चीन भ्रमणको जानकारी, बखान भारत र मोदीको!

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान उत्तरी छिमेकी चीनको भ्रमणमा जाने कार्यक्रम रहेको छ। असार ५ देखि १० गतेसम्म हुने भ्रमणका बारेमा प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभालाई औपचारिक जानकारी गराएका छन्।

प्रतिनिधिसभालाई औपचारिक जानकारी दिने क्रममा प्रधानमन्त्री ओलीले चीन भ्रमण दुई देशबीच विगतमा भएका सम्झौता कार्यान्वयनमा केन्द्रित हुने जानकारी गराए। उनले आफूले विगतमा कागजमा भएका सम्झौतालाई वास्तविकतामा उतार्न आफ्नो जोड रहने साथै नयाँ एवं महत्वपूर्ण सम्झौता गरिने पनि उनले जानकारी गराए।

प्रधानमन्त्री ओलीले सभामुखमार्फत संसदलाई चीन भ्रमण पारदर्शी हुने र जेजस्ता सहमति तथा छलफल हुन्छन् ती सबै नेपाली जनताले थाहा पाउनेगरी हुने बताए।

प्रतिनिधिसभामा झन्डै आधाघण्टा सम्बोधन गरेका ओलीले सम्बोधनको सुरुवात नेपालको समसामयिक राजनीतिक र आर्थिक अवस्थाबारे धारणा राखे। राजनीतिक अवस्थाले स्थायित्वतर्फ अगाडि बढेपनि आर्थिक अवस्था भने प्रतिकूल रहेको उनले बताए। नेपाली जनताले अधिकार र राजनीतिक स्थायित्वका निम्ति लडेर संविधानसभाबाट संविधान निर्माण भएको र त्यसको कार्यान्वयनका क्रममा तीन चरणका निर्वाचन समेत सम्पन्न भएर राजनीतिक स्थायित्व आएको उनको भनाइ थियो।

संघीयतातर्फ इंगित गर्दै नेपालले नयाँ प्रणाली अपनाएको त्यसमा नेपाल अनुभव भन्दा पनि अभ्यासबाट सिक्दै जाने बताए। उनले तीन तहका सरकारले काम, क्षेत्र, प्रशासकीय तत्वहरू मोटामोटी तय भएको र समन्वयात्मक रुपमा अगाडि बढ्ने बताए।

उनले भने, 'अब सरकारले सुशासन र विकासको बाटोमा अगाडि बढ्न चाहेको छ', त्यसका लागि 'समृद्ध नेपाल सुखी नेपाली' नारा अगाडि बढाएको ओलीको भनाइ थियो। उनले संघीयता कार्यान्वयन गर्ने क्रममा कमीकमजोरी देखिए त्यसमा सच्याएर अघि बढ्ने बताए। 'नयाँ अभ्यासमा कमिकमजोरी रहेका छन्, तीनमा देखिएका र रहेका कमिकमजोरी देश र जनताका हितमा बिना हिचकिचाहट आगामी दिनमा सच्याउँदै अगाडी बढ्ने छौँ।'

यसका लागि उनले अब नेपालसँग विकासको तीव्र गतिमा जानुको विकल्प नभएको बताए। उनले त्यसका लागि छिमेकी राष्ट्रहरू र अन्य देशहरूसँग सहकार्य गर्नुपर्ने अवस्था आएको बताए।

चीनका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणा स्वीकारेर उत्तरी छिमेक जान लागेका प्रधानमन्त्रीले  चीनसँगको सम्बन्धलाई अझै सुदृढ बनाउन चिनियाँ नेतृत्वसँग स्पष्ट दृष्टिकोण राख्ने बताए। उनले चीन भ्रमण नेपालको बृहत्तर हितमा केन्द्रीत हुने बताएका थिए।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा दुईपक्षीय छलफल हुने र त्यस क्रममा पारवहन, रेल सेवा संचालन, ऊर्जा क्षेत्रको विकास गर्ने विगतको सहमति कार्यान्वयनमा नेपालले कुरा राख्ने बताए। उनले भ्रमणका क्रममा चीनको ‘वान बेल्ट वान रोड’ अवधारणालाई अघि बढाउने विषयमा पनि छलफल हुने बताएका थिए।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जीनपीङ र समकक्षी लि खछयाङसँगको भेटमा दुई मुलुकबीचको सम्बन्धलाई अझै उचाईमा पुर्‍याउने गरी स्पष्ट दृष्टिकोण राख्ने पनि बताए।

