|

काठमाडौैं : महानताको कसीमा राख्ने हो भने हरेक आधारमा पेले झैं फुटबलर विरलै जन्मन्छन्। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रदान गरेको २० औं शताब्दीको फुटबलरमा डियगो म्याराडोनासँग संयुक्तरुपमा सम्मानित भए, उनी। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले समेत उनलाई शताब्दीको खेलाडीका रुपमा सम्मानित गरेको छ।

१५ वर्ष कै उमेरमा ब्राजिलको सान्तोस क्लबबाट खेलाडी जीवन सुरु गरेका उनले १६ वर्ष पुग्दा नपुग्दै राष्ट्रिय टोलीमा समेत स्थान बनाए। उनले खेलेका खेलमा ब्राजिलले ३ पटक विश्व कप जित्यो। सन् १९५८, १९६२ र १९७० मा। पेले महान खेलाडी मात्र होइनन्, महान व्यक्तित्व समेत हुन्। खेलाडीले आफ्नो सम्पूर्ण जीवनलाई कसरी सम्हाल्नसक्छ भन्ने राम्रो उदाहरण हुन्, उनी। उनीसँगै शताब्दीको महान फुटबलर बनेका म्याराडोनाले जसरी आफ्नो जीवनलाई बर्बाद गरे त्यसको विपरित पेलेले आफूलाई हरेक दृष्टिकोणबाट संयमित बनाए।

खेलाडी खेल्नकै लागि जन्मिएको हुन्छ भन्ने राम्रो उदाहरण समेत बने, उनी। हुनत ब्राजिलको खेलकुद मन्त्रिसमेत बनेका उनले आपूmलाई राजनीतिमा भने प्रमाणित गर्न सकेनन्। पेले जहाँ पुगे वा जहाँ उनको नाम मात्र पुग्यो। त्यहाँ उनी प्रसिद्ध नै बने। संसारमा हरेक मानव उनी नजिक पुग्न आतुर छन् तर, सफलता केहीलाई मात्र हात लाग्छ।

पेले जन्मिएको ३ वर्षपछि नेपालमा पनि त्यस्तै बनोटका व्यक्ति जन्मिए, जो कालान्तरमा फुटबलर कोमल पाण्डेका नामले चिनिए। नेपालका अघिल्ला पुस्ताका ती खेलाडी अहिले पनि पेलेका ‘फ्यान’ हुन्। उनले युवावस्थामा नै पेलेलाई भेट्ने अनेकौं प्रयास गरे तर, कहिल्यै सफल भएनन्। त्यो गुनासो उनीसँग अझै छ।

सन् १९६१ मा इजरायलमा अध्ययनको सिलसिलामा जाँदा पेलेको टोली निर्धारित समयभन्दा २ महिना अगावै त्यहाँ पुगेर फर्कियो। उनको अध्ययनमा पेलेसँग भेट्ने कार्यक्रममा पनि समावेस रहेछ। तर, उनले पेलेका बारेमा पढ्नु मात्र पर्‍यो, उनको मुखबाट उनको सफलताको कथा सुन्न पाएनन्। त्यही अध्ययनका क्रममा उनले विश्व कपका बारेपनि पढ्नु पर्‍यो। अनि प्राविधिक रुपमा त्यति सहज नभएपनि उनी जसरी भएपनि विश्व कपलाई पछ्याउन थाले। ब्राजिलले विश्व कप जितोस् भन्ने कामना गर्न थाले। अहिलेसम्म त्यो क्रम रोकिएको छैन।

‘कुनै चलचित्र, धेरै पटक हेरेको छुँ भने त्यो फुटबल सम्बन्धि नै हो,’ सन् १९६६ मा विश्व कप जितेपछि इंग्लान्डले तयार पारेको ‘गोल’ चलचित्र उनले सयौ पटक हेरे रे। ‘तरपनि, त्यो चलचित्रले मलाई कहिल्यै वाक्क पारेन।’ इंग्ल्यान्डको फुटबल बारे बनेको चलचित्र सयौं पटक हेरेका पाण्डे समर्थक भने ब्राजिलका नै हुन्। ‘मलाई पेलेले मुग्ध बनाए,’ उमेर र कदकाँठीमा केहीहदसम्म अनुहारले समेत पेलेसम्म मेल खाने पाण्डे आफ्नो खेलाडी जीवन नै पेलेबाट प्रभावित थियो भन्न हच्किदैनन्। ‘त्यसबेला कतिपय साथीभाइले समेत मलाई पेले भनेरै बोलाउँथ्ये,’ पाण्डे भन्छन्।

