|

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहले निषेधको राजनीतिले देशमा असन्तुलनको स्थिति पैदा भएको बताएका छन्। बिहीबार तेस्रो अन्तर्राष्ट्रिय विराट हिन्दु महासम्मेलन २०७३ को उद्घाटन कार्यक्रममा पूर्व राजा शाहले असन्तुलनले उपेक्षा जन्माउने र उपेक्षाले विद्रोह जन्माउने भएकोले निषेधको राजनीति नगर्न आग्रह गरे।

‘निषेधको राजनीति गरिन्छ भने त्यसले राष्ट्रमा असन्तुलन जन्माउछ’, उनले भने– ‘असन्तुलनले उपेक्षा जन्माउँछ र उपेक्षाले विद्रोह जन्माउँछ।’

उनले पछिल्लो राजनीतिक अवस्थाले जनतामा निराशा छाएकोले सोच्नै पर्ने बेला आएको पनि बताए। उनले भने– ‘जनतामा के कारणले निराशा छाएको हो, त्यसको कारकतत्व के हो अब जनताले प्रश्न गर्ने बेला आएको छ।’

पूर्वराजा शाहले नेपालमा अब नयाँ शक्तिको आवश्यकता रहेको औल्याउदै नयाँ बाटो दिन सक्ने शक्तिको आवश्यक परेको पनि बताए। ‘कहिल्यै कसैसँग पराजित नभएको, सहिष्णुताको उपमाको रुपमा रहेको नेपाल अहिले कुन अवस्थामा पुगेको छ, त्यसबारे पनि एकपटक सोचौं’,उनले भने।

तपोभूमि र योगभूमिको नाम पाएको हाम्रो जस्तो मुलुकमा धर्म संस्कृतिमाथि कालो बादल मडारिरहेकोले त्यसलाई सुसंस्कृत गराउनुपर्ने खाँचो रहेको पनि उनले बताए। उनले दुबै छिमेकी राष्ट्रको धर्म र संस्कृतिसँग नेपालको पनि सम्बन्ध भएकोले त्यसको महत्व जोगाउन सहकार्यको लागि आग्रह पनि गरे।

भारतबाट प्रतिनिधित्व गरेर आएका रघुनन्दन शर्माले जनसंख्या र विकासका दृष्टिकोणले भारत अघि भएपनि धर्म संस्कृतिको लागि भारतको ठूलो दाजु नेपालको रहेको बताए। उनले भारतबाट सांस्कृतिक क्रान्तिको अपेक्षा नगर्न आग्रह गर्दै भने– ‘अब नेपालबाटै हिन्दुराष्ट्र जोगाउन लागौं।’

कार्यक्रममा जगदगुरु शंकराचार्य, महाराजा सिन्ध्ये, श्रीनिवास गुरु, नेपाली बाबा र आदित्यनाथ श्री महाराजले हिन्दु धर्मको बारेमा बोलेका थिए। उनीहरुले नेपाल सनातन संस्कृति अनुसार नेपाल हिन्दु राष्ट्र हुनुपर्नेमा जोड दिएका थिए। 

महासम्मेलन तीन दिनसम्म चल्नेछ। बिहीबार पशुपति बनकालीमा उद्घाटन भएको महासम्मेलनको बन्द सत्र प्रज्ञा भवनमा दुई दिनसम्म चल्ने आयोजकले जनाएको छ।

हेर्नुस् यो पनि 

१‍. विराट महासम्मेलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको १० पोज

२. फोटोमा हेर्नुस्, पशुपति परिसरमा सुरु भएको विराट महासम्मेलन

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.