प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा तातोपानी नाका खुलाउने विषयमा पनि कुरा गर्ने जानकारी दिए। उनले नेपालको विकासमा चिनियाँ लगानी बढाउन पनि आफ्नो भ्रमण सफल हुने विश्वास व्यक्त गरेका थिए।

ओलीले चीनले नेपालबाट सुरक्षा चासो राख्ने गरेको र त्यसका लागि नेपालले कुनै पनि सम्झौता नगर्ने बताए। उनले नेपाली भूमिमा चीन विरोधि गतिविधि हुन नदिने दृढता व्यक्त गरेका थिए। उनले चीन र नेपालबीच कुनैपनि खालका समस्या नरहेको बताए। उनले चीनलाई समस्यारहित मित्र भएको उल्लेख गर्दै चीनले नेपालको विकासका लागि विगतदेखि नै सहयोग गर्दै आएको बताए। उनले अहिले चीन विश्व अर्थतन्त्रमा शक्तिराष्ट्र भएकाले अब झन् सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए।

प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउन आन्तरिक स्रोत, साधन पर्याप्त नभएपछि छिमेकी मुलुकहरूसँगको सम्बन्ध विस्तारमा सरकारले जोड दिएको बताए।

चीन भ्रमणबारे जानकारी, स्मरण भारतको

चीन जानेबारे जानकारी दिन प्रतिनिधिसभाको रोष्ट्रममा पुगेका प्रधानमन्त्रीले सुरुमा नेपालको अवस्था र त्यसपछि भारत र नेपालको सम्बन्धबारे व्याख्या गरे। उनले नेपाल र भारतबीच पछिल्लो समय सम्बन्धमा न्यानोपन आएको दाबी गरे। उनले भारतले नेपालमा रेल बनाउन लगानी गर्ने स्मरण गरे त्यस्तै मोदीको भ्रमणले नेपालमा पर्यटकको वृद्धि भएको पनि संकेत गरे।

मोदी मुक्तिनाथ गएपछि पोखरा र त्यसभन्दा माथिका सहरका होटहरूमा अफसिजनमा पनि पर्यटकहरूको भीड लागेको बताए। उनले भारतले नेपाललाई थप चार ठाउँबाट हवाइ परमिट दिने, तराईमा वर्षेनी देखिने डुबान समस्या समाधानमा छलफल भइरहेको लगायतका कुरा पनि बताए। उनले यी सबै कुरा सरासर भइरहेकाले अचम्म नमान्न पनि सांसदहरूलाई ठट्यौली पारामा आग्रह गरेका थिए।

प्रधानमन्त्री ओलीले भारतले विराटनगरमा भारतले स्थापना गरेको अस्थायी क्याम्प हटाएर देशको हितमा काम गरेको पनि स्मरण गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा उनका साथमा आएका सुरक्षाकर्मीलाई लिएर भएको आलोचनाप्रति ओलीले असन्तुष्टी जनाए। उनले कुनै विषय नपाएपछि सुरक्षालाई लिएर आलोचना भएको भन्दै आलोचना गरेका थिए।

त्यस्तै उनले आफू भारत भ्रमणमा जाँदा नेपाली सुरक्षाकर्मी लिएर गएको र गच्छेअनुसार र सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर सुरक्षाकर्मीको साथ चाहिने र लिने परम्परा रहेको बताए। प्रधानमन्त्री ओलीले सरकारले छिमेकसँगको सम्बन्ध विस्तार गर्नुको मुख्य उद्देश्य मुलुकलाई समृद्ध बनाउनु रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.