्वाटरफाइनल यात्रा बलियो बनाएको छ।

रियल विरुद्ध एड्रिड राविओट्सले ३३ औं मिनेटमा गोल गर्दे पाहुना टोली पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर रोनाल्डोले पेनाल्टीमार्फत रियल म्याड्रिडलाई ४५ औं मिनेटमा बराबरीमा ल्याए। रियल र पीएसजीले त्यसपछि पनि गोलका अधिकांश मौका खेर फाले। तर मार्को एसेन्सीओले गरेको प्रहारलाई वानटच समाउन नसक्दा पाएको रिबाउन्डलाई रोनाल्डोले ८३ औं मिनेटमा सदुपयोग गरेपछि रियल म्याड्रिडले अग्रता कायम गर्‍यो।

पहिलो लेगमा नै फराकिलो अग्रता बनाउने क्रममा मार्सेलोले ८६ औं मिनेटमा तेस्रो गोल सम्भव बनाएपछि रियल म्याड्रिडको क्वाटरफाइनल सम्भावना बलियो बन्यो। प्रतियोगिताको दोस्रो लेगमा रियल पीएसजीको मैदानमा प्रतिस्पर्धा गर्नेछ।

लिभरपुलको पोर्टोमाथी रवाफ

च्याम्पियन्स लिग अन्तर्गत नै बुधबार राति भएको अर्को खेलमा लिभरपुलले पोर्टोमाथि ५-० को एकपक्षीय जित निकाल्यो। लिभरपुलका सेनगल स्टार साडियो मानेले ह्याट्रिक गरेको खेलमा मोहमद सालेह र फिरमानोले थप गोल गरेका थिए। मानले २५ औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। लगतै २९ औं मिनेट सालेहले आकर्षक गोल गरेपछि पहिलो हाफमा लिभरपुल २-० को अग्रता कायम गर्न सफल भयो।

दोस्रो हाफमा थप आक्रमक बनेको लिभरपुलले मानेकै गोलमार्फत ५३औं मिनेटमा तेस्रो गोल सम्भव बनायो। खेलमा पोर्टोमाथि निरन्तर आक्रामण गर्ने क्रममा ६९ औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गर्दा ८६ औं मिनेटमा मानेले ह्याट्रिक पूरा गरे।

पहिलो लेगको प्रभावशाली जितसँगै लिभरपुलको क्वाटरफाइनल यात्रा लगभग निश्चित भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.