पेलेले अमेरिकाको कसमस क्लबलाई कोलकातामा खेल्न ल्याउँदा तत्कालिन नेपाल फुटबल संघका अध्यक्ष कयुरशमशेर राणाले उनलाई पनि कोलकाता जान निम्तो दिएका थिए। फेरी उनको दुर्भाग्य अवस्थ्यताका कारण उनी कोलकाता पनि जान पाएनन्। नेपालको पुरानो मध्ये एक क्लब महावीर र तत्कालिन नेपाली टोलीका समेत ससक्त खेलाडीमा दरिने पाण्डेलाई अहिले पनि ति दिन सम्झिंदा चुकचुकी नै लाग्छ। 

‘पेलेका बारे धेरै पढें, त्यसले मलाई उनीतिर आकर्षित गरायो। उनी विश्व कपमा ध्यान दिन थालेँ,’ उनी भन्छन्, ‘हुनत सन् १९८६ पछि नै विश्व कपलाई टेलिभिजनको माध्यमबाट नजिकबाट हेर्ने अवसर मिल्यो। तर, विश्व कपले मेरो ध्यान भने धेरै पहिले नै तानेको थियो।’ हुनत पाण्डे र पेलेको जीवनमा धेरै समानता पनि छ। ति दुवैले पुरा अनुशासितरुपमा आफ्नो जीवन अघि बढाइरहेका छन्। फुटबल खेल्दा होस् वा नखेल्दा। पेले अहिले पनि शारीरिकरुपमा जति तन्दुरुस्त छन्, सम्भवत पाण्डे त्योभन्दा बढी तन्दुरुस्त छन्। जुनसुकै खेल होस्, त्यसले उनलाई आकर्षित नै गर्छ। त्यसैले उनी आफूलाई कुनै नौजवानभन्दा कम फुर्तिलो आँक्दैनन्।
पेलेले जीवनमा पाएको सम्मानबाट समेत उनी आनन्दित बन्छन्। लाग्छ, त्यो सम्मान आफैले पाएको हो। उनलाई त्योपनि लाग्छ, एउटा फुटबलरले पाएको सम्मान विश्वका हरेक फुटबलरका लागि हो। 

एक पटक बेलायती राजकुमार चाल्र्स पेलेलाई भेट्नकै खातिर ब्राजिलसम्म पुगेका थिए। त्योपनि ब्राजिलको लिग हेर्न। अद्धितीय मार्काना रंगशालामा सान्तोस क्लका पेलेको खेल हेरेपछि उनीहरुबीच भेट्ने कार्यक्रम तय थियो। राजकुमार चाल्र्सले पेलेलाई आफू भएको स्थानमा बोलाउन चाहेनन् बरु आफैं सयौं खुड्किलो तल ओर्लदैं मैदानसम्म पुगेर पेलेलाई भेटें। त्यसबेला चाल्र्सले भनेको शब्दबाट पाण्डे सधैं प्रभावित बने। त्यसबेला चाल्र्सले भनेका थिए, ‘म त एउटा मुलुकको राजकुमार मात्र हुँ, उनी (पेले) त यो खेलकै राजा हुन्। शाही मर्यादामा राजकुमार राजालाई भेट्न जानु पर्छ।’

चाल्र्सको त्यो भनाइले सारा फुटबलरको इज्जत बढाएको पाण्डेको धारणा छ। त्यसैले उनले आफूलाई कहिल्यै ब्राजिभन्दा अर्को टोलीको समर्थक बनाउन सकेनन्। एकमात्र कारण, उनी पेले र उनले कमाएको इज्जत। सायद, धेरै नेपालीले विश्व कपमा ब्राजिलको समर्थन गर्ने कारणमा कहिँ न कतै पेले कारक बनेